सुर्खेत- विगत १२ वर्षदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सेवा दिँदै आईरहेको सुर्खेत अस्पतालमा फिजियोथेरापी सेवा सुरु भएको छ। अस्पतालमा फिजियोथेरापी सेवा सुरु भएपछि नशा तथा हाडजोर्नीका समस्या भएका बिरामीको उपचारमा सहज हुने अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा हिक्मत भण्डारीले बताए।
हाडजोर्नी, नशा, प्यारालाइसिस, मांशपेशी, श्वासप्रश्वास सम्बन्धी समस्या, घाँटी तथा ज्यान दुखाइ कम गर्न फिजियोथेरापी प्रभावकारी हुने डाक्टर भण्डारीले बताए। 'दुखाई कम गर्न औषधि पनि दिने गरिन्छ तर औषधिले सिमित समयका लागि मात्र काम गर्दछ। थेरापीले लामो समयसम्म काम गर्दछ र मांशपेशी बलियो बनाउँछ,' उनले भने।
अस्पतालमा दम रोग भएका बिरामीलाई भाइब्रेटर मेसिन मार्फत् खकार निकाल्नेगरी उपचार सेवा दिइने अस्पतालका वरिष्ठ फिजिसियन डा केएन पौडेलले बताए।
अनुभवी फिजियोथेपीष्टद्वारा दिइने सेवा सुर्खेतकै अन्य अस्पताल भन्दा कम शुल्कमा यस अस्पतालमा रहेका अस्पतालका प्रबन्ध निर्देशक रवि सापकोटाले बताए।
फिजियोथेरापी प्रत्येक उमेर समूहका व्यक्तिका लागि एकदमै महत्वपूर्ण उपचार पद्धति रहेकोले अस्पतालमा पहिले नै अन्य उपचार गर्न ओपिडी पुर्जा बनाइसकेका बिरामीहरुका लागि फिजियोथेरापी रजिष्ट्रेसन शुल्क नलाग्ने अस्पताल व्यवस्थापक भक्तबहादुर शाहीले बताए।