काठमाडौं– नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सुर्तीजन्य पदार्थहरुको प्रयोग गर्न पूर्ण प्रतिवन्ध लगाउने दिशामा सोच्न जरुरी रहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले तत्काल पूर्ण प्रतिबन्धमा जान नसके पनि करको दायरा बढाउने र नियमनलाई प्रभावकारी बनाउने काममा ध्यान दिनुपर्ने बताए।
उनले सबै राजनीतिक दलहरुले पनि सैद्धान्तिक रुपमा यसबारेमा छलफल गर्न जरुरी रहेको बताए। उनले जरुरी महत्वको विषय बनाएर छलफलमा लगे मात्रै पूर्ण प्रतिबन्ध गर्न सकिने बताए। यसबारेमा विद्यार्थीहरुलाई सचेतना दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
उनले भने, ‘यसलाई हामीले लक्ष्य सम्पूर्ण रुपले प्रतिवन्ध लगाउनेतिरै सोच्नुपर्छ। तर कानून भनेको कार्यान्वयन भएन भने मासले स्वीकार्दैन। अस्वीकार गरेन भने राम्रो हुँदैन। यसलाई हामीले अहिले करको दायरा बढाउने र नियमनलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने र लक्ष्य प्रतिवन्ध गर्ने भनेर सैद्धान्तिक रुपमा छलफल गर्नुपर्छ। यसलाई जरुरी महत्वको विषय बनाएर छलफलमा लैजानुपर्छ। विद्यार्थीहरुलाई यसको सचेतना दिने हो भने अझ प्रभवकारी बढ्छ।’
पार्टीहरुले धुम्रपान, मद्यपानलाई प्रमुख मुद्दाका रुपमा लिएर सचेतना फैल्याउन जरुरी रहेको उनले बताए।