लुमिरा डिएक्स नामक युकेको कम्पनीले डाइग्नोभिजन इन्टरनेसनललाई बेस्ट विजनेस पार्टनर अवार्ड प्रदान गरेको छ। यही सेरोफेरोमा डाइग्नोभिजन इन्टरनेसनलका ग्रुप डाइरेक्टर विकेश श्रेष्ठसँग गरिएको कुराकानी:
डाइग्नोभिजन इन्टरनेसनल बेस्ट विजनेस पार्टनरका रुपमा अवार्डेड हुनुमा के कुराले भूमिका खेले जस्तो लाग्छ?
लुमिरा डिएक्स नामक युकेको कम्पनीले डाइग्नोभिजन इन्टरनेसनललाई बेस्ट विजनेस पार्टनर अवार्ड प्रदान गरेको हो। डाइग्नोभिजन इन्टरनेसनल लुमिरा डिएक्स युके कम्पनीको नेपालस्थित आधिकारिक बिक्रेता कम्पनी हो। दक्षिण–पूर्वी एसियाका मुलुकहरु श्रीलंका, बंगलादेश, पाकिस्तान, भारत, सिंगापुर, दुबई लगायतका देशहरुमा यसअघि उक्त कम्पनीले विभिन्न प्रकारका बैठकहरु गर्दै आइरहेको थियो। यस पटकको बैठक नेपालमा नै गर्नका लागि हामीले गरेको आग्रह अनुसार उक्त बैठक नेपालमा गरिएको थियो।
बैठकका लागि नेपाल नै रोज्नुको कारण के हो?
हामीले नै उक्त बैठक नेपालमै गर्नका लागि आग्रह गरेका थियौं। पछिल्लो दशकमा यस प्रकारका बैठकहरुमा सामेल हुनका लागि म विभिन्न मुलुक गइरहेको छु। यसअघि पनि नेपालमा नै यस प्रकारको बैठक गर्नका लागि मैले विभिन्न कम्पनीहरुलाई आग्रह गरेको थिएँ। यस कम्पनीको इन्टरनेसनल मार्केटिङ डाइरेक्टर पर्ल क्याम्पिएन सन् २०१६ मा हिमाल चढ्नका लागि नेपाल आइसक्नुभएको थियो। नेपालमा कार्यक्रम गर्न आग्रह गरेपश्चात् नेपालसँग भावनात्मक सम्बन्ध गाँसिसक्नुभएका उहाँ उत्साहित हुनुभएको कारण पनि नेपालमा कार्यक्रम गर्ने हाम्रो लक्ष्यले पूर्णता पायो। त्यस्तै यस कम्पनीमा कार्यरत भारतका सेल्स डाइरेक्टर पनि नेपालमा रहेका पर्यटकीय स्थलहरुको अवलोकनमा रुचि राख्छन्। त्यस कारण पनि कम्पनीको बैठकस्थलका रुपमा नेपाल छनोट हुन पुग्यो।
लुमिरा डिएक्स कम्पनीका लागि नेपाल कति ठूलो बजार हो?
लुमिरा डिएक्स कम्पनीको सबैभन्दा बृहत बजार भनेको भारत नै हो। यद्यपि, भारत लगायतका भारतसँग नजिकका सिमाना भएका मुलुकहरु पनि यस कम्पनीको बजार क्षेत्र हो। भारत नजिकका मुलुकहरु श्रीलंका, बंगलादेश, नेपाल र पाकिस्तानलाई आधार मान्दा नेपाल कार्यका हिसाबले सबैभन्दा राम्रो मुलुक भएकोले नेपाललाई उक्त मुलुकले अवार्ड दिएको हो। लुमिरा डिएक्स कम्पनीका पर्ल क्याम्पिएनले हाम्रो कम्पनीलाई सम्मानका रुपमा उक्त अवार्ड प्रदान गर्नुभएको हो।
कम्पनीले कस्ता उपकरण उत्पादन गर्छ र कहाँ–कहाँ प्रयोग हुन्छन्?
कम्पनीको मुख्य उत्पादनका रुपमा अहिले पीओसीटी हो। पीओसीटी भन्नाले प्वाइन्ट अफ केयर टेस्टिङ इन्स्टुमेन्ट हो। नेपालमा यस प्रकारका उपकरण भए पनि यस कम्पनीका उपकरण केही भिन्न प्रकृतिका छन्। यस उपकरणबाट गरिने ल्याब परीक्षण विश्वस्तरीय र विश्वसनीय हुन्छन्। यी उपकरण आईसीयू, शल्यक्रिया कक्ष, आकस्मिक कक्ष लगायतका स्थानहरुमा प्रयोग गरिन्छ। जुनसुकै क्षेत्रमा प्रयोग गरिए पनि यसबाट गुणस्तरीय ल्याब सेवा पाउन सकिन्छ। आगामी दिनमा क्षयरोगको मोलिक्युलरमा आधारित भएर स्क्रिनिङ गर्न सक्ने उपकरण उक्त कम्पनीले ल्याउने तयारी गरेको छ। जुन विश्व इतिहासमा नै पहिलो पटक हो। हामीले उत्पादित औजार तथा उपकरणमा गुणस्तर कायम गरेका कारण यस कम्पनीले उत्पादन गरेका औजार तथा उपकरणले अन्तर्राष्ट्रिय स्तरमा नै विश्वसनीयता कायम राखेको छ।
डाइग्नोभिजनले यी उपकरण नेपालमा फैलाउनका लागि कसरी काम गरिरहेको छ?
हामीले उत्पादन गरेका उपकरण तथा सामग्रीहरुका बारेमा जानकारी दिनका लागि ठूला अस्पतालमा उक्त उपकरणका बारेमा विभिन्न जानकारीमुलक कार्यक्रम गर्ने गरेका छौं। त्यसका लागि हामीले हाम्रा उत्पादनलाई अन्य कम्पनीका उत्पादनसँग तुलना गर्नका लागि समेत आग्रह गरेका छौं। हाम्रा उपकरणले करिब १५ मिनेट भित्र नै गुणस्तरीय ल्याब रिपोर्ट दिन्छन्। जुन एकदमै अत्याधुनिक प्रविधि पनि हो।
१५ मिनेटमा नै ल्याब रिपोर्ट दिन सक्ने भनिएको लुमिरा डिएक्स मेसिन नेपालमा कत्तिको प्रयोगमा आउन थाल्यो?
करिब ३–४ महिना अगाडि मात्रै लञ्च भएको उक्त मेसिन नेपालमा ग्वार्काेस्थित बीएन्डबी अस्पताल, नर्भिक इन्टरनेसनल, सानेपास्थित स्टार लगायतका करिब २५ स्वास्थ्य संस्थामा प्रयोगमा आइसकेको अवस्था छ। प्रयोगकर्ता संस्थाहरुले छोटो समयमा नै ल्याब रिपोर्ट दिन सक्ने उक्त मेसिनबारे सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। बजारमा पाइने अन्य मेसिनको तुलनामा यसको लागत न्यून रहेको छ। यसको मूल्य साढे २ लाख रुपैयाँ राखिएको छ। जसमा भ्याट रकम समेत समावेश गरिएको छ। निश्चित समय भित्र निश्चित मात्राको परीक्षण गरिसक्नु पर्ने बाध्यताको अन्त्य यस मेसिनले गरेको छ। उक्त मेसिनबाट ८ घन्टामा अधिकतम ८० वटासम्म परीक्षण गरी विश्वसनीय ल्याब रिपोर्ट पाउन सकिनेछ। मेसिनको अर्काे महत्वपूर्ण विशेषता एक पटक फुल चार्ज गरेपछि ८ घन्टासम्म चलाउन सक्नु हो। त्यस कारण बिजुली अभाव हुँदाको समयमा पनि मेसिन प्रयोगमा ल्याउन सकिन्छ।