काठमाडौं– नेपाल चिकित्सक संघले युएसएमएलईमा नेपाली चिकित्सकप्रति गरिएको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ। संघले २०२४ को लागि आवेदन दिने नेपाली मेडिकल ग्रेजुएटहरुको सामूहिक अवैधानिकता र संयुक्त राज्य अमेरिकाभित्र अभ्यास गर्ने नेपाली डाक्टरहरुको विश्वसनीयता सम्बन्धी हालैका घटनाक्रमहरु बारे पुनर्विचार गर्न आग्रह गरेको हो।
महासचिव डा सन्जिब तिवारीले विज्ञप्ति जारी गर्दै नेपाली चिकित्सकहरुको स्वास्थ्य सेवामा स्वदेशी र अन्तर्राष्ट्रिय रुपमा महत्वपूर्ण रहेकोमा जोड दिँदै व्यवसायिकता, समर्पण र दक्षता प्रदर्शन गर्दै आइरहेको अवस्थामा अन्तर्राष्ट्रिय रूपमा युएसएमएलईको परीक्षा सञ्चालन गर्ने निकाय प्रोमेट्रिक सेन्टरमा परीक्षा दिने नेपाली चिकित्सकको योग्यतामाथि प्रश्न उठाउने र परीक्षार्थीको निष्ठा र क्षमतामा शंका उत्पन्न गर्ने निर्णयले गहिरो चिन्ता उत्पन्न भएको जनाएका छन्।
'नेपालका चिकित्सकको गुणस्तरले निरन्तर रूपमा आवश्यक मापदण्डहरू पूरा गरेको संद्ध दृढ रूपमा विश्वास गर्दछ। चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलद्वारा निरीक्षण गरिएको हाम्रो चिकित्सा शिक्षा प्रणालीले कठोर शैक्षिक र नैतिक मापदण्डहरूको पालना गर्दछ' विज्ञप्तिमा भनिएको छ,'युएसएमएलईले आफ्नो निर्णयमा निष्पक्ष हुन आग्रह गर्दछौं र आफ्नो परीक्षा केन्द्रहरू (प्रोमेट्रिक सेन्टर) मार्फत आफ्नो निर्णयमा पुनर्विचार गर्न र नेपाली चिकित्सा स्नातकहरूको योगदान र क्षमताहरूलाई मान्यता दिन आग्रह गर्दछ।'