काठमाडौं- सोसाईटी अफ एनेस्थेसियोलजिस्ट अफ नेपाल (सान)को २३ सौ वार्षिक सम्मेलन सम्पन्न भएको छ। चैत्र १६ र १७ गते काठमाडौंमा भएको हो।
सम्मेलनमा विश्वभरका ५ सय ३६ जना चिकित्सकहरुको सहभागिता रहेको थियो। जहाँ एनेस्थेसियासँग सम्बन्धित विभिन्न विषय झन्डै १०० वटा कार्यपत्र प्रस्तुत गरिएको संस्थाका अध्यक्ष डा अमिरबाबु श्रेष्ठले जानकारी दिए। उनका अनुसार सम्मेलनमा १८ वटा पोस्टर प्रस्तुत गरिएका थिए। उक्त सम्मेलनमा नेपालका ६७ जना तथा विभिन्न देशका ३२ जना चिकित्सकहरुले कार्यपत्रहरु प्रस्तुत गरेका थिए। सम्मेलन अघि र पछि गरि विभिन्न ६ विधामा वैज्ञानिक कार्यशाला सम्मेलन समेत सम्पन्न भएको बताइएको छ।
सन् १९८७ मा स्थापित संस्थाको यस वर्षको नारा 'एड्भान्सेस इन एनेस्थेसिया' थियो। यसका साथै एनेस्थेसिया विषयका विभिन्न समसामयिक सामग्रीमा पाँचवटा भिन्नाभिन्नै सामुहिक छलफल समेत गरिएका थिए।
वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा. रोशना अमात्यद्वारा स्थापित 'रोशना अमात्य ओरेसन सम्मान'बाट यस वर्ष वरिष्ठ एनेस्थेसियोलजिस्ट डा विशारदमान श्रेष्ठलाई सम्मान गरिएको छ। संस्थाका अध्यक्ष डा अमिरबाबु श्रेष्ठको अध्यक्षतामा भएको सम्मेलनको वरिष्ठ एनेस्थेसियोलजिस्ट डा रोशना अमात्यले उद्घाटन गरेकी थिइन्।
आगामी वर्षको वार्षिक सम्मेलन २०२५ अप्रिल ४-५ मा अन्तर्राष्ट्रिय सम्मेलनको रुपमा एसियन सोसाइटी अफ पेडियाट्रिक एनेस्थेसिया नामक सस्थासँगको सहकार्यमा काठमाडौँमा गर्ने तय भएको छ।