क्यान्सर लाग्नासाथ जीवन नै सकियो भने बुझाई अझै पनि कतिपय नेपालीहरुको छ। सुरुवाती चरणमा पत्ता लगाएर उपचार गर्न सके यसलाई पूर्णरुपमा निको बनाउन सकिने चिकित्सकहरु बताउँछन्। क्यान्सरका ४ स्टेजमध्ये चौथों चरणमा पुग्दा भने यसको उपचार जटिल हुने तथा निको हुने सम्भावना एकदमै न्यून हुने उनीहरुको तर्क छ। नेपालमा क्यान्सरको पछिल्लो अवस्था,कम उमेरमा नै क्यान्सरको जोखिम बढ्दै जानुका कारण,त्यसको समाधान तथा क्यान्सर उपचारमा पहुँचको अवस्थाबारे काठमाडौं क्यान्सर सेन्टरका क्यान्सर रोग विशेषज्ञसँग डा आविश अधिकारीसँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानी:
क्यान्सर कस्तोे रोग हो? नेपालमा क्यान्सरको पछिल्लो अवस्था कस्तो छ?
क्यान्सर एक प्रकारको दीर्घरोग हो। जुन शरीरको जुनसुकै अंगमा पनि हुनसक्छ। शरीरका कुनै पनि अंगमा पलाएको सानो घाउ लामो समयसम्म निको नहुँदा त्यसले क्यान्सर गराउने सम्भावना हुन्छ। कुनै एक अंगको क्यान्सर अन्य अंगमा फैलिने सम्भावना पनि त्यतिकै हुन्छ। समयमा नै उपचार नहुँदा धेरै मानिसहरुको क्यान्सरका कारण ज्यान पनि जान सक्छ। अन्य मुलुकहरुमा जस्तै नेपालमा पनि क्यान्सर बढ्दो अवस्थामा रहेको छ। पछिल्लो समय क्यान्सरको पहिचान बढी हुन थालेको छ। केही वर्ष अगाडि ५० वर्ष पुग्दा पहिचान हुने क्यान्सर हाल ३० वर्षमै पनि भेटिन थालेका छन्।
नेपालमा पछिल्लो समय क्यान्सरको साथै उपचारमा आउने बिरामीहरुको संख्या समेत बढेको पाइएको छ।
कम उमेरमा नै क्यान्सर लाग्नुको कारण के हो?
क्यान्सरको जोखिम बढ्नुका धेरै कारणहरु छन्। पछिल्लो समय निष्क्रिय जीवनशैली बिताउने परिपाटी कारण कम उमेरमा नै क्यान्सर हुनेहरुको संख्या बढ्दै गएको छ। त्यस्तै खानपिनशैली तथा दूषित हावाका कारण पनि क्यान्सरको जोखिम बढ्दै गएको छ। विगतमा स्वच्छ हावापानी,जंकफुडको न्यून प्रयोग, खानामा विषादीको मात्रामा कमी हुँदा क्यान्सरको जोखिम कम थियो। अहिले जीवनशैलीमा आएको परिवर्तनका कारण क्यान्सरको जोखिम पनि बढेको छ।
नेपालमा कति मानिसहरु क्यान्सर प्रभावित होलान्?
नेपालका कति मानिसहरु क्यान्सर प्रभावित छन् भन्ने यकिन तथ्यांक छैन। यद्यपि हरेक वर्ष नयाँ १५ हजार बिरामीहरु क्यान्सरको उपचारका लागि अस्पताल आइपुग्ने गरेको तथ्यांक छ। यो उपचारका लागि अस्पताल आइपुग्ने मानिसहरुको मात्रै तथ्यांक हो। कतिपय बिरामीहरु अस्पताल नआई नै मर्न बाध्य छैन। उनीहरुको कुनै तथ्यांक छैन। नेपालको सुदुरपश्चिम प्रदेशमा क्यान्सर उपचार हुने कुनै पनि अस्पताल छैन। लुम्बिनी प्रदेशमा क्यान्सर उपचारका लागि शुशील कोइराला क्यान्सर अस्पताल खुलेपश्चात् त्यहाँका बिरामीहरुले स्थानीय स्तरमा नै क्यान्सरको उपचार पाएका छन्। त्यसकारण उपचारका लागि एक स्थानबाट अर्काेमा जान नसक्ने बिरामीहरु अझै पनि क्यान्सरको उपचारबाट वञ्चित हुनुपर्ने अवस्था छ।
क्यान्सर लागेको बिरामी स्वयंले कसरी थाहा पाउने?
शरीरमा एक साता भन्दा लामो समयसम्म कुनै लक्षण देखिएमा बिरामीले क्यान्सर भएको शंका गर्न सक्छन्। जस्तै कुनै मानिसको जिब्रो घाउ भई लामो समयसम्म पनि निको भएन भने एक पटक चिकित्सकसँगको परामर्शमा जानु राम्रो हुन्छ। त्यस्तै कसैलाई लामो समयसम्म खोकी लाग्नु, खकारमा रगत देखिनु, स्वाँ–स्वाँ हुनु जस्ता लक्षण देखिएमा पनि एक पटक चिकित्सकसँग स्वास्थ्य परीक्षण गराउनु राम्रो हुन्छ। कुनै स्वास्थ्य समस्या लामो समयसम्म देखिएमा नजिकैको स्वास्थ्य संस्थामा गएमा स्वास्थ्यकर्मीले समाधान दिन्छन्।
क्यान्सरको जोखिम कम गर्नका लागि कस्तो जीवनशैली अपनाउनुपर्ने हुन्छ?
शरीरमा कोषहरु बिग्रदाँ क्यान्सरको जोखिम बढ्छ। कतिपय अवस्थामा जन्मजात रुपमा नै कोषहरु बिग्रन सक्छन्। त्यस्तै वातावरणीय, खानपिनका कारण पनि मानव शरीरका कोषहरु बिग्रन सक्छन्। जंकफुड तथा विभिन्न रसायनहरु मिसाएका खानेकुराहरु धेरै सेवन गर्दाे कोषलाई बिग्रार्छन् र पछि गएर क्यान्सर हुने गर्छ।
काठमाडौंका मानिसहरुले पिउने धेरैे पानीको परीक्षण नै भएको छैन। त्यस्ता पानीमा आर्सनिकको मात्रा अत्याधिक हुन्छ। आर्सनिकको मात्रा बढी भएको पानी पिउनेहरुमा पित्त थैलीको क्यान्सर हुने सम्भावना धेरै रहन्छ। चुरोट, खैनी जस्ता सूर्तीजन्य पदार्थमा हाइड्रो कार्बन जस्ता शरीरका लागि हानी गर्ने रसायन हुन्छ ।सुर्तीजन्य पदार्थको सेवन गर्ने मानिसलाई पनि अन्यलाई भन्दा क्यान्सर जोखिम बढी हुन्छ। मानिसले आफ्नो बानी व्यवहार सुधार गर्दाे क्यान्सरको जोखिमलाई शुन्य बनाउन नसकेपनि घटाउन सक्छ। क्यान्सर उपचारमा आएका बिरामीलाई क्यान्सर भए नभएको पत्ता बायोप्सी गर्नुपर्ने हुन्छ।
क्यान्सर उपचारका लागि नेपालमा के कस्ता प्रविधिहरु उपलब्ध छन्?
नेपालमा क्यान्सरको सबै उपचार प्रविधि उपलब्ध छन्। क्यान्सर उपचारमा हालसम्म ४ प्रकारका उपचार विधिहरु उपलब्ध रहेकोमा सबै विधीको प्रयोग नेपालमा हुन्छन्। शल्यक्रिया,केमोथेरापी,रेडियोथेरापी,इमिनोथेरापी थेरापी जस्ता उपचार विधीहरु क्यान्सरको उपचारका लागि नेपालमा प्रयोग हुँदै आएका छन्। क्यान्सर उपचारका उपचारका सम्पूर्ण विधीहरु नेपालमा नै उपलब्ध छन्। उपचार लागि विदेश धाइराख्नु पर्ने अवस्था छैन। केही समय अगाडिसम्म रोबोटिक सर्जरी गर्नका लागि भारत लगायत अन्य देश धाउनुपर्ने अवस्था थियो। भर्खरै नेपालमा रोबोटिक सर्जरीको समेत सुरुवात भएको छ। अहिले कुनै पनि क्यान्सर उपचारका लागि विदेश धाउनुपर्ने अवस्था छैन।
क्यान्सर उपचार निम्न वर्गका मानिसहरुको पहुँचमा छ कि छैन?
सरकारले क्यान्सर रोगीहरुलाई लागि १ लाख रुपैंया बराबरको उपचार सहुलियत दिदैं आएको छ। सरकारले दिएको उक्त रकमले क्यान्सरको प्राथमिक उपचार गर्न पुग्छ । यद्यपि नेपालमा धेरै बिरामीहरु तेस्रो तथा चौथो चरणमा मात्रै उपचारका लागि अस्पताल आइपुग्ने भएकोले सरकारले दिएको उक्त सहुलियतले पुग्दैन। यदि सुरुवाती चरणमा नै क्यान्सर पत्ता लगाउन सकेमा बिरामीले उपचारका लागि घर खेत बेच्नुपर्ने अवस्था आउने थिएन। क्यान्सर उपचारमा सबैभन्दा महँगो उपचार विधीका रुपमा केमोथेरापीलाई लिने गरिन्छ। केमोथेरापीमा प्रयोग हुने कतिपय एउटै औषधिलाई पनि लाखौं रुपैंया पर्नसक्छ।
क्यान्सर लाग्नै नदिनका लागि के गर्ने?
क्यान्सर लाग्नै नदिन सम्भव नभएपनि यसको जोखिमलाई कम गर्न भने सकिन्छ। क्यान्सरको जोखिम कम गर्नका लागि सूर्तीजन्य पदार्थको सेवनबाट टाढा रहने,जंकफुडको प्रयोग कम गर्ने,पाठेघरको मुखको क्यान्सरबाट बँच्नका लागि किशोरीहरुलाई ह्युमन प्यापिलोमा भाइरसको खोप दिने तथा जीवनशैलीलाई सक्रिय बनाउने हो भने क्यान्सरको जोखिम कम गर्न सकिन्छ। क्यान्सर लाग्नेबितिकै उपचार नै सम्भव छैन भने बुझाई धेरै नेपालीहरुमा छ। कतिपय बिरामीहरुले क्यान्सर लागि सक्दा पनि सामान्य जीवन बिताइरहेका उदाहरणहरु हामीसँग छन्।