काठमाडौं- काठमाडौं महानगरका प्रमुख बालेन शाहले लक्षित वर्गको पहिचान हुने कागज भए निःशुल्क स्वास्थ्योपचार सेवा लिन भनसुन गर्नु नपर्ने बताएका छन्। त्यस प्रकारको प्रणाली विकास गरिएको बताउँदै काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले स्वास्थ्य सेवा प्राप्त गर्ने हक उपयोग गर्न लक्षित वर्गलाई आग्रह गरे।
भिडियो सन्देशमार्फत उनलेभनेका छन्, ‘विगतमा कार्यान्वयनमा नआएको व्यवस्था कार्यान्वयन गर्न महानगरपालिकाले विकास गरेको प्रणालीमा ५२ वटा अस्पताल आवद्ध भएका छन्। यसमा ७४४ शय्या निःशुल्क उपचारका लागि उपलब्ध छन्।’
‘राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगर्ने र हरेक नागरिकको स्वास्थ्य सेवामा समान पहुँच हुने नेपालको संविधानले नागरिकलाई दिएको स्वास्थ्य सम्बन्धी हक हुन् । पारदर्शी प्रणालीबाट हामी यसको कार्यान्वयनमा छौँ ।’ प्रमुख शाहले यसको गलत प्रयोग हुने अवस्थाप्रति संकेत गर्दै भनेका छन् ‘यदि कसैले झुटो विवरण पेश गरेर उपचार गरेको पाइए, उपचार गराउने (विरामी) र उपचार गरिदिने (अस्पताल) दुवैलाई कारवाही हुनेछ।’