बाल क्यान्सर रोग विशेषज्ञ डा ऋतु लामिछाने भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत छिन्।डा लामिछानेसँग बालबालिकामा देखिने क्यान्सर, उपचार, सरकारले दिइरहेको सहुलियत लगायतका विषयमा स्वास्थ्यखबरकी रिता लम्सालले भिडियो कुराकानी गरेकी छिन्। डा लामिछानेले भिडियो संवादका क्रममा व्यक्त गरेका धारणा हामीले यहाँ शब्दमा पनि प्रस्तुत गरेका छौं:
क्यान्सर भनेको शरीरका कोशिकाहरु अनियन्त्रित रुपमा वृद्धि हुनु हो। पहिला वयस्क तथा वृद्धवृद्धामा क्यान्सर हुन्छ भन्ने गरिन्थ्यो तर पछिल्लो समय बालबालिकाहरुमा पनि क्यान्सरको समस्या बढ्दै गएको छ। बालबालिकाहरुमा रगत सम्बन्धी र अन्य अंगमा हुने क्यान्सरहरु छन्।
बालबालिकाहरुमा रगतको क्यान्सर ‘कमन’देखिएको पाइन्छ। जसमा ल्युकेमिया र लिम्फोमा हो। लिम्फोमा भनेको रगतकै कोशिकाबाट देखिएर ग्रन्थीहरुमा देखिने क्यान्सर हो।
यस्तै ब्रेन ट्युमर, मिर्गौला, जोर्नी, हड्डि, मांसपेसी, आँखाको रेटिनोमा हुने रेटिनाब्लास्टोमा, न्युरोब्लास्टोमा लगायतका विभिन्न किसिमका क्यान्सरहरु देखिन सक्छ।
वयस्क तथा वृद्धवृद्धामा देखिने क्यान्सरका कारक तत्वहरु जीवनशैली र विभिन्न कारणहरुले हुन्छ। तर बालबालिकामा हुने क्यान्सरहरुको कारक तत्व खासै छुट्टिएको हुँदैन। बालबालिकाहरुमा क्यान्सर देखिने कारण भनेको जीनमा आएको परिवर्तन हो।
बालबालिकामा हुने क्यान्सर रोक्न सकिँदैन तर उपचार गराएर निको पार्न सकिन्छ।
बालबालिकामा देखिने क्यान्सर सबै बंशाणुगत हुँदैन। तर १० प्रतिशत केस वंशाणुगत हुनसक्छ। जस्तो आँखामा हुने रेटिनाब्लास्टोमा वंशाणुगत हुनसक्छ।
बालबालिकाहरुमा हुने विभिन्न किसिमका रोग तथा समस्या देखिने लक्षणहरु जस्तै क्यान्सरको लक्षण देखिन सक्छ। जसले गर्दा क्यान्सरको लक्षण पहिचान गर्नै ढिला हुनजान्छ।
बालबालिकामा लामो समयसम्म ज्वरो आइरहने, वजन घट्दै जाने, सुस्त हुँदै जाने, रक्तअल्पता देखिने, पेट सुन्निने, शरीरमा निलो डाम देखिने, रातो रातो टिक टिक र्यासेस देखिने, शरीरमा गाँठागुठीहरु आउन हुनसक्छ । यस्ता समस्या औषधि खाएर पनि कम नहुनेहुन्छ। यस्तो अवस्थामा चिकित्सकसँग परामर्श लिनुपर्छ।
क्यान्सरको उपचार पछि सर्भाइव रेट विकसित देशहरुमा ८० प्रतिशत छ। नेपाल जस्तो विकासोन्मुख देशहरुमा ३० प्रतिशत मात्र छ। सचेतनाको कमीले नेपालीहरु उपचारमा ढिला आइरहेका हुन्छन्।
रोग पत्ता लागिसकेपछि पनि उपचारमा ढिलाइ भएको पाइन्छ। विशेषगरी नेपालको भौगोलिक विकटता र आर्थिक समस्या र यसको उपचार गर्ने विशेषज्ञ तथा अन्य जनशक्तिको कारणहरु छन्।
सन् २०३० सम्ममा नेपालमा क्यान्सर भएपछि सभाईब हुने दर ८० प्रतिशत नभएपनि ६० प्रतिशत भनेपनि पुर्याउन पर्छ भनेर लागि परेका छौं।
बालबालिकाको क्यान्सरको हकमा पनि उपचार गर्ने किमोथेरापी, सर्जरी र रेडियसन थेरापी बेसिक उपचार पद्धति हो। यो बाहेक टार्गेटेट थेरापी, इम्युनोथेरापी, बोनम्यारो ट्रान्सप्लान्ट लगायतका धेरै कुराहरु छन्।
तर हामीले धेरैजसो केसहरुको किमो थेरापीबाट पनि ७० देखि ८० प्रतिशत ठिक पार्न सक्छौं। बालबालिकाको रक्त क्यान्सर छ भने समयमै आइपुगेको अवस्थामा किमो थेरापीबाटै ८० देखि ९० प्रतिशत बिरामी ठिक पार्न सक्छौं।
भक्तपुर क्यान्सर अस्पतालमा ७० प्रतिशत बिरामी विकट ठाउँबाट आउनुहुन्छ। त्यो पनि समयमै आउनुहुन्न। जो उपचारका लागि आइपुगेका हुन्छन् ढिलाइ गरेर आइपुग्नुहुन्छ।
बालबालिकाहरुको क्यान्सर एग्रेसिप हुन्छ। क्यान्सर छिटो छिटो बढ्दै जान्छ। त्यसैले बालबालिकाको क्यान्सरमा जति छिटो उपचारमा गयो निको हुने चान्स पनि त्यति नै धेरै हुन्छ। ढिला आउँदा रोग बढिसकेको हुन्छ। हामीले हेर्ने धेरैजसो केसहरु जटिल अवस्थामै आइपुगेको हुन्छ।
सरकारी सहुलियतले पुग्दैन
सरकारी सहुलियतले क्यान्सरका बालबालिकाको उपचार सम्भव छैन। रोग पत्ता लगाउन नै विभिन्न तरिकाबाट जानुपर्छ। डाइग्नोस्टिक पाटोमा नै सरकारी सहुलियत सक्किसकेको हुन्छ। उपचारमा जाँदा सरकारले दिने सहुलियत पुग्दै पुग्दैन। क्यान्सर भएका बालबालिकाको उपचारका लागि अभिभावकहरुलाई सहयोगको आवश्यकता परेकै हुन्छ। धेरैजसो बिरामीको त बीचमै उपचार नछुटोस् भनेर हामी आफैले पहल गरेर कलेज पढ्ने विद्यार्थी, विभिन्न निकायसँग आर्थिक सहयोग पनि जुटाइरहेका हुन्छौं।
अहिले पनि नेपालीहरु आफ्नो सबै आवश्यता पुरा गर्न सक्ने वा रोग लाग्दा उपचार गर्न सक्ने अवस्थाका छैनन्। विकट ठाउँबाट आउनेहरु एउटा अभिभावक बच्चासँग बस्नै पर्ने हुन्छ। उसको परिवारमा अरु पनि समस्या हुन्छ। बिरामीको अभिभावकलाई घरखर्च र उपचार खर्च जुटाउनै सकस परिरहेको हुन्छ। अहिलेपनि धेरै जनाले उपचार बीचमै छाडेर जानुभएको अवस्थाहरु छ।
बाध्यताले पनि उहाँहरुले उपचार बीचमै छोडेर जानुभएको अवस्था छ।
सरकारले बालबालिकाको क्यान्सरको उपचारका लागि एक लाख वा केही प्रदेश सरकारले दिने थोरै रकम सहुलियतले पुग्दैन। सरकारले बच्चाहरुको रोगमा फोकस गरेर सहुलियत बढाउन आवश्यक छ।
सरकारले क्यान्सरको उपचारका लागि अस्पतालको पूर्वाधार तथा प्रविधि र जनशक्तिको विकासमा पनि ध्यान दिन आवश्यक छ।
पहिला पहिला जस्तो रोग लागेपछि अस्पताल नै नआउने सायदै कम बिरामी छन्। तर अस्पताल आइसकेपछि पनि फर्किनु भनेको बिरामीको स्वास्थ्य उपचार पाउने अधिकार नै खोसिनु हो। यसरी बिरामी उपचार पुरा नगरी फर्किने कारण नै आर्थिक समस्या हो।
सरकारले यो कुरा बुझेर यसमा काम गर्नुपर्छ। अर्कोकुरा बच्चाको उपचार हुने अस्पतालहरुलाई प्राथमिकता दिन आवश्यक छ।
क्यान्सर पत्ता लागिसकेपछि पनि उपचार नै पुरा नगरी बिरामी फर्किदा एकदमै नराम्रो लाग्छ। आजभोलि हामीले आफूले डाइग्नोसिस गरेको बिरामी मैसँग उपचार गराउन पर्दैन। पायक पर्ने अस्पतालमा उपचार गराउनुस् भनेर सुझाब दिन्छु।
भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन अस्पताल, भरतपुर अस्पताल, नेपाल क्यान्सर अस्पताल, काठमाडौं क्यान्सर सेन्टर लगायतका अस्पतालमा पनि बाल क्यान्सर विशेषज्ञहरुबाट क्यान्सरको उपचार भइहेको अवस्था छ। क्यान्सरको उपचार गर्न बच्चा लिएर आएका कोही अभिभावकसँग त खाना खाने खर्च समेत हुँदैन। यस्तो अवस्थामा कहाँ बस्ने? ग्रामिण क्षेत्रबाट आएका बिरामीका लागि बिरामीको उपचार मात्र होइन। बिरामी कुरुवाको खाने बस्ने खर्च, बिरामीकै खानाको खर्च धान्न पनि मुस्किल पर्छ। क्यान्सरको उपचारमा बच्चालाई आज किमो दिएर भोलि घर पठाउन मिल्दैन। केही उपचार त ६ महिना अस्पताल बस्नुपर्छ। कतिपय बिरामीको अभिभावकलाई हामीले लियो फाउण्डेशनले घर नै लिएर नि:शुल्क खाना र बासको व्यवस्था गरेको छ। त्यहाँ १४ परिवार बसिरहनु भएको छ।
बच्चालाई क्यान्सर लागेको पत्ता लागेपछि अभिभावकहरुले जीवन नै सक्कियो भन्ने सोच्ने गर्छन्। हुन त त्यो समय अभिभावकका लागि पनि संवेदनशील समय हो। तर त्यसरी आत्तिहाल्नुपर्ने अवस्था अहिले छैन। समयमै उपचार गराएमा बालबालिकाको क्यान्सर निको हुनसक्छ। क्यान्सरको उपचार पछि बालबालिकाले आफ्नो जीवन सामान्य व्यक्तिले जस्तै व्यतित गर्न सक्छन्। त्यसैले बालबालिकाको क्यान्सर समयमै पहिचान र उपचार गराउनुपर्छ।
हेरौं भिडियो