काठमाडौं- सरकारले योग र ध्यानको सन्देश विश्ववभर फैलाउने गरी योगध्यान पर्यटन प्रवर्द्धन गर्ने नीति लिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
'योग र ध्यानको सन्देश विश्ववभर फैलाउने गरी योगध्यान पर्यटन प्रवर्द्धन गरिनेछ,' नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले जानकारी दिए।
यसका साथै सार्वजनिक प्रशासन, शिक्षा, स्वास्थ्य, पर्यटन र सामाजिक विकासको क्षेत्रमा योग, ध्यान र स्वजागरणका मौलिक र वैज्ञानिक पद्धतिलाई मूलप्रवाहीकरण गरी स्वस्थ र नैतिकवान समाज निर्माण गर्न सङ्घ, प्रदेश र स्थानीयस्तरमा योग र ध्यानको स्वजागरण अभियान सञ्चाशलन गरिने नीति पनि सरकारले लिएको पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भनेका छन्।
नीति तथा कार्यक्रममा वैकल्पिक एवम् प्राकृतिक तथा परम्परागत चिकित्सा पद्धतिको अनुसन्धान, विकास र विस्तार गरिने, आधारभूत आयुर्वेद औषधिको उत्पादनमा आत्मनिर्भरता हासिल गरिने र नागरिक आरोग्य कार्यक्रमलाई समुदायस्तरसम्म विस्तार गरिने विषय पनि उल्लेख छ।