काठमाडौं– नेपाल पेन केयर एण्ड रिसर्च सेन्टरले तीन महिनाभन्दा लामो समयसम्म निरन्तर दुखाइको समस्या भएका व्यक्तिहरुको दुखाइ कम गर्ने उपचार सेवा दिँदै आएको छ।
सेन्टरका संस्थापक तथा निर्देशक एवं पेन फिजिसियन डा रोशन पियाका अनुसार सेन्टरमा दीर्घकालिन दुखाइको कारण पत्ता लगाई उपचार सेवा दिने गरिएको छ।
चिकित्सकहरुले तीन महिनाभन्दा बढी समयसम्म शरीरको कुनै अंग निरन्तर दुख्ने तर समस्याको उपचार गर्दा पनि निको नहुने समस्यालाई दीर्घकालिन दुखाइ भन्ने गरेका छन्।
उनका अनुसार सेन्टरमा घुँडाको हड्डी खिइएको, मासु च्यातिएको, नशा च्यापिएको, ढाडको नशा च्यापिएको, माइग्रेन, क्यान्सरको दुखाई, खुट्टा झमझमाउने, हड्डी खिइएको, शरीरको विभिन्न भागको नशा च्यापिएको तथा दुखाइको समस्या भएका बिरामीहरुको उपचार सेवा दिने गरिएको छ।
यस्ता बिरामीलाई पहिला मेडिकल तथा फिजियोथेरापीबाट सेवा दिने र त्यसबाट पनि दुखाइ कम नभए इन्जेक्सनको प्रयोगबाट गरिने उपचार विधि प्रयोग गर्ने गरिएको डा पियाले जानकारी दिए।
भारतीय अभिनेता सलमान खानले उपचार गर्दै आएको ट्राइजेमिनल न्युराल्जिया (अनुहारमा करेन्ट लागेजस्तै गरी दुख्ने समस्या)को उपचार गर्ने प्रविधि पनि आफूहरुसँग रहेको डा पियाले दावी गरे।
उनले भने, ‘सलमान खानमा पनि ट्राइजेमिनल न्युराल्जिया डाइग्नोसिस छ, यसको उपचारका लागि नशा लाटो गर्ने विधि, रेडियोफ्रिक्वोन्सी अबुलेसन विधिबाट उहाँले उपचार गर्नुहुन्छ। यो विधिबाट उपचार गर्ने सुविधा हाम्रो सेन्टरमा पनि छ।’
उनले लामो समयसम्म रहेको दुखाइको समस्यामा दुखाइ रहेको नशा पहिचान गरी त्यसलाई ३ वर्ष वर्षसम्म लठ्याउने विधि प्रयोग गरि दुखाइ कम गराउने विधि आफूहरुसँग रहेको बताए।
यसरी उपचार गर्दा बिरामीमा रहेको दुखाइको समस्या नियन्त्रण गर्न सकिने उनले बताए।
सेन्टरमा नशा च्यापिएर इन्जेक्सन विधिबाट दिइने उपचार सेवासहित रेडियोफ्रिक्वोन्सी विधिबाट गरिने उपचारको फुल प्याकेजहरु उपलब्ध रहेको डा पियाले जानकारी दिए।
उनले सेन्टरमा टाउको दुखाइदेखि खुट्टाको औंलाको हड्डी दुखाइ अर्थात शरीरका हरेक दुखाइको उपचार गर्ने गरिएको बताए।
उनले भने, ‘टाउकोदेखि खुट्टाको औंलासम्म शरीरको कुनैपनि दुखाइ तीन महिनाभन्दा लामो छ भने त्यसको उपचार हामी गर्छौं।’
डा पियासहित पेन फिजिसियन डा शिरिष प्रसाद अमात्य र डा अनिल श्रेष्ठले सेन्टरको स्थापना गरेका हुन्।
सेन्टर स्थापना भएर सञ्चालनमा आइरहेको भए पनि यसको औपचारिक उदघाटन भने गत शनिबार मात्र गरिएको हो। भारतको कोलकातास्थित दरिदिया पेन क्लिनिकका संस्थापक तथा निर्देशक डा गौतम दासले सेन्टरको औपचारिक उदघाटन गरेका हुन्। डा दाससँगै डा सुभरा दास पनि सेन्टरमा आएकी थिइन्।
उदघाटन कार्यक्रममा डा गौतम दासले दीर्घकालिन दुखाइ भएका बिरामीको सेवाका लागि खुलेको सेन्टरको उदघाटन गर्न पाउँदा खुसी लागेको बताए। उनले पीडामा रहेका बिरामीको दुखाइ हटाउँदै उनीहरुको अनुहारमा खुसी ल्याउने पवित्र काम गर्न लागेको भन्दै डा पियासहितको टोलीलाई बधाई दिए।
सेन्टर नयाँ बानेश्वरबाट पुरानो बानेश्वर तर्फ जाने सडकको कामधेनु भवनमा रहेको छ।