काठमाडौं- सुर्तीजन्य पदार्थका उत्पादकले गएको आर्थिक वर्ष करौडौं कर छलेको पाइएको छ। उनीहरुले कर छलीका अनेक उपाय लगाएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
स्वास्थ्यका लागि हानिकारक सुर्तीजन्य पदार्थका उत्पादकले कर वृद्धिबिरुद्ध लबिङ गरिरहेका बेला यस्तो भेटिएको हो।
यस्ता छन् कर छलीका काइदा :
कर छली- १
ठूला करदाता कार्यालयअन्तर्गतको एक सुर्ती उत्पादक कम्पनीले आय वर्ष २०७८ । ७९ मा ननफाइलर रहेको एक ट्रेडिङ कम्पनीबाट रू. ४ करोडको खरिद देखाएको छ । निज करदाता आयकरतर्फ ननफाइलर रहेको र मूल्य अभिवृद्धि करतर्फ कर छुटको खरिद देखाएको छ । आयकरमा ननफाइलर रहेको करदाताले मूल्य अभिवृद्धिकरमा करछुटको बिक्री देखाएको अवस्थामा यस करदाताको करयोग्य खरिद हुने देखिँदैन।
सो सम्बन्धमा छानबिन गरी सो रकम करदाताको लागत खर्च अमान्य गरी रू. १ करोड २० लाख र मूल्य अभिवृद्धि कर रू. ५२ लाखसमेत रू. १ करोड ७२ लाख तथा सोमा शुल्क र ब्याजसमेत निर्धारण गर्नुपर्दछ।
करछली- २
ठूला करदाता कार्यालयअन्तर्गतको एक सुर्ती उत्पादक कम्पनीले आय वर्ष २०७८ । ७९ मा एक ट्रेडिङ कम्पनीबाट रू.१० करोड ३० लाखको खरिद देखाएको छ । तर उक्त ट्रेडिङ कम्पनीले करदातालाई रू.४ करोडको मात्र बिक्री गरेको निजको मूल्य अभिवृद्धि करको विवरणमा देखिन्छ। यस प्रबन्धले करदाताले दाबी गरेको खर्च सही र यथार्थ रहेको भन्ने अवस्था नभएकोले उक्त रकम बराबर लागत खर्च कट्टी अमान्य गरी ३० प्रतिशतले हुने कर रू.३ करोड ९ लाख र सोमा क्रेडिट लिएको मूल्य अभिवृद्धि कर रू. १ करोड ३३ लाख ९० हजारसमेत रू. ४ करोड ४२ लाख ९० हजार तथा सोमा लाग्ने शुल्क र ब्याजसमेत निर्धारण गर्नुपर्दछ।
करछली- ३
ठूला करदाता कार्यालयअन्तर्गतको एक सुर्ती उत्पादक कम्पनीले आय वर्ष २०७८ । ७९ मा एक सुपारी खरिद बिक्री केन्द्रबाट रू. २ करोड ३० लाखको खरिद देखाएको छ। निज आपूर्तक आयकरतर्फ नन् फाइलर रहेको र मूल्य अभिवृद्धि करतर्फ सो करदाताले कर छुटको खरिद देखाएको रकम रू.२ करोड १० लाख ७० हजारबाट बिक्रीमा सङ्कलन गरेको कर दाखिलासमेत गरेको देखिएन । अतः यो खरिद बिक्री कारोबार वास्तविक भए नभएको छानबिन गरी उक्त खर्चलाई अमान्य गरी सोमा ३० प्रतिशतले रू.६९ लाख आयकर तथा १३ प्रतिशतले रू. २९ लाख ९० हजार मूल्य अभिवृद्धि करसमेत रू.९८ लाख ९० हजारमा शुल्क र ब्याजसमेत असुल गर्न कर निर्धारण हुनुपर्दछ।
करछली- ४
आन्तरिक राजस्व कार्यालय, विराटनगरअन्तर्गतको एक हार्डवेयर सामग्री बिक्रेताले आय वर्ष २०७८।७९ मा आय विवरण साथ पेस गरेको वित्तीय विवरणमा कुल खरिद रू. २८ करोड ८७ लाख १३ हजार देखाएकोमा उक्त खरिदमध्ये रू. २ करोड २९ लाख ५४ हजार गत आय वर्षको खरिदलाई मिलान गरेको छ । यसरी चालु आय वर्षमा अघिल्लो आय वर्षको खरिद दाबी गरिएको रकमलाई खर्च कट्टी अमान्य गरी ३६ प्रतिशतले हुने कर रू. ८२ लाख ६३ हजार तथा सोमा लाग्ने शुल्क तथा ब्याज समेत छानबिन गरी कर निर्धारण गर्नुपर्दछ।