१. नि:सन्तान दम्पतीमा क्लिनिकल रुपमा कृत्रिम गर्भधारणका लागि इम्ब्रियोलोजिस्टको भूमिका के हुन्छ?
इनभीट्रो फर्टिलाइजेसन (आईभीएफ) गर्नका लागि महिलाको डिम्बासयलाई सक्रिय (स्टीमुलेट) गरिन्छ। कृतिम गर्भधारण गराउनका लागि सक्रिय बनाइने हो। जस्तो प्राकृतिक रुपमा महिनामा एउटा वा दुइटा अथवा तीनवटासम्म अण्डा निस्कन्छ। तर कृतिम गर्भाधारण गराउनका लागि त्यो संख्या अलि बढाइन्छ। किनभने राम्रो भ्रुण बनाउन सकियोस। महिलाको डिम्बलाई स्टीमुलेट गरेपछि अण्डा निकालिन्छ। त्यहाँबाट बल्ल इम्ब्रियोलोजिस्टको काम सुरु हुन्छ।
महिलाको अन्डालाई निकालेपछि त्यसलाई पुरुषको शुक्रकिटसँग मिसाएर भ्रुण बनाउने काम इम्ब्रियोलोजिस्टको हुन्छ। भ्रुणलाई ३ देखि ५ दिनसम्म कल्चर गरेर गुणस्तर हेरिन्छ। भ्रुणलाई आमाको डिम्बासयसम्म नराखेसम्म इम्ब्रियोलोजिस्टको काम हुन्छ। त्यो बाहेक सिमेन एनालाइसिस(बीर्य जाँच), शुक्रकिटको बारेमा अध्ययन र आईयूआईका लागि सिमेन प्रोसेसिङ, प्रिपेरेसन गर्ने काम पर्छ।
२. कृत्रिम गर्भाधान गराउने प्रक्रिया के–के हुन्छ? कृत्रिम गर्भाधानमा भ्रुण कसरी तयार हुन्छ?
अण्डा निकालिसकेपछि त्यसलाई फर्टिलाइज गरेर फेरि आमाको पाठेघरमा पुनःस्थापना गर्नका लागि समय हेरेर हुन्छ। प्राय ३ वा ५ दिनमा भ्रुणलाई आमाको गर्भमा सारिन्छ। यसको निर्धारण भ्रुणको गुणस्तर हेरेर गरिन्छ। भ्रुणलाई हामीले जति अगाडि सम्म लग्न सक्यो त्यति नै भ्रुणको क्वालिटी राम्रो हुन्छ। शुक्रकिट र अण्डाको मिलनबाट तयार भएको भ्रुण पहिलो वा दोस्रो दिनको भन्दा तेस्रो दिनको राम्रो मानिन्छ। तीन दिनबाट ४ दिनमा पुग्दा अझै राम्रो इम्ब्रीयो पुग्छ। जुन सर्भाइब गर्न सक्छ त्यो अगाडि बढ्दै जान्छ। त्यसैले इम्ब्रीयो प्रतिस्थापन गर्ने कुरा भ्रुणको गुणस्तर, आमाको पाठेघरको लाइनिङ हेरेर निर्धारण गरिन्छ।
यदी तीन दिनमा राम्रो क्वालिटीको बनेको छ भने तीन दिनमा पनि आमाको गर्भमा भ्रुण प्रतिस्थापन गर्छौं। वा ५ दिनसम्म पनि लाग्न सक्ने अवस्था छ भने ५ दिनमा पनि प्रतिस्थापन गर्छौं।
३. दम्पतीमा कस्तो अवस्थामा कृत्रिम गर्भाधान गराउनुपर्ने अवस्था हुन्छ? गर्भाधानका लागि पुरुषको शुक्रकिटको अवस्था कस्तो हुनुपर्छ? बीर्य जाँच (सिमेन एनालाइसिस) भनेको के हो?
विशेषगरी निसन्तानपनको कुरा आउँदा हाम्रो परिवेशमा श्रीमतीहरुको जाँच गर्ने कुरा बढी आउने गर्छ। हाम्रो परिवेशमा बीर्य वा शुक्रकिटिको कुरा कम नै हुन्छ । निसन्तानपनको समस्या देखिएमा जहिले पनि महिलाप्रति नै प्रश्न गरिन्छ। तर यसमा श्रीमान र श्रीमती दुवैको भूमिका बराबर हुन्छ । बीर्यको जाँच गर्दा ४-५ वटा कुरा importantly हेरिन्छ। पहिलो कुरा शुक्रकिटको मात्रा हेरिन्छ। पुरुषबाट निस्कने शुक्रकिट २ देखि ५ ml लाई सामान्य मानिन्छ। कहिलेकाँही ८ वा १० एमएल भएपनि त्यसको पारामिटर सामान्य छ भने त्यसलाई सामान्य नै मानिन्छ। तर मात्रा कम छ, घनत्व कम छ भने चाँही त्यस्तो अवस्थामा उपचार गर्ने कि अन्य के गर्ने हो भनेर विचार गर्छौं।
अर्को भनेको बीर्य पग्लिने समय हो। बीर्य सुरुमा ढिक्का जस्तो हुन्छ। ६० मिनेट भन्दा बढी छ भने त्यसलाई नर्मल मानिँदैन। यसको मुख्य कारण संक्रमण, डिहाइड्रेसन वा अन्य हुनसक्छ। त्यसको पनि कारण पत्ता लगाएर उपचार गरिन्छ।
तस्रो कुरा कन्सनट्रेसन (घनत्व) हेरिन्छ। महिलाको डिम्बलाई फर्टिलाइज गर्ने शुक्रकिटले हो। निर्देशिकाहरुका अनुसार १५ देखि २०० मिलिएन पर एमएललाई सामान्य भनिएको छ। त्यो कुरा पनि बीर्य जाँचका क्रममा हेरिन्छ।
अर्को भनेको शुक्रकिटको भाग्ने क्षमता हेरिन्छ। सामान्यतया महिला र पुरुष बीच शारीरिक सम्पर्क हुँदा महिलाको योनिबाट शुक्रटिक जम्मा हुन्छ । त्यसपछि बीर्य पग्लेर, शुक्रकिटहिँडेर वा कुदेर पाठेघरभित्र गएर डिम्बनलीमा डिम्ब फर्टिलाइज भएपछि बच्चा बन्छ। त्यसैले शुक्रटिकको भाग्ने क्षमता महत्वपूर्ण हुन्छ। सामान्यतया शुक्रटिकमा भाग्ने क्षमता ४२ प्रतिशत हुनुपर्छ। त्यसमा पनि क्रमशः अगाडि भाग्ने क्षमता ३० प्रतिशत हुनुपर्छ। यदी यो भाग्ने क्षमता कम छ भने यसको कारण खोज्नुपर्छ। नभाग्ने, नकुद्ने वा मरेको शुक्रटिकहरुले भाग्न सक्ने क्षमता भएका शुक्रटिकलाई पनि असर पर्छ।
पाँचौ महत्वपूर्ण कुरा मोर्फोलोजी (आकार) हो। शुक्रटिको टाउको, घाँटीको मोटाइ, पुच्छरको अकार नर्मल हुनुपर्छ। घाँटी र टाउको जोडिने ठाउँ केन्द्रमा हुनुपर्छ। टाउको धेरै ठूलो वा सानो हुनु हुँदैन। यो सबै छुट्याएर बाँकी रहेको शुक्रकिट ४ प्रतिशतभन्दा बढी आवश्यक पर्छ।
हामीले हेर्दा ४ प्रतिशत छ वा छैन हेर्छौं। ४ प्रतिशत पनि नभएको अवस्थामा प्राकृतिक रुपमा बच्चा उत्पादन गर्न नसक्ने भन्ने हुँदैन। ४ प्रतिशत नभएको अवस्थामा पनि प्राकृतिक रुपमा गर्भधारण भएको दम्पती हुनुहुन्छ। तर प्राकृतिक रुपमा गर्भधारण गर्न गाह्रो हुन्छ। यदी प्राकृतिक रुपमा गर्भधारण नभएको अवस्थामा यसको उपचार हुन्छ।
निर्देशिकाहरुले भने अनुसार पुरुषमा १५ देखि २०० मिलिएन शुक्रटिकलाई नर्मल काउन्ट भनिन्छ। तर इन्ट्रायुटेराइन इन्सिमिनेसन (आईयूआई) अर्थात पुरुषको शुक्रकिटलाई निकालेर राम्रो शुक्रकिटलाई मात्र छानेर पाठेघरभित्र राख्ने प्राविधि गर्नका लागि विभिन्न निर्देशिकाहरु छन्। न्यूनतम ५ मिलियन एमएल मा आईयूआई गर्नसकिन्छ। अर्को मोर्फेलोजी २ वा त्यो भन्दा कम भएको भएको अवस्थामा आईयूआईका लागि सिफारिस गर्दैनौं। त्यसमा क्लिनिकल प्रेग्नेस्सी रेट कम आउँछ भन्ने अनुमान गरिन्छ।
अर्को शुक्रकिटको भाग्ने क्षमता पनि हेरिन्छ। ४२ प्रतिशत भाग्ने क्षमतालाई हामी नर्मल भन्छौं। आईयुआई गर्न ३० प्रतिशत अन प्रोसेस स्याम्पलमा मोलाइस्ट स्पर्म चाहिन्छ। यदी ५ मिलिएन काउन्ट भएको छ भने गतिशिलता (मोटिलिटी) बढी र आकार (मोर्फोलोजी) राम्रो चाहिन्छ।
४. पुरुषमा नि:सन्तापनको समस्या के कारणले हुन्छ? कस्तो अवस्थामा आईयूआई गर्नुपर्छ?
पुरुषमा निसन्तानपनको समस्या हुने पहिलो कारण तापक्रम नै हो। पुरुषको अण्डकोस (स्क्रोटम)को तापक्रम शरीरको अन्य अंगको तापक्रमभन्दा दुई डिग्री कम हुन्छ। त्यसकारण यसको बनोट र स्थान पनि शरीरभन्दा बाहिर छ। लामो समयसम्म उच्च तापक्रममा काम गर्ने व्यक्ति, टाइट बक्सर लगाउने मान्छेहरुमा तापक्रमले गर्दा पनि बीर्य वा शुक्रटिकको गुणस्तर बिग्रन सक्छ। अर्को भनेको धूम्रपान पन िहो। धूम्रपानले बीर्यको गुणस्तरमा असर पुर्याइरहेको हुन्छ। मादकपदार्थ सेवनले पनि बीर्य तथा शुक्रटिकको गुणस्तर बिग्रन्छ। अर्को कारण भनेर अस्वस्थकर जीवनशैली र खानपान पनि हो। जसले स्वस्थकर जीवनशैली अपनाउँछन्, स्वस्थकर खाना खान्छन्, सक्रिय जीवन बिताउँछन् उनीहरुको बीर्यको गुणस्तर अन्यको तुलनामा राम्रो हुन्छ। यसैले स्वस्थकर जीवनशैली, स्वस्थकर खानपानसँगै तापक्रममा काम गर्दा विशेष ध्यान दिनुपर्छ।
५. वैदेशिक रोजगारीमा जानेहरुमा पछिल्लो समय नि:सन्तानपनको समस्या किन बढेको होला?
वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने भनेको तापक्रम अधिक भएको ठाउँमा जाने कामदार धेरै हुनुहुन्छ। उहाँहरुको जीवनशैली पनि त्यस्तै हुन्छ। लामो समयसम्म काम गर्ने, खानपान मिलिरहेको हुँदैन। उहाँहरुमा तनाव पनि बढी हुन्छ। जसले गर्दा बीर्यको गुणस्तरमा असर पुर्याइरहेको हुन्छ। हामीकहाँ आउने बिरामीमा बीर्यको गुणस्तर कम देखियो भने हामीले प्रश्न नै गर्छौं– तपाईहरु विदेश जानुभएको छ? कुन देशमा काम गर्नुहुन्छ? भन्दा ६० प्रतिशतको उत्तर खाडी मुलुक गएको भन्ने आउछ।
यसको विषयमा उचित अनुसन्धान र अध्ययन त भएको छैन। तर हामीकहाँ समस्या लिएर आउने धेरै बिरामी खाडी मुलुकबाट फर्किएकाहरु हुन्छन्। अर्को पुरुष विदेश जाने र घरमा रहेका महिलाहरुको उमेर बढ्दै जाँदा महिलामा पनि समस्या देखिन थाल्छ। महिलामा अण्डाको गुणस्तर र संख्या पनि घट्दै जान्छ। यो पनि निसन्तानपनको अर्को समस्या हो।
६. प्राकृतिक रुपमा सन्तान उत्पादनमा समस्या भएका दम्पतीको क्लिनिकल गर्भाधानका लागि उपचार प्रक्रिया किन महँगो छ? यसका लागि कस्तो प्रविधि प्रयोग गरिन्छ?
यसमा प्रयोग हुने उपकरण तथा मिडिया नै महंगो भएकाले पनि यो विधि महंगो भएको हो। आमाको डिम्बासयबाट डिम्बा निकालेर त्यसलाई शुक्रटिकसँग सम्पर्क गराएपछि कसरी फर्टिलाइज गरिन्छ। त्यसका लागि प्रविधियुक्त उपकरणहरु आवश्यक पर्छ। शुक्रटिक र डिम्बको मिलान पछि भ्रुण तयार गर्न ल्याब भित्रको इक्युभेटरमा आमाको गर्भमा जस्तै वातावरण तयार गर्छौ। त्यहाँ न्युट्रिसनका लागि मिडिया हुन्छ। त्यसले भरणपोषण गर्ने काम गरिरहेको हुन्छ। यसमा घरीघरी हेर्ने काम गरिँदैन। एकपटक फर्टिलाइज गरेपछि अति नै आवश्यक पर्यो भने मात्र हेर्छौं। ३ वा ५ दिनमा आमाको पाठेघरमा प्रतिस्थापन गर्छौं।
(डा विनिता थापा क्लिनिकल इम्ब्रियोलोजिस्ट हुन्।)