नयाँ शैक्षिक सत्र शुरु भएको केही महिना मात्र भएको छ। तर, यसवर्ष पनि अघिल्लो वर्षझैं बिहान बेलुका अधिकांश स्कुलको समयमा बालबालिकाहरु बाटोमा सकी-नसकि काँधमा झोला बोकेर हिँड्दै गरेका भेटिन्छन्। कोही बस कुरिरहेका भेटिन्छन्। कसैका अभिभावकले आफैं काँधमा झोला बोकेर छोराछोरीलाई स्कुल पुर्याउन लागेको भेटिन्छन्। यसरी बालबालिकाले आफ्नो क्षमताभन्दा बढी भारी बोक्दा उनीहरुलाई समस्या देखिन्छ।
विश्व स्वास्थ्य संगठनले बालबालिकालाई आफ्ननो उमेर अनुसारको भारी बोक्नुपर्ने बताउँछ। जुन निम्नानुसार तय गरिएको छ।
- एल केजी – २.२ किलो
- यु केजी – २.४ किलो
- कक्षा १ – २.६ किलो
- कक्षा २ – ३ किलो
- कक्षा ३ – ३.४किलो
- कक्षा ४– ३.८किलो
- कक्षा ५– ४.१किलो
- कक्षा ६– ४.५किलो
- कक्षा ७ – ५ किलो
- कक्षा ८– ५.८ किलो
- कक्षा ९– ६.५किलो
- कक्षा १०– ७.३किलो
तर, नेपालको अधिकांश विद्यालयका विद्यार्थीहरुले कापि, किताब, खाजा, पानीको बोतल गरी झन्डै १० किलो भारि बोक्ने गरेको पाइएको छ। हुन त यो भारी दिनभरि बोक्ने हैन, एकछिन बस कुर्ने बेलासम्म त हो नि भन्ने सम्बन्धित निकायलाई लाग्न सक्छ।
तर दिनहुँजसो एक–एक छिन बोक्ने झोलाको भारीले बालबालिकालाई विभिन्न समस्या निम्त्याउँदैछ। यसरी कलिलो उमेरमा नै आफ्नो क्षमता भन्दा बढी भारी बोक्दा बालबालिकाको मांशपेशी तानिन्छ । त्यसपछि मेरुदण्डको हड्डीमा दबाब सुरु हुन थाल्छ। लामो समयसम्म पनि यही प्रक्रिया चलिरह्यो भने बालबालिकाहरुमा ढाड कुप्रो हुने, हड्डी बाङ्गिगने, कम्मर दुख्ने, कुम दुख्ने, जोर्नी दुख्ने समस्या देखिन्छ। यस समस्याले गर्दा कहिलेकाहिँ श्वास–प्रश्वासमा पनि कठिनाइ देखिने गरेको पाइन्छ।
यसतर्फ न त विद्यालय प्रशासनको ध्यान गएको देखिन्छ, न त सम्बन्धित निकायको नै। हाल हाम्रो क्लिनिकमा आउने बालबालिकाको परीक्षण गर्दा उनीहरुमा मानसिक समस्या पनि थपेको छ। विद्यार्थी बालबालिकाहरु आफ्नो उमेरले सक्ने भन्दा बढी वजन बोकेको कारण बालबालिकाहरुमा उमेरभन्दा होचो हुने सम्भावना हुन्छ। साथीहरु भन्दा होचो भएपछि बालबालिकाहरुमा आत्मविश्वासको कमी हुँदै जान्छ। विस्तारै यसले मानसिक समस्या पनि निम्त्याउन बेर लगाउँदैन।
बालबालिकाको ढाड दुख्ने, मांशपेशी दुख्ने, ढाड कुप्रो हुँदै जाने, कम्मरमुनीको दुखाइ बढ्दै गएमा लापरपाही गर्नुहुँदैन । समयमा नै फिजियो थेरापिस्ट डाक्टरकहाँ लगेर समस्या समाधान गर्न सकिन्छ। चिकित्सकको यस्तो समस्याहरुलाई फिजियोथेरापी, स्पाइनल म्यानुपुलेसन, काइरोप्राक्टिक विधिबाट समयमा नै उपचार गरे बिरामीलाई पूर्ण लाभ मिल्छ।
डा कापरी फिजियो थेरापिष्ट तथा कायरो प्राक्टिसनर हुन्।