पोलियो रोगको कारक पोलियो भाइरस एक प्रकारको इन्टेरो भाइरस हो। यसका ३ प्रकार हुन्छन्, वाइल्ड टाइप १, टाइप २ र टाइप ३। विश्वबाट टाइप २ सन् २०१५ मा र टाइप ३ सन् २०१९मा उन्मुलन भएको घोषणा भइसकेको छ।
सन् २०१० पछि नेपालमा पनि पोलियोको कुनै बिरामी देखापरेको छैन। सन् २०१४ मा नेपाल लगायत दक्षिण पूर्वी एसिया क्षेत्रलाइ नै पोलियोमुक्त घोषणा गरिसकिएको छ। पोलियोमुक्त अवस्था कायम राख्नका लागि यस रोगको निगरानी गरि मानव तथा वातावरणमा पोलियो भाइरस नरहेको प्रमाणित गरी रहनुपर्छ।
पोलियो भाइरस संक्रमित व्यक्तिको आन्द्रामा हुने भएकोले त्यहाँबाट दिसामा निस्किने गर्दछ र अन्य व्यक्तिमा सर्ने गर्दछ। त्यसैले नै वातावरणमा पोलियो रहेको नरहेको पत्ता लगाउन ढलमा भाइरसको परीक्षण गर्ने गरिन्छ। यही परिपेक्ष्यमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विभिन्न ठाउँबाट ढलको नमुना संकलन गरेर पोलियो भाइरसका लागि परीक्षण गरि वातावारणीय निगरानी गर्दै आएको छ।
पोलियोको वातावरणीय निगरानी काठमाडौँ उपत्यकामा सन् २०१७ देखि नै संचालित छ भने सन् २०२२ देखि सो निगरानी प्रदेश स्तरमा समेत विस्तार भै हाल काठमाडौं उपत्यकाको ५ स्थान र प्रदेश जनस्वास्थ्य प्रयोगशालाहरुको सहयोगमा कोशी, मधेस र गण्डकीको एकएक स्थानबाट ढलको नमुन संकलन गरिन्छ।
काठमाडौं उपत्यकाको गुह्येश्वरी, बागमती मनहरा संगम, बागमती धोबीखोला संगम, बागमती टुकुचा संगम तथा विष्णुमती गरी पाँच ठाउँबाट आलोपालो गरी प्रत्येक ठाउँबाट १५ दिनमा एकपटक पर्नेगरी बिहान ७ देखि ८ बजेको समयमा प्रयोगशाला प्राविधिक तथा सहयोगी कर्मचारीको टोलीले १ लिटर ढल मिसिएको पानी नमुनाको रूपमा संकलन गर्दछन्। यस पानीलाई कोल्डचेन कायम राख्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासम्म पुर्याइन्छ।
प्रदेशहरुबाट पनि महिनामा एकपटक यसरी नै नमुना संकलन गरिन्छ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासम्म पुर्याइन्छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यस नमुनालाई २४ घण्टाभित्र प्रोसेस गरि -२० डिग्रीसेन्टिग्रेडमा भण्डारण गरिन्छ र हरेक २ हप्तामा एकपटक विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा बैंकक स्थित पोलियो रिजनल रेफरेन्स प्रयोगशालामा परीक्षण गर्न पठाइन्छ। बैंककको प्रयोगशालाले कल्चर गरी नमुनामा कुनै भाइरस भए सो पत्ता लगाउँछ र त्यसपछि जीनसिक्वेन्सिङ गरी भेटिएको भाइरसको जीनमा भएको आनुवंशिक परिवर्तन हेर्दछ र नतीजा नेपाल सरकारलाई उपलब्ध गराउँदछ। पोलियो भाइरसको संवेदनशिलतालाई ध्यानमा राखी विश्वभरि नै निश्चित मापदण्ड पुर्याएका केहि सिमित प्रयोगशालाहरुले मात्र पोलियोको कल्चर गर्ने गर्दछन्।
वाइल्ड पोलियो भाइरस टाइप २ र ३ विश्वबाट उन्मुलन भैसकेको सन्दर्भमानेपालमा प्रयोग हुने पोलियो थोपामा टाइप १ र ३ भाइरसको लागि हुन्छ भने सुइबाट दिइने पोलियो खोप तीनै प्रकारको पोलियो भाइरसको लागि हुन्छ। मुखबाट खुवाइने पोलियो थोपामा जीउँदै तर कमजोर पारिएका पोलियो भाइरस हुन्छन्। यस्ता भाइरस पोलियो थोपा खाएको व्यक्तिको आन्द्रा केहि समयसम्म आफ्नो संख्या बढाउने गर्दछ र शरीरमा पोलियो विरुद्धको एन्टिबडी बनाउन मद्दत गर्दछ।
पोलियो थोपा खाएको व्यक्तिको दिशाबाट पनि भ्याक्सिनमा भएको पोलियो भाइरस निस्किने गर्दछन्। यसलाई सबिन टाइप १ र सबिन टाइप ३ भनिन्छ। यो नर्मल अवस्था हो। बिरलै अवस्थामा भ्याक्सिनबाट दिइएको कमजोर भाइरस आन्द्रामा विस्तारभै रहँदा यसको जीनमा केही परिवर्तन हुनसक्दछ।यो एकपटक फेरि बलियो भाइरसमा परिवर्तित हुनसक्दछ। यसलाई भ्याक्सिन डेराइभ्ड भाइरस भनिन्छ र यसले वाइल्ड पोलियो भाइरस जस्तै पोलियो रोगको संक्रमण गराउन सक्दछ। अहिले ढलमा पत्ता लागेको भाइरस यही भ्याक्सिन डेराइभ्ड भाइरस हो।
ढल मिसिएको नमुनामा गुणस्तर यकिन गर्न पोलियोबाहेक आन्द्राबाट निस्किने अन्य भाइरसको लागि परीक्षण हुन्छ। तत्पश्चात वाइल्ड पोलियो भाइरस १ र ३, भ्याक्सिनबाट प्राप्त हुने भाइरस बिन टाइप १,२ र ३ र भ्याक्सिन डेराइभ्ड भाइरस टाइप १,२ र ३ को लागि परीक्षण गरिन्छ।
सन् २०१७ देखि निरन्तर चलिरहेको यस वातावारणीय निगरानीमा सन् २०२४ अप्रिलसम्म वाइल्ड पोलियो भाइरस अथवा भ्याक्सिन डेराइभ्ड भाइरस पाइएको थिएन। मे २०२४ भने बागमती टुकुचा संगमबाट संकलन गरिएको नमुनामा भ्याक्सिन डेराइभ्ड भाइरस टाइप ३ पाइएको छ। भ्याक्सिनडेराइभ्ड भाइरस पाइएपश्चात निगरानीलाई थप सशक्त बनाउन थप ३ वटा स्थानहरुको पहिचान गरि हरेक हप्ता नमुना संकलन गरी परीक्षण गर्ने गरिएको छ।