काठमाडौं– सरकारले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तीनसय शय्याको मेडिकल कलेज आगामी आर्थिक वर्षदेखि सञ्चालन गर्ने योजना बनाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
'शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तीनसय शय्या क्षमताको मेडिकल कलेज र प्राविधिक कार्यक्रम यसै वर्षदेखि सञ्चालनमा ल्याइने छ,' उनले भने।
यसैगरी, उदयपुर, मोरङ, पर्सा, चितवन लगायत देशका अन्य स्थानमा मेडिकल कलेज स्थापना तथा संचालनका लागि आवश्यक तयारी गरिने पनि राष्ट्रपति पौडेलले जानकारी दिए।
यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी आर्थिक वर्षदेखि एमबिबिएस लगायतका चिकित्सा शास्त्रको स्नातक तहको अध्ययन समेत सुरु हुने भएको छ। सरकारले पुर्वाञ्चल विश्व विद्यालय अन्तर्गत पनि अस्पताल सञ्चालनको तयारी गर्ने योजना बनाएको छ।
‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्ष देखि चिकित्सा शास्त्र संकायको स्नातक तहको कक्षा सुरु गरिने छ। पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गत अस्पताल सञ्चालनको तयारी गरिने छ,’ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने।