काठमाडौं- योेग्यताका विषयमा विवाद भएपछि परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल विकास समितिले नर्सिङ प्रशिक्षक पदका लागि मागेको पदपूर्ति सम्बन्धी सूचना रद्ध गरेको छ।
छैटौँ तहका लागि स्नातकोत्तर योग्यता तोकिएको भन्दै आलोचना आएपछि सूचना रद्ध गरेको हो।
परोपकार प्रसूतिका निर्देशक डा श्री प्रसाद अधिकारीले यो विषयमा विवाद आएपछि स्वास्थ्य मन्त्रालयको परामर्शमा के गर्ने भन्ने निर्णय गरिने बताए। उनले यसलाई अघि बढाउन उचित नभएको भन्दै तत्कालका लागि सूचना रद्ध गरेको जानकारी दिए।
'यो विषयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग आवश्यक सल्लाह लिएर अघि बढ्छौं' उनले भने, 'यसअघि यस्तो पदमा पाँचौँ तह राखिने गरेको थियो। यसपटक कम्तिमा अधिकृत तहको हुनु पर्छ भनेर हामीले छैटौँ तहमा राखेका थियौँ।'
स्नातक तहका चिकित्सकहरुको सुरुवात आठौँ तहबाट हुने तर स्नातकोत्तर तह गरेका नर्सको पद छैटौँ तह तोकिने निर्णय पक्षपातपूर्ण भयो भन्दै नर्सिङ अगुवाहरुले आपत्ति जनाएका थिए।