काठमाडौं– प्रतिनिधि सभाकी सांसद समेत रहेकी चिकित्सक डा चन्दा कार्कीले स्वास्थ्य क्षेत्रमा योगदान गरेकाहरुको राज्य र समाजबाट मूल्यांकन हुन नसकेको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अन्य क्षेत्रका व्यक्तिहरुको जत्तिको समेत मूल्यांकन नभएको बताएकी हुन्।
केही समयअघि मात्रै दिवंगत डा दिव्यश्वरी मल्लको उदाहारण दिइन्। जीवनभर नेपालको चिकित्सा र त्यसमा पनि महिला र नवजात शिशुको जीवन रक्षामा बिताएकी उनको मृत्यु ‘गुमानाम’ बन्यो। तर, उनी भन्दा कम योगदान भएका नेता तथा कलाकारहरुको ‘बिदाइ’ समेत राज्यले धुमधामका साथ गरेका प्रशस्त उदाहरण छन्।
यही सन्दर्भलाई जोड्दै उनले भनिन्, ‘स्वास्थ्यकर्मीको कामको रिकग्निसन भएन । जति कलाकारको हुन्छ। हाम्री अग्रज डा दिव्यश्री मल्लले आफ्नो लागि केही गर्नुभएन । जे जति गर्नुभयो, समाजकै लागि गर्नुभयो। तर समाज र राज्यले मूल्यांकन गर्न सकेन।’
आफूले चार दशक स्वास्थ्य सेवामा बिताएर केही उपलब्धी समेत हासिल गरेपछि राजनीतिमा लागेको बताइन्। राजनीतिबाट केही परिवर्तन गर्ने लक्ष्यका साथ आफू आइपुगेको बताउँदै उनले प्रश्न गरिन्, ‘स्वास्थ्य जनताको मात्रै सरोकार भयो कि?’
स्वास्थ्यका २७ वटा कानुन र १७ वटा नियमावली आफूले पढ्न पाएको बताउँदै हेर्दा निकै राम्रो पाएको बताइन्। तर, कार्यान्वयनमा समस्या देखिएको उल्लेख गरिन्।
ब्रेन ड्रेन पनि कानुन कार्यान्वयनमा रहेको कमजोरीको उपजका रुपमा उनले औंल्याइन्। उनले थपिन्, ‘कानुनको नियमन इमानदारीपूर्ण हुन्छ । सरकारी निकायको गुणस्तरमा ध्यान दिनुपर्छ । स्वास्थ्य मन्त्रालयले दरबन्दी बढाउन कोशिस गरिरहेको छ । अर्थ मन्त्रालयले रोकेका छ। त्यसैले अर्थसँग समन्वय हुनुपर्छ।’