दीर्घ रोगबाट ग्रसित बिरामीहलाई जरुरी प्यालिएटिभ केयर (प्रशामक हेरचाह)को अभ्यास नेपालमा सुरु भएको लामो समय भएको छैन। सीमित अस्पतालबाट सुरु भएको यसको आवश्यकता बढ्दो छ। प्रशामक हेरचाह अपेक्षित फैलिन नसक्नुमा जनशक्तिको अभाव र सरकारको न्यून प्राथमिकता मुख्य कारण रहेको प्यालिएटिभ केयर विशेषज्ञ डा विकास आनन्द बताउँछन्। उनीसँग स्वास्थ्यखबरकी रोमिका न्यौपानेले गरेको कुराकानी:
के हो यो प्रशामक हेरचाह भनेको ? यसको अवधारणा कसरी आएको हो?
प्यालिएटिभ केयर (प्रशामक हेरचाह) एउटा वैज्ञानिक अवधारणा हो। निको हुन नसक्ने दीर्घ रोग लागेका बिरामीका लागि प्रयोग हुने उपचार पद्धति हो। जस्तैः निको नहुने क्यान्सर, कृत्रिम अक्सिजनको भरमा रहेका दमका बिरामीहरु, मुटुको गम्भीर समस्या भएका (जसको मेडिकल माइजेक्सन फ्र्याक्सन कम अर्थात् ५–१० प्रतिशत हुन्छ। सामान्यतया ६० प्रतिशत हुन्छ), दुवै मिर्गौला फेल भएर गम्भीर अवस्थामा पुगेका बिरामी, डायलाइसिसमा रहेका बिरामी, डायलाइसिस गरेर पनि नहुने अवस्थामा पुगेर मिर्गौलाका बिरामी, मोटरन्युरन डिजिज अर्थात् स्नायु प्रणालीको पक्षघात भएका बिरामी, ब्रेन हेमरेज स्ट्रोक अथवा इस्केमिक स्ट्रोक भएका बिरामीलाई प्यालिएटिभ केयर आवश्यक पर्छ।
यस्तै एचआईभी/एड्स भएका बिरामी तथा बालबालिकाहरुलाई पनि छुट्टै किसिमको प्यालिएटिभ केयरको आवश्यकता पर्छ।
सबै किसिमका जीर्ण रोगहरु वा निको नहुने दीर्घ रोग लागेका बिरामीको व्यवस्थापनमा सहजीकरण गर्न आवश्यक छ। किनकि, यस्ता बिरामीहरुको रोग निको नभए पनि उनीहरुको जीवन विशेष केयर र उपचार नभएमा दैनिकी कष्टकर बन्छ। यस्ता बिरामीहरु शारीरिक र मानसिक दुवै समस्याबाट ग्रसित पनि हुन सक्छन्। जस्तोः क्यान्सरका बिरामीमा दुखाइ हुन सक्छ, दमका बिरामीमा स्वाँस्वाँ बढ्न सक्छ। निको नहुने अवस्थामा पुगेका बिरामीमा मानसिक समस्या समेत देखिन सक्छ। परिवारमा कोही एक जना सदस्यलाई निको नहुने कुनै रोग लागेको छ भने परिवारका सबै सदस्यको जीवन प्रभावित हुन्छ।
दीर्घ रोगका बिरामीलाई चिकित्सकभन्दा पनि परिवारको केयर महत्वपूर्ण हुन्छ। रोगले अन्तिम अवस्थामा पुगेका बिरामीलाई उसको जीवनको अन्तिम समयसम्म सहज बनाउन बिरामी र उसको पूरै परिवारलाई त्यो समय अवधिभर सहजीकरण गर्न प्रशामक सेवा आवश्यक पर्छ।
नेपालमा प्यालिएटिभ केयर बिरामीको पहुँचमा पुगेको छ ?
नेपालमा क्यान्सर लागेर निको नहुने अवस्थामा पुगेका बिरामीका लागि ठूला अस्पतालहरुमा प्यालिएटिभ केयर युनिट वा वार्ड रहेको पाइन्छ। वीर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, निजामति कर्मचारी अस्पताल, त्रिवि शिक्षण अस्पताल र अन्य केही निजी अस्पतालहरुमा पनि प्रशामक हेरचाह भइरहेको छ।
उपत्यका बाहिर सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, भरतपुर क्यान्सर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि यो सेवा छ। तर समग्रमा भने प्यालिएटिभ केयर सबैको छैन। रोग लागेर निको नहुने अवस्थामा पुगेका बिरामीले प्यालिएटभ केयर नपाउँदा उनीहरुको दैनिकी दर्दनाक पीडाबाट गुज्रिएको अवस्था छ।
देशमै धेरै अभ्यासमा नरहेको यो प्रशामक हेरचाहमा विशेषज्ञता हासिल गर्न तपाईंलाई के कुराले उत्प्रेरित गर्यो ?
मेरो बुवालाई मेरुदण्डको ट्युमर भएको थियो। रोग निको नहुने भएपछि धेरै संर्घषमा जीवन बिताउनुभयो। १० वर्षसम्म दुखाइ सहनुभयो। हामीले पनि बुवाको दुखाइलाई सुरुमा त्यति ध्यान दिन सकेनौं। एकापट्टिको खुट्टा कम चल्न थालेपछि एमआरआई गर्दा बल्ल बुवाको रोग पत्ता लागेको थियो। दुई वर्षपछि दुखाइ बढेर हिँड्न गाह्रो हुन थाल्यो। सबै उपचारहरु गराइरहेका थियौं। अप्रेसन गरियो, किमोथेरापी गरियो। तर एक दिन विकल्प सकियो। उहाँको अवस्था गम्भीर भयो । उपचारले निको नहुने अवस्थामा पुग्नुभयो।
त्यतिबेला मेरी आमा उहाँको लागि २४ घण्टा नै नर्सकै रुपमा हुनुहुन्थ्यो। पिसाब फेर्न पाइप लगाइएको हुन्थ्यो। बुवालाई दिसा–पिसाब गर्न नसक्ने, एकदमै पीडा हुन्थ्यो। रोगले गाल्दै गएपछि बढ्दै हात पनि चल्न छोड्यो र अन्तिम चरण भयो।
त्यतिबेला बुवालाई मेरो यस्तो अवस्थामा हेर्ने डाक्टर भइदिएको भए भन्ने लाग्थ्यो। बुवाको त्यही अवस्थाले मलाई प्रशामक हेरचाह सम्बन्धी अध्ययन गर्न प्ररित गर्यो।
तपाईंले लिएको निर्णयमा खुसी हुनुहुन्छ ?
म प्रशामक हेरचाह विशेषज्ञ बन्न पाउँदा खुसी छु। नेपालमा अहिले पनि ६० हजार बिरामीलाई प्यालिएटिभ केयरको आवश्यकता छ। तर उहाँहरु जहाँ हुनुहुन्छ, त्यहाँ प्यालिएटिभ केयर दिन सजिलो छैन। प्यालिएटिभ केयरमा आवश्यक पर्ने औषधिहरु छैनन्। नेपालमा प्यालिएटिभ केयरको अभाव छ।
एक त यसको विषयमा विज्ञ नै कम छन् अर्को कुरा प्यालिएटिभ केयरको आवश्यक पर्ने जनसंख्या नै बढी छ।
नेपालीहरुमा प्रशामक सेवाबारे बुझाइ पनि कम छ। क्यान्सर लाग्ने बित्तिकै अथवा अघि भने जस्तै जीर्ण रोगहरु लाग्यो भने जिन्दगी त सकियो भनेर सोच्छन्। तर बिरामीको जीवन रहँदासम्म दुखाइ बिना वा खुसीसाथ बाँच्न मिल्छ भन्ने सोच्दैनन्।
सामान्यतयाः हाम्रो चिकित्सा क्षेत्रमा खोज र अनुसन्धानले प्रमाणित गरेका कुराहरुलाई मात्र अभ्यासमा ल्याउने गरिन्छ तर यो हेरचाहमा सांस्कृतिक, धार्मिक र अध्यात्मिक कुराहरु समेत समेटिएको छ। यसको कारण के हो ?
हामी मानव जाति हौँ। हामीसँग सोच्ने शक्ति छ। रोग लाग्नु ठूलो कुरा हैन तर रोग लागिसकेपछि बाँकीको जिन्दगी राम्ररी बिताउने इच्छा सबैको हुन्छ। त्यसैले त मान्छेहरु कुनै गम्भीर रोग देखियो भने सुरुमै पत्याउँदैनन्, फेरि जँचाउन जान्छन्। देशकै उत्कृष्ट भनिएका अस्पताल जान्छन्। नेपालमा पनि नभए विदेश पुग्छन्। त्यहाँ रोग पत्ता लागिसके पछि उहाँहरुको उपचार सुरु हुन्छ र एउटा कुनै समय पछि त्यो उपचार सकिन्छ। तर शारीरिक पीडा अर्थात् दुखाइ बढ्न सक्छ।
प्रशामक हेरचाहमा सम्पूर्ण दुखाइको अवधारणा छ। त्यो भनेको सबै किसिमको दुखाइ, कसैको क्यान्सरले गरेर खुट्टा काट्नु परेको हुन्छ। कोहीलाई प्यारालाइसिस भएको होला। नाक, कान, घाँटीको क्यान्सरले अनुहार नै बदलिन्छ। नाकमा पाइप लिएर हिँड्नु परेको होला। घाँटीमा प्वाल परेको हुन सक्छ। पेटमा खुवाउने पाइप लगाउनुपर्ने हुन सक्छ। क्याथेटर लाउनु पर्न सक्छ। बेडबाट उठ्न नसकेर डाइपरमा हुनुहुन्छ होला। दिसा–पिसाब परिवारको मद्दतले मात्र गर्ने सक्ने, खाना अरुले खुवाउनपर्ने अवस्थामा पुगेका बिरामीले सोच्न थाल्छन्।
आफ्नो जिन्दगी यस्तो परिवर्तन भयो, जीवनभर राम्ररी कमाएको कुरा अब अर्कै कुराको लागि प्रयोग गर्नुपर्ने भयो। मान्छेले धेरै सोच्न थाल्नु पनि राम्रो होइन।
उनीहरुको मन नै दुखेको हुन्छ। यस्तो अवस्थामा औषधिले मात्र उनीहरुको दुखाइ कम गर्दैन। बिरामीलाई सबै शारीरिक, मानसिक, अध्यात्मिक लक्षणहरु कम गर्ने उपचार चाहिन्छ।
नेपालले प्रशामक हेरचाहका लागि नीति र रणनीति बनाएको छ। त्यही अनुसार कार्यान्वयनमा जोड दिएको पाउनुभएको छ त ?
नेपालमा सन् २०१६ मा नेसनल प्यालिएटिभ केयर रणनीति आयो। त्यसमा नीतिहरु छन्। कसरी हामीले प्यालिएटिभ केयर अगाडि बढाउन सकिन्छ ? कसरी प्रदेशसम्म लान सकिन्छ ? सबै लेखिएका थिए। तर रणनीति बनेको ८ वर्ष हुँदा पनि केही भएको छैन। यसको कार्यान्वयन भएको छैन। मैले विश्व स्वास्थ्य संगठनसँग मिलेर यो कुरालाई कसरी अगाडि बढाउने भनेर एउटा बैठकमा पनि कुरा राखेको थिएँ। तर हामीले अपेक्षा गरे जसरी कार्यान्वयन भइसकेको छैन।
सरकारी र गैरसरकारी संस्थाले अरु विषयमा जस्तो यस विषयमा चाहिने जति जोड दिएर काम गरेको देखिँदैन। यसको कारण के हो ?
ज्ञानकै कमी हो जस्तो लाग्छ। प्रशामक हेरचाह सबैले गरिरहनुभएको छ। तर सबैसँग समय छैन। किनभने, समग्रमा जति जना अभ्यास गर्नुहुन्छ उहाँहरु सबै जना सामान्य प्यालिएटिभ केयर चिकित्सक हुन्। नेपालमा स्नातकोत्तर तहमा प्यालिएटिभ केयर मेडिसिनको कोर्ष नै छैन। त्यो पढ्न बाहिर जानुपर्छ। त्यसमा पनि भारतमा पढाइ हुन्छ तर सिटहरु एकदमै कम हुन्छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फेलोसिप इन प्यालिएटिभ केयर सुरु भएको छ।
चिकित्सा क्षेत्रमा रहेकालाई थाहा भए पनि आमजनलाई जानकारी नभएका कारण यसको अभ्यासमा केही बाधा परेको हुन सक्छ । यसबारे चेतना कसरी फैलाउने?
बिरामी जहाँ हुनुहुन्छ, उहाँलाई उपचार गर्ने प्राथमिक चिकित्सक भन्छौँ। क्यान्सर लागेका बिरामीहरु छन् वा अन्य दीर्घ रोग लागेकाहरुका परिवारलाई प्यालिएटिभ केयर कति बेला सुरु गर्ने भन्नेबारे जानकारी हुनुपर्छ। थाहा नभएका कारण हामीसम्म बिरामीका आफन्तहरु आइपुग्नु हुन्न।
पहिला–पहिला प्यालिएटिभ केयर मृत्युको मुखमा पुगेका बिरामीहरुका लागि भन्ने बुझिन्थ्यो। अहिले बुझाइमा केही परिवर्तन छ तर क्यान्सर विशेषज्ञहरुबाट सुरुवातमै प्यालिएटिभ केयरलाई पनि समावेश गरियो भने उत्तम हुन्छ। प्यालिएटिभ केयर सुरुको उपचारदेखि नै सुरु गरेमा उहाँहरुको उपचारमा के भइरहेको छ र उहाँ कुन फेजमा हुनुहुन्छ, उहाँहरुको दुःखाइलाई कसरी स्थिर गर्ने, उहाँहरुसँग भएका लक्षणहरुबाट कसरी मुक्त गर्ने भन्ने विषयमा योजना बनाएर कार्यान्वयन गर्न सकिन्छ।
अहिले अभ्यासमा के छ भने, पहिले एउटा डाक्टरको टिमले हेर्छ, त्यसपछि अर्को, फेरि नयाँ टिम र अन्तिममा प्यालिएटिभ भनेपछि बिरामीको मनमा छुट्टै डर पलाउँछ। मेरो मर्ने दिन आएर पो प्यालिएटिभ केयरमा पठाइयो कि भन्ने कुराले मानसिक रुपमा कमजोर बनाउँछ।
प्रशामक हेरचाहलाई मानिसले मृत्युको मुखमा पुगेको अथवा मृत्यु कुरिरहेकाहरुलाई दिने हेरचाहको अर्थ लगाएको देखिन्छ। प्यालिएटिभ केयर त्यो भन्दा फरक कसरी हो ?
त्यो चाहिँ हसपिस केयरको अवधारणा हो। जुन पश्चिमा मुलुकबाट आएको हो। चार वटा मान्यता तय गरिएका हुन्छन्– बिरामीको स्वतन्त्रता, कल्याण, हानि नपुर्याउने र न्याय दिने। हस्पिटलमा गर्नुपर्ने उपचार हस्पिटलमै गरिन्छ। यदि कुनै अवस्थामा चिकित्सको सल्लाहमा बिरामी र उहाँको परिवारलाई लाग्छ– अब ६ महिना वा एक वर्ष बचाउन सकिन्छ कि भन्ने। त्यस्ता बिरामीहरुलाई हसपिसमा राखिन्छ। हसपिसमा निकै गाह्रो भयो भने अस्पताल लगिन्छ। त्यसैले हसपिसमा राख्ने भनेको अन्तिम अवस्थामा भएका बिरामीहरुलाई हो।
कतिपय देशमा बिरामी हसपिसमा राख्न पनि रुचाउँदैनन्। त्यहाँको सरकारले बिरामीको घरमै गएर उपचार गर्ने टोली तयार गर्ने नीति पनि छ। डाक्टर, नर्सहरु घरमै गएर उपचार गर्छन्। हाम्रो देशमा पनि यसको महत्व छ। किनकि, घर नै बिरामीहरुको लागि उत्तम हुन्छ। जन्मेदेखि हुर्केसम्मका आफ्ना सपनाहरु त्यो घरमा सजिएका हुन्छन्।
हाम्रो समाजमा एकता छ, सद्भाव हुन्छ, रीतिरिवाज हुन्छन्। त्यसैले घरमै राखेर झन् राम्रो हेरचाह गर्न सकिन्छ। जीवन जिउन्जेल बिरामीको चाहना बुझेर सहज मृत्यु दिन सकिन्छ।
प्रशामक हेरचाहलाई सबैको पहुँचमा पुर्याउन तत्काल र दीर्घकालमा के–कस्ता काम भइदिउन् भन्ने लाग्छ ?
क्यान्सर अस्पतालमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका बिरामीहरु दुखाइ कम गर्नका लागि आउने गर्छन्। दुखाइ कम गर्नका लागि चाहिने मर्रफिम नेपालमा नै उत्पादन हुने भए पनि त्यसका लागि आवश्यक पर्ने कच्चा पदार्थ स्वीट्जरल्यान्डबाट आउँछ।
नेपालमा नै उत्पादन हुने मर्रफिम सहज रुपमा पाइँदैन। दुखाइ नियन्त्रण गर्ने त्यो औषधिका लागि मात्रै काठमाडौं आउनुपर्ने बाध्यता छ। नेपाल बाहिरबाट काठमाडौं आउनका लागि त्यो धेरै नै खर्चिलो हुन्छ। त्यस कारण नेपालभरि नै मर्रफिम उपलब्ध गराउन सकेमा समय र खर्चको समेत बचत गर्न सकिन्छ।
त्यसका लागि प्रादेशिक अस्पतालमा उक्त औषधि उपलब्ध गराउने नीति सरकारी स्तरबाट ल्याउन अत्यावश्यक छ। त्यसका लागि जनशक्तिको व्यवस्थापन पनि हुनु आवश्यक छ। यसो गर्न सकेको अवस्थामा चिकित्सकमाथिको कार्य भार पनि कम हुन जान्छ।
क्यान्सरको उपचारमा रहेका बिरामीहरुका लागि मात्रै यस प्रकारको हेरचाह आवश्यक छ भन्ने अवधारणा अनुसार सरकारले काम गरिरहेको छ। सबै अस्पतालमा चाहिन्छ। एक अनुसन्धान अनुसार यस प्रकारको हेरचाहका हिसाबले बेलायत पहिलो स्थानमा परेको छ। प्रशामक हेरचाहको हिसाबले विश्वमा नेपाल ६७औं स्थानमा रहेको छ।