लोक गायिका कोपिला गौतमले ६ महिनाअघि तीजमा गीत गाइन्
तीजै आयो लै बरी लै,
मनै रमायो लै बरी लै।
ओभरियन क्यान्सरलाई पराजित गरेकी गौतम जीवनको लयमा फर्किएकी थिइन्। त्यो खुशी उनले तीजको गीतमार्फत् प्रस्तुत गरेकी थिइन्। कठीन क्षणमा पनि उच्च मनोबलसहित रहन्छिन् उनी। त्यसैमाथि एउट जटिल लडाईंमाथि विजय प्राप्त भएको थियो। तर, कोपिलाको जीवनमा फक्रिदै गरेको खुशी धेरै समय रहेन।
फेरि अहिले उनलाई वंशाणुगत स्तन क्यान्सर देखिएको छ। पहिले देखिएको पाठेघरको क्यान्सर जित्नका लागि गरिएको उपचारमा ठूलो धनराशी लाग्यो। आफ्नै परिश्रमबाट आर्जित र निकटस्थबाट प्राप्त ऋणधनले उपचार सम्भव भयो। तर, यसपल्ट भने उनी आफू एक्लै यसबिरुद्ध लड्न नसक्ने अवस्थामा पुगेकी छिन् र सामाजिक सञ्जालमार्फत् सहयोगका लागि आह्वान गरेकी छिन्। जहाँ उनी भन्छिन्, 'फेरि एक पटक जिन्दगीको अर्को लडाई लड्ने तयारीमा छु! अब चाँहि म एक्लैले यो लडाईं लड्न नसक्ने भएर तपाईंहरुको हात र साथको अपेक्षा गरेकी छु।'
गौतम कुशल गायिका मात्रै होइनन्, असल पत्रकार पनि हुन्। गायनमा लोकगीत रोजेकी उनको पत्रकारितामा श्रमिक र किसान प्राथमिकतामा परे। उनले दुवै पेशलाई एकसाथ अघि बढाइरहेकी थिइन्। एकाएक पाठेघरको मुखको क्यान्सर भएपछि ब्रेक लाग्यो।
४१ वर्षको उमेरमा केही वर्षअघि उनलाई पाठेघरको क्यान्सर भएको पत्ता लागेको थियो। पेट अस्वभाविक रुपमा बढेर कपडा लगाउनै असहज स्थिति भएपछि उनी चिकित्सककहाँ पुगिन्। पाठेघरमा समस्या आएको हुनसक्ने उनको अनुमान अनुसार परीक्षण गराउँदा ओभरियनमा सिस्ट भएको पत्ता लाग्यो । सिटीस्क्यान गर्दा क्यान्सर भएको आशंका भयो। त्यतिबेला सम्म नेपाल मेडिसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराइरहेकी उनी क्यान्सर पत्ता लागेपछि भने उनी विशिष्टीकृत उपचारका लागि नेपाल क्यान्सर अस्पताल पुगिन्।
अस्पतालको गाइनो विभागको प्रमुख समेत रहेकी डा अन्जु श्रेष्ठको निगरानीमा उनको उपचार सुरु भएको थियो। अस्पताल पुगेकै दिन चिकित्सकले चाँडै फैलिने क्यान्सर भएकोले उपचारमा ढिलो नगर्न सुझाए। 'क्यान्सर चौथो स्टेजमा नै पुगिसकेका कारण अस्पताल भर्ना भएकै भोलिपल्ट मेरो शल्यक्रिया समेत भयो,' उनले भनिन्, 'शल्यक्रिया पछि आफूलाई क्यान्सरबाट विस्तारै मुक्त गराएँ।
पहिलो जित, उच्च मनोबलका साथै उपचार
क्यान्सर भएपछि पनि सही उपचार पाएमा निको हुने कुरामा नेपाली समाज सचेत छैन। यस्तो जटिल समस्यामा परेकाहरुलाई हौस्याउने स्वभावको विकास भएको छैन। त्यसको शिकार कोपिला पनि भइन्। उनी उपचाररत रहँदा केही आएर भन्थे, 'अब बच्चाहरु टुहुरा हुने भए लोग्ने मानिसको भर हुन्न।'
उनले त्योबेला बुझिन्, 'आत्मबल दिनेहरुलाई आत्मसाथ गर्नुपर्छ। मनोबल गिराउनेगरी कुरा गर्नेहरुबाट टाढिनुपर्छ।'
उनले विभिन्न ठाउँबाट आउने अनेकथरी कुरालाई सुनेको नसुन्यै गरिन्। आफूलाई भरोसा गरिन्। आफूलाई उपचार गर्ने चिकित्सकलाई भरोसा गरिन् । जसको परिणाम उनी पाठेघरको क्यान्सरबाट मुक्त भइन्।
दोस्रोपटक फेरि क्यान्सर
उनकी आमालाई समेत स्तन क्यान्सर भएको थियो । जसको पहिचान तेस्रो चरणमा मात्रै भएको थियो। त्यतिबेला नै चिकित्सकहरुले आमालाई स्तन क्यान्सर भएका कारण तपाईं पनि त्यसको जोखिममा हुनुहुन्छ भनेका थिए। त्यसैले प्रत्येक ६/६ महिनामा परीक्षण गराउनका लागि सुझाव समेत उनलाई दिएका थिए।
चिकित्सककै सल्लाह बमोजिम उनले प्रत्येक ६ महिनमा परीक्षण गराउँदै आएकी थिइन्। आमालाई क्यान्सर भएका कारण वंशाणुगत जाँच गर्न चिकित्सकले सुझाए । 'पहिलो उपचारको क्रममा नै डाक्टरहरुको सल्लाह थियो कि एकपटक जिनेटिक टेस्ट गराउनु । त्यही सिलसिलामा फागुनमा मात्रै जेनेटिक परीक्षण गराउँदा बायोप्सी रिपोर्टमा क्यान्सर पोजेटिभ देखायो,' कोपिला भन्छिन्, ' सुरुवाती चरणमा रहेको स्तन क्यान्सरको उपचारका लागि दुवै स्तनको सर्जरी गर्नका लागि चिकित्सकले सुझाएका छन्।'
क्यान्सरको उपचारमा महंगोमध्ये पर्छ। आर्थिक रुपले मध्यम परिवार एकपल्ट क्यान्सर उपचार गराउँदा नै गरिबीको रेखामुनि आइसक्ने हेल्थ इकोनोमिस्टहरु बताउँछन्। संघर्षबाटै आफूलाई आर्थिक रुपमा सक्षम बनाएकी कोपिलाले पहिलोपटक जसोतसो बेहोरिन्। यसपल्ट जसै गरेपनि सम्भव नभएपछि सहयोग हातहरु खोजेकी छिन्।
उनी भन्छिन्, 'केही गरी चाँडो आर्थिक जोहो गरेर सर्जरी गरेर यस रोगबाट मुक्त हुन पाएँ दोस्रोपटक नयाँ जीवन पाउने थिएँ। ढिलो गरेमा जोखिम बढ्ने चिकित्सकहरु बताइरहेका छन्।'
नेपालमा हाल नेपाल क्यान्सर अस्पतालमा डा. कपील सिखर अमात्य र डा. प्रफुल्ल श्रेष्ठको निगरानीमा रहेको उनले बताइन्। 'उहाँहरुले संक्रमण भएको र नभएको दुवै स्तनलाई सर्जरी गराउन भन्नुभएको छ । त्यसो नभए अर्को स्तनमा समेत क्यान्सर फैलिने जोखिम हुन्छ,' उनले भनिन्।
उनका यस अगाडि नै विभिन्न गरी पाँचवटा सर्जरी भइसकेका छन्। आर्थिक रुपमा मात्रै होइन, त्यसले गर्दा उनी शारीरिक रुपमा पनि केही गलेको महशुस गरिरहेकी छिन्। 'मनले केही हुँदैन भनिरहेको छ। त्यही साहसका साथ छैटौंपटक शल्यक्रिया गर्न तम्सिएको छु,' उनले भनिन्, 'चुनौतीमा पहाड छन् तर पनि जित्छु भन्ने उच्च साहसका साथ अगाडि बढ्दै छु।'
क्यान्सरलाई जितेर क्यान्सर सर्भाइबरका रुपमा समाजलाई योगदान गर्ने उनले बताइन्। 'नेपाली संगीतिक आकाशमा अरु इँटा थप्ने हिम्मत बोकेकी छु । तर आर्थिक अभावका कारण उपचारमा ढिलाइ भइरहेको छ,' उनले थपिन्।
सर्जरी तथा सर्जरी पछिको नियमित औषधि सेवन पनि निकै महंगो पर्ने भएकाले उपचारको प्रक्रिया अगाडि बढ्न नसकेको उनको भनाइ छ। तर आत्मविश्वास भने कम नगरेको उनले बताइन्। 'मेरो परिवार र आफन्तको सहयोगले पक्कै पनि यसलाई सहजै परास्त गर्न सकिन्छ होला,' उनले विश्वासका साथ भनिन्।
देब्रे स्तनमा पहिलो चरणको क्यान्सर पहिचान पश्चात अब उपचारका निम्ती लागिहाल्न डाक्टरको अनुरोधलाई पुरा गर्न उनले सकिनन्। भारतमा रहेकी उनी उपचारका लागि स्रोत जुटाउन नेपाल आएको बताइन्।
अन्तिममा उनले भनिन्, 'बाँच्न पाउँ भनेर अब अन्तिम विकल्पका रुपमा मलाई माया गर्नुहुने नेपाली आमाबुबा दाजुभाईलाई गुहार्ने सोचका अपिल गरेकी छु। मलाई सहयोग गर्न चाहनुहुने सम्पूर्णलाई स्वेच्छाले सहयोग गर्न आग्रह गर्छु।'
उनलाई सहयोगका लागि निम्न ठेगानमा सम्पर्क वा सिधै सहयोग गर्न सकिनेछ।
Account Name: Kopila Gautam
A/C Number: 1420100022884010
Rastriya Banijya Bank
New Baneshwor branch
Contact: 9841971807
E-mail: [email protected]