काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आइतबार काठमाडौँस्थित नरदेवी आयुर्वेद चिकित्सालयको आकस्मिक अनुगमन गरेका छन्।
मन्त्री यादवले विभिन्न शाखाहरू, फार्मेसी, ओपिडी, शल्यक्रिया कक्ष लगायतको निरीक्षण गर्दै त्यहाँ उपचाररत बिरामी, कुरुवा तथा कर्मचारीहरूसँग कुराकानी गरे।
अनुगमनको क्रममा, अस्पतालका कर्मचारीहरूले जनशक्ति अभावका कारण अपेक्षित सेवा प्रवाह गर्न नसकिएको गुनासो राखे। अस्पतालका कार्यकारी निर्देशक डा रामदेव यादवले दरबन्दी नथपिँदा सेवाको गुणस्तर कायम राख्न चुनौती भइरहेको बताए।
उनले भने, ‘चिकित्सालयसँग सीमित स्रोत छ। बजेटको पनि अभावका कारण सबै सेवा हामीले सोचे अनुसार दिन सकेका छैनौँ। चिकित्सकदेखि नर्सिङ स्टाफसम्मको अभाव छ। विद्युत् जाँदा जेनरेटर नहुँदा सेवा रोक्नुपर्ने अवस्था छ।’ त्यस्तै, डा यादवले आवश्यक उपकरणको समेत अभाव रहेको बताए।
छलफल पश्चात् स्वास्थ्य मन्त्री यादवले नेपालकै प्रमुख आयुर्वेदिक चिकित्सालयका रूपमा स्थापित नरदेवीलाई सबल बनाउन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे। ‘अस्पतालको सेवाको गुणस्तर सुधार गर्न के चाहिएको छ, मलाई सूची बनाएर दिनुहोस्। सम्भव भएसम्म सबै प्रकारको जनशक्ति र सामग्रीको व्यवस्थापन म गर्छु,’ मन्त्री यादवले भने।
त्यस्तै, मन्त्री यादवले अस्पतालमा रहेको एमआरआई मेसिनलाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन निर्देशन दिए। ‘कानुनी अड्चन फुकाएर छिटोभन्दा छिटो एमआरआई मेसिन सञ्चालनमा ल्याउनुहोस्। बाकी रहेको भुक्तानी मन्त्रालयले गर्छ,’ उनले भने।