'मैले डीभी भरौं कि नभरौं- उनले सोधिन्
मैले 'भर' भन्दिएँ
पक्की बाटो, पानी, बिजुली पुग्यो पहाडमा,
आमैले सोधन्, 'वेशी झरौं कि नझरौं ?'
मैले 'झर, अहिले झर आमै' भन्दिएँ
मैले रोकेर कोही रोकिने छैन,
मैले छेकेर कोही छेकिने छैन
सबैलाई छाड्ने लत लागेको छ,
घर छाड्ने, आमा छोड्ने,
गाउँ छोड्ने, शहर छोड्ने,
गीत छोड्ने, प्रित छोड्ने,
केश छोड्ने, भेष छोड्ने,
सबैले सबै छोडे, शून्य हुन्छ
त्यो शून्य कसले समाउने, कस्ले छोड्ने
देशै विदेशिएको छ,
लाला बाला छोडेर,
माउ, बच्चाबच्ची छोडेर,
घर छोडेर, मन छोडेर,
आमा छोडेर, मामा छोडेर,
बेवारिसे गाईबस्तु छोडे जस्तो,
फगत 'अर्थ'को लागि,
जुन अर्थ, अर्थ भन्दा 'अनर्थ छ।
(कवि शर्मा राप्ती प्रादेशिक अस्पताल, तुलसिपुर दाङमा हाडजोर्नी तथा नशा रोग विशषेज्ञका रुपमा कार्यरत छन्।)