काठमाडौं- काठमाडौं मेडिकल कलेजले पाठ्यक्रममा नै नरहेको हेल्थ क्याम्पमा गुण्डागर्दीशैलीमा आवासीय चिकित्सकहरुलाई खटाउँदै आएको विरोधमा कलेजमा अध्ययनरत विद्यार्थीहरुले आवाज उठाउँदै आइरहेका थिए। विद्यार्थीहरुले लिखित रुपमा सामुहिक हस्ताक्षर गर्दै कलेज प्रशासनमा पत्र समेत बुझाएका थिए।
काठमाडौं मेडिकल कलेजमा नेपाली कांग्रेसका सांसद तथा विवादित मेडिकल कलेज सञ्चालक सुनिल शर्माको लगानी छ। उक्त कलेजले बिहीबार अन्याय विरुद्ध आवाज उठाएका आवासीय चिकित्सक विशद दाहाललाई एक महिनाका लागि निलम्बन गरेको छ। डा दाहालले आफ्नो क्षमता र बुताले भ्याएसम्म अन्याय विरुद्ध लडिरहने बताएका छन्।
कलेज प्रशासनले निलम्बन गरेपछि सामाजिक सञ्जाल मार्फत उनले आफ्न भनाई सार्वजनिक गरेका छन्।
यस्तो छ डा दाहालले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको धारणा
दुई वर्ष अघि यस्तै शक्तीहरुसँग भिँड्न तयार छु भनेर नै देश बस्ने कठिन निर्णय गरेको थिएँ। तसर्थ मेरो क्षमता र बुताले भ्याएसम्म लडिरहन्छु। निलम्बन होइन निष्कासन नै गर्ने धम्की दिएपनि हुन्छ माननीय ज्यु।
भएको के थियो : विगत दुई वर्षदेखी हेल्थ क्याम्पको नाउँमा केएमसी र नोबेल मेडिकल कलेजले अत्यन्त अमानवीय ढङ्गले रेजिडेन्ट चिकित्सकलाई गुन्डागर्दी शैलिमा खटाउँदै आइरहेको छ।
बाहिर देखाउँदा जनसेवा भनेतापनी क्याम्पको भित्री मनशाय राजनैतिक प्रचारप्रसार र ? कर छली सम्म रहेको अधिकाँशको बुझाइ
यसरी क्याम्पको नाममा कहिले कहिले त महिनाको १८/२० दिन सम्म अस्पताल बाहिर राखी हाम्रो शिक्षण शिकाइमा गम्भीर असर पर्ने गरि खटाइन्थ्यो । पाठ्यक्रममै समावेश नभएको यस्तो क्याम्पमा जबरजस्ती रुपमा खटाउने काम विगत दुई वर्ष देखि जारी थियो। पछिल्लो चोटी क्याम्पमा लगि सामान्य खान बस्न समेत असहज हुने गरि जबरजस्ती दैनिक १५००/२००० बिरामी जाँच्न लगाइन्थ्यो। यस्तो चिसोमा राती २/३ बजेसम्म कच्ची बाटोको यात्रा गराउने र बिहानै ८ बजे उठाएर फेरि अर्को क्याम्पमा खटाउने परिपाटी हाम्रा लागि सामान्य जस्तै भइसकेको थियो ।
यो कुरा पटकपटक चिकित्सा शिक्षा आयोग , काउन्सिल र युनिभर्सिटीमा जानकारी गराउँदा समेत कहिल्यै सुनुवाइ भएन।
अन्तिमपटकको क्यामपमा त एकजना रेजिडेन्टलाई यात्रा कै दौरान गम्भीर रक्तस्राव तथा छारे आयो , तरपनी क्याम्प रोकिएन। यहि कुरा हामीले उठाएर क्याम्प जाँदैनौ भनी आन्दोलन गर्यौँ।
अन्त्यमा आन्दोलनको नाइके को हो त भनेर छानी छानी कार्वाही गरियो।
मेरो रेजिडेन्सी के हुन्छ त्यो त मलाइ थाह भएन , तर यो हदसम्मको अन्याय हुँदा पनि म बोलिन भने मेरो आत्माले सधैँ मलाइ सराप्थ्यो।
तसर्थ म बोलेँ र बोलिरहन्छु।
यो पनि :
हेल्थ क्याम्पका नाममा अमानवीय व्यवहार गरेको विषयमा विरोध गर्ने डाक्टर दाहालमाथि केएमसीको कारबाही