सङ्खुवासभा- राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट यहाँका गर्भवती र सुत्केरीको उद्धारमा सहज भएको छ। गम्भीर समस्यामा परेका गर्भवती र सुत्केरीको समयमै हेलिकोप्टरमार्फत हुने उद्धारले धेरैको ज्यान जोगिएको छ।
भौगोलिक विकटताका कारण बर्थिङ सेन्टर र स्वास्थ्य चौकीमा शल्यक्रियासहितको प्रसूति सेवा पर्याप्त छैन। विशेषज्ञ चिकित्सक र पर्याप्त पूर्वाधार अभावमा दुर्गममा भरपर्दो प्रसूति सेवा पनि छैन। यही कारण जिल्लामा गम्भीर अवस्थाका गर्भवती तथा सुत्केरीको उपचार सहज हुँदैन।
जिल्लाका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम प्रभावकारी देखिएको पब्लिक हेल्थ नर्स अधिकृत भवानी तिम्सिनाको भनाइ छ। गर्भवती तथा सुत्केरी जटिलताका लागि हवाई उद्धार कार्यक्रम अन्तर्गत २०७७ सालदेखि हालसम्म १६ जना सुत्केरी तथा गर्भवतीको हवाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको पब्लिक हेल्थ नर्स अधिकृत तिम्सिनाले बताए। समयमै हवाई उद्धार भएकाले सुत्केरी, गर्भवती र नवजात शिशु अकालमै मृत्यु हुनबाट जोगिएको उनको भनाइ छ।
साउनयता मात्र छ गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको छ हवाई उद्धार कार्यक्रम अन्तर्गत भोटखोलाबाट चार जना, सिलिचोङबाट तीन जना, मकालुबाट दुईजना, सभापखेरी गाउँपालिकाबाट एक जना र खाँदबारी नगरपालिकाका पाँचजना र पाँचखपनबाट एकको उद्दार गरिएको छ। उद्धार गरिएका महिला तथा सुत्केरी १७ वर्षदेखि ३६ वर्ष उमेर समूहका छन्।