कुष्ठरोग, जसलाई ह्यान्सेन रोग पनि भनिन्छ। विश्व कुष्ठरोग दिवस प्रत्येक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्वभर मनाइन्छ। कुष्ठरोग एक प्रकारको सरुवा रोगमध्ये कम सर्ने रोग हो। कुष्ठरोग माइकोब्याक्टेरियम लेप्रे नामक शुष्म किटाणुको कारणले हुने दीर्घकालीन संक्रामक रोग हो। कुष्ठरोग देवी देवताको श्राप, नाग लागेर, पूर्वजन्मको परिणाम वा बंशाणुगतको कारणले लाग्ने रोग भने होइन। यो रोगले छाला र सतहको स्नायुलाई असर गर्छ। कुष्ठरोग बाल्यकालदेखि बुढ्यौलीसम्म सबै उमेरमा देखापर्दछ। तर ५ वर्ष भन्दा मुनि र ६० वर्ष भन्दा माथिका मानिसहरुमा यो रोग कम लागेको पाइएको छ।
कुष्ठ रोग मानव समाजमा प्राचिनकाल देखि नै परिचित भए पनि सन् १८७३ (वि.स. १९३०) मा नर्वेका डा गेरहार्ड हेनरिक आर्मर ह्यान्सनले यस रोगको किटाणु पत्ता लगाएका थिए त्यसैले यस रोगलाई ह्यान्सेन रोग भनिएको हो। विश्व कुष्ठरोग दिवस मनाउनुको उद्देश्य भनेको यो एक किसिमको ब्याक्टेरियाबाट सर्ने रोग हो र यसलाई सजिलै निको पार्न सकिन्छ भन्ने कुरामा आम समुदायलाई सचेत गराई रोग प्रतिको नकारात्मक र अनुचित विश्वासविरुद्ध जनचेतना जगाउनु रहेको छ। मानिसको शरीरमा यस रोगको किटाणुले प्रवेश गरेपछि यदि त्यस व्यक्तिमा कुष्ठरोगको किटाणुविरुद्द लड्ने प्रतिरोधात्मक शक्ति कमजोर भएमा २ देखि ५ वर्षभित्र यो रोगको प्रारम्भिक लक्षण / चिन्ह देखा पर्न सक्छ। उपचारको लागि कुष्ठरोगलाई प्युसीबेसिलरी (पीबी) कुष्ठरोग र मल्टिबेसिलरी (एमबी) कुष्ठरोग गरि दुई समूहमा बर्गिकरण गरियको छ।
यस रोगलाई प्राचिनकालमा कुष्ठ, कोढ, महारोग, सुन- बहिरी आदि नामले पनि चिनिन्थियो। समाजमा मानिसहरु देवीदेवताको श्रापको प्रतिफल स्वरुप यस रोग लाग्ने भनेर निकै भयवित हुने गर्दथे। जसले गर्दा समयमै उपचार नहुदा असमर्थता वा अंगभङ्ग समेत हुन सक्छ तर कुष्ठरोग निको हुन्छ र प्रारम्भिक चरणमा गरिने उपचारले अशक्ततालाई रोक्न सक्छ।
कसरी सर्छ कुष्ठरोग?
मानव शरिरमा हुने रोगविरुद्द लड्न सक्ने शक्तिले शरीरभित्र पस्ने रोगका किटाणुलाई नष्ट पारि रोग लाग्न बाट बचाउछ। कुष्ठरोगसँग लड्न सक्ने शक्ति भने धेरै मानिसहरुमा बलियो हुने अनुसन्धानबाट पाइएको छ। यो रोग लागेको र उपचार सुरु नगरेको बिरामीबाट मात्रै अन्य मानिसलाई सर्न सक्दछ त्यसैले कुष्ठरोग लागेका सबै व्यक्तिबाट अरुलाई यो रोग सर्दैन। उपचार नगरिएका बिरामीहरूसँग धेरै नजिक भएमा, भिडभाड वा धेरै मान्छे एकै ठाउमा बस्ने, सुत्ने गरेमा यो रोग सर्ने सम्भावना धेरै हुन्छ। यो रोग मुख्य गरि श्वासप्रश्वास को माध्यमद्वारा सर्छ। उपचार नगरेको र धेरै किटाणु भएको संक्रमित व्यक्तिले श्वास फेर्दा र हाछ्युँ गर्दा किटाणुहरु बिरामीको शरीरबाट बाहिर आइ निरोगी व्यक्तिले श्वास लिदा सोहि किटाणु उसको शरीर भित्र प्रवेश गर्दछ। गर्भवती आमालाई कुष्ठरोग लागेको खण्डमा पनि स्वास्थ बच्चा जन्मिन्छ त्यसैले पेटमा रहुन्जेल यो रोग संक्रमित आमाबाट बच्चामा सर्दैन। त्यसैगरी बिरामीको दिसापिसाब र बिरामीले प्रयोग गरेको भाँडा वा लत्ताकपडाको पु:न प्रयोग गर्दा साथै बिरामीलाई टोकेको लामखुट्टे र उडुसले निरोगी व्यक्तिलाई टोक्दा, यौन सम्पर्कबाट यो रोग सर्दैन।
कुष्ठरोगको हालको अवस्था
कुष्ठरोग एक उपेक्षित ट्रपिकल रोग हो जुन अझै पनि विश्वका १२० भन्दा धेरै देशहरूमा देखा परेको छ, विश्वमा प्रत्येक वर्ष दुइ लाख भन्दा बढी कुष्ठरोगका नयाँ बिरामी देखा पर्ने गरेका छन्। वि.सं. २०४८ (सन् १९९१) मा भएको विश्व स्वास्थ्य संगठनको साधारण सभाबाट सन् २००० सम्ममा सदस्य रास्ट्रहरुमा कुष्ठरोग निवारण गर्ने लक्ष्य निर्धारण गरिएको थियो। विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार निवारण भन्नाले प्रति १०,००० जनसंख्यामा १ भन्दा कम कुष्ठरोगको संख्या भएमा त्यसलाई निवारण भएको मानिन्छ साथै जनस्वास्थ्य समस्याको रुपमा पनि रहदैन। विश्वका केहि देशमा सन् २००० मा कुष्ठरोग निवारण हासिल गरियता पनि धेरैजसो देशहरूमा भने कुष्ठरोगको निवारण २०१० सम्ममा हासिल गरिएको थियो।
नेपालको सन्दर्भमा बहु-औषधि उपचार प्रणाली सुरु भएपछी बिरामीको चाप निरन्तर घट्दै गएको र वि.सं. २०६६ पौष (सन् २००९ डिसेम्बर) मा प्रकोप दर प्रति १०,००० हजार जनसंख्यामा ०.७७ मा आएको हुँदा सोहि अनुसार राष्ट्रिय स्तरमा प्रति १०,००० जनसंख्यामा १ जना भन्दा कम कुष्ठरोग प्रकोप दर हुन पुगेकोले नेपाल सरकारबाट वि.सं. २०६६ माघ ५ गते (सन् २०१० जनवरी १९) नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरियो। तर राष्ट्रिय स्तरमा कुष्ठरोग निवारण भएता पनि स्वास्थ्य सेवा विभागको आर्थिक वर्ष २०७८/७९ को तथ्यांक अनुसार मधेश र लुम्बिनी प्रदेशमा भने त्यो उपलब्धि हासिल गर्न सकियको छैन, जहाँ कुष्ठरोगको प्रकोप दर क्रमश १.४३ र १.१२ रहेको छ जुन विश्व स्वास्थ्य सङ्गठनले तोकेको प्रति १०,००० जनसङ्ख्यामा १ भन्दा कम बिरामी संख्या हुनुपर्ने भन्दा बढी हो। यसो भनी रहदाँ आ.ब. २०७६/७७ मा रहेको रास्ट्रीय प्रकोप दर २०७९ साल सम्म आइपुग्दा ०.७ बाट बढेर ०.८ पुगेको छ।
नेपालमा आर्थिक वर्ष २०७८/७९ मा कुल २२८५ नयाँ कुष्ठरोगी फेला परेका थिए जसमा मधेश प्रदेशमा सबैभन्दा धेरै ९१०(कुल बिरामीको ४० प्रतिशत) बिरामी फेला परेका थिए। यसैबीच कर्णाली प्रदेशमा सबैभन्दा कम ६८ (कुल बिरामीको ३ प्रतिशत) कुष्ठरोगका बिरामी पत्ता लागेका थिए। नयाँ संक्रमितमध्ये बालबालिकाको अनुपात ३.१९ प्रतिशत रहेको छ। ७.४४ प्रतिशतमा ग्रेड टु अपाङ्गता रहेको पाइएको थियो र नयाँ बिरामी हरुमा महिलाको अनुपात ४३.३ प्रतिशत रहेको छ।
कुष्ठरोगको लक्षण र चिन्हहरु
शरीरमा नचिलाउने रातो तथा फुस्रो दाग/ दागहरु देखापर्नु
हात खुट्टा झमझमाउनु वा स्पर्श शक्ति हराउनु
हात खुट्टा तथा आँखाको मांसपेशिहरु कमजोर हुदै जानु
स्न्यायुहरु सुन्निनु वा पिडा हुनु तथा जोर्नीहरू दुख्नु
कानको लोती बाक्लो हुदै जानु
अनुहारको छाला रातो, बाक्लो र चिल्लो/ चम्किलो हुनु वा आँखी भौंहरु झर्नु
शरीरमा दुख्ने/ नदुख्ने गिर्खाहरु देखा पर्नु
हात खुट्टामा नदुख्ने घाउहरु/पानी भरिएको फोकाहरु भएमा
यदि कुनै व्यक्तिमा माथि उल्लेखितमध्ये एक वा सो भन्दा बढी लक्षण तथा चिन्हहरु देखापरेमा प्ररम्भिक रुपमा नै कुष्ठरोग निदानको लागि नजिकैको स्वास्थ्य सस्थामा जानु पर्दछ।
उपचार
कुष्ठरोगको उपचार बहु – औषधि उपचार पद्धतिद्वारा गरिन्छ। बहु – औषधि उपचार पद्धति भन्नाले यस रोगको उपचारमा प्रयोग हुने दुई वा तीन किसिमको औषधिको समिश्रण हो। बहु – औषधिको एक मात्रा सेवन गर्दा पनि उपचार प्रभावकारी भइ रोगलाई तुरुन्तै अरुलाई नसर्ने गराउदछ। बहु- औषधि गर्भवति महिला, सुत्केरी, स्तनपान गराइरहेका महिला तथा बच्चाहरुले पनि सेवन गर्न मिल्छ। गम्भीर रक्तअल्पता, हेपाटाइटिस, मिर्गौला रोग, गम्भीर प्रकृतिका रोग भएका र औषधिको एलर्जी हुनेले बहु- औषधि सेवन गर्न मिल्दैन। औषधि सेवनपछि यो रोग निको हुन्छ। सरकारी अस्पताल, प्रेषण केन्द्र, प्रथामिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा कुष्ठरोगको औषधि निःशुल्क पाइन्छ।
कम किटाणु भएका (पिबि) बिरामीले ६ महिना र बढी किटाणु भएका (एमबि) बिरामीले १२ महिनासम्म नियमित औषधि खानुपर्छ तर बिरामीको रोगको अवस्था अनुसार विशेषज्ञ डाक्टरको सल्लाह अनुसार औषधि थप गरि २ वर्षसम्म पनि खानुपर्ने हुनसक्छ। कुष्ठरोगका बिरामीले जिवनभर भने औषधि खाइरहनु पर्दैन। कुष्ठरोगको बोझ कम गर्ने प्रमुख रणनीतिहरू प्रारम्भिक रोग निदान र बहु-औषधि उपचार पद्धति हुन्। भर्खरै स्वास्थ सेवामा प्रवेश भएका स्वास्थ्यकर्मीहरूको लागि अपर्याप्त तालिम र अभिमुखीकरण साथै कुष्ठरोग सम्पर्क व्यक्तिहरूको लागि पुन: ताजा तालिम र प्रबन्धहरू नहुनुको कारण कुष्ठरोगको समयमै निदान र उपचारमा समेत चुनौती थपिएको छ।