काठमाडौं– पछिल्लो समय प्रविधिमा आइरहेको विकासले हरेक क्षेत्रमा काम गर्न निकै सहज र छिटो भइरहेको छ। अझै स्वास्थ्य क्षेत्रमा प्रविधिको विकासका कारण उपचार तथा रोगको पहिचानमा धेरै नै फाइदा भइरहेको चिकित्सकहरु बताउँछन्।
प्रविधिको विकासले विगतमा घन्टौं लाग्ने उपचार र स्वास्थ्य जाँचका लागि केही सातासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य भइरहेको छ। शरीर भित्रका अंगहरुको रोग पहिचानका लागि तथा रोगकै उपचारका लागि ठूलो घाउ बनाएर शल्यक्रिया गर्नुपर्ने अवस्थाको समेत अहिले लगभग अन्त्य जस्तै भइसकेको छ।
कतिपय अवस्थामा औषधि तथा तथा प्रविधिको सहयाताले घाउ नै नबनाई तथा शल्यक्रिया नै नगरी रोगको पहिचान तथा उपचार भइरहेको छ भने विगतमा ठूलो घाउ बनाउनु पर्ने स्थानमा अहिले सानो प्वाल मात्र बनाएर पनि उपचार हुन थालेको छ।
प्रविधिमा आइरहेको विकासका कारण उपचार छिटो र सहज मात्र नभएर थप गुणस्तरीय समेत भइरहेको चिकित्सकहरु बताउँछन्। विकसित देशमा आएका नयाँनयाँ प्रविधिहरु नेपालमा छोटो समयमा नै आइपुग्ने र उपचारको क्षेत्रमा ठूलो सहयोग गरिरहेको नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्की बताउँछन्।
‘प्रविधिका कारण स्वास्थ्य उपचारका क्षेत्रमा ठूलै उपलब्धिहरु हासिल भइरहेका छन्,’ डा कार्कीले भने, ‘हरेक दिनजसो स्वास्थ्य क्षेत्रमा नयाँनयाँ प्राविधिहरु आइरहेका छन्। जसका कारण उपचारका क्षेत्रमा छिटो छरितो मात्र नभई गुणस्तरमा पनि ढुक्क हुने अवस्था भइरहेको छ।’
नेपाल स्वास्थ्य प्रविधिको प्रयोगका हिसाबले अगाडि नै रहेको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन्। अत्याधुनिक मानिएको रोबोटिक सर्जरीदेखि विश्व बजारमा भित्रिएका नयाँ प्रविधिको प्रयोगसम्म नेपाल अगाडि नै रहेको उनीहरु बताउँछन्।
नेपालमा विश्वमा उपलब्ध सबै प्रकारका उपचार प्रविधि र जनशक्ति उपलब्ध हुँदाहुँदै पनि नयाँ प्रविधि महँगो हुँदा निरन्तरतामा भने चुनौती थपिएको स्वास्थ्य क्षेत्रका जानकारहरुको चासो र चिन्ता छ।
स्वास्थ्य उपचारका क्षेत्रमा प्रयोगमा आइरहेका प्राविधिहरुमध्ये स्वास्थ्य खबरपत्रिकाले केही प्रविधिका विषयमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग कुराकानी गरेको छ। केही रोग तथा समस्याको समाधान तथा उपचारमा प्रयोग भइरहेका प्रविधिले कसरी काम गरिरहेको छ र सेवा प्रवाह कसरी भइरहेको छ भन्ने विषय यहाँ प्रस्तुत गरिएको छ।
क्याप्सुल इन्डोस्कोपीले सानो आन्द्राभरिका रोग पहिचानमा सहज
ग्यास्ट्रो उपचारमा भित्रिएका विश्वस्तरीय प्रविधिहरु जतिसक्दो चाँडो नेपालमा पनि प्रयोगमा ल्याउन सरकार प्रयासरत रहेको वीर अस्पतालमा कार्यरत प्रमुख कन्सल्टेन्ट ग्यास्ट्रो इन्टरलोजिष्ट डा मुकेश शर्मा पौडेल बताउँछन्।
अत्याधुनिक प्रविधिको प्रयोग बिना हाल ग्यास्ट्रो उपचार सम्भव नरहेको उनको तर्क छ। ‘ग्यास्ट्रो उपचारका लागि इन्डोस्कोपी अल्ट्रासाउन्ड गर्न सक्ने प्रविधिको प्रयोग अत्याधुनिक तथा नयाँ मानिन्छ,’ उनले भने, ‘हाल सरकारीस्तरको वीर अस्पतालमा उपलब्ध धेरै प्रकारका मेसिनहरुमध्ये भित्रबाट गरिने अल्ट्रासाउन्ड अत्याधुनिक प्रविधि हो।’
बाहिरबाट गरिने अल्ट्रासाउन्डले प्याङक्रियाजमा लाग्ने रोगहरुबारे धेरै जानकारी पाउन सकिँदैन। तर भित्रबाट गरिने अल्ट्रासाउन्ड प्याङक्रियाज तथा पित्तनलीका ढुंगा हेर्नका लागि सबैभन्दा बढी प्रभावकारी र उपयोगी उपचार प्रविधि भएको उनको भनाइ छ।
भित्रबाटै पेटमा मासु पलाएको स्थान फेला पार्नका लागि भित्रबाट गरिने अल्ट्रासाउन्डले उपयोगी हुने उनी बताउँछन्।
इन्डोस्कोपीक अल्ट्रासाउन्ड नै अहिलेको अत्याधुनिक ग्यास्ट्रो उपचारको अत्याधुनिक प्रविधि समेत भएको उनको दाबी छ। ‘पहिले–पहिले रोग मात्रै पत्ता लगाउन इन्डोस्कोपी र कोलोनोस्कोपी गर्ने प्रचलन थियो अहिले यी दुवैलाई उपचार विधिका रुपमा प्रयोग गरिन्छ,’ उनले भने।
बाहिर कुनै दाग नदेखिने गरी अत्याधुनिक इन्डोस्कोपी प्रविधिले उपचार गर्छ। ग्यास्ट्रो उपचारमा अझै अत्याधुनिक प्रविधिको आविष्कार र हुने उनको विश्वास छ।
त्यस्तै, सानो आन्द्राको रोगहरु पहिचान गर्नका लागि गरिने क्याप्सुल इन्डोस्कोपीलाई समेत नेपालको ग्यास्ट्रो उपचारमा प्रयोग हुने अत्याधुनिक उपचार प्रविधि मानिन्छ।
उक्त प्रविधिमा क्याप्सुल जस्तै गरी भिडियो क्यामेरा जडान गरिने तथा बिरामीले उक्त क्याप्सुल निलेपछि त्यसले शरीर भित्र समस्या भए/नभएको रेकर्ड गर्ने र केही समयपछि दिसा जस्तै गरी उक्त क्याप्सुल निस्कने हुन्छ।
शरीर भित्र रहँदा उक्त क्याप्सुलले रेकर्ड गरेको फोटोहरुलाई कम्युटरमा राखेर हेर्न सकिन्छ। यसबाट सानो आन्द्राभरिका रोगको पहिचान गर्न सकिने उनले बताए। यद्यपि, विकसित मुलुकसँग तुलना गरेर हेर्दा ग्यास्ट्रो उपचारमा नेपाल धेरै पछाडि रहेको डा पौडेल बताउँछन्।
‘ग्यास्ट्रो उपचारमा विश्वका विकसित मुलुकहरुको तुलनामा नेपाल धेरै नै पछाडि छ’ उनले भने, ‘छिमेकी मुलुक भारतसँगको तुलनामा समेत नेपाल करिब २० वर्ष पछाडि रहेको छ।’ तर पनि पछिल्लो ५ वर्षमा नयाँनयाँ प्रविधि भित्र्याउन सफल भएको उनको दाबी छ।
‘पछिल्लो समय पेट उपचारमा युवा चिकित्सकहरुको संख्या बढ्दो छ। युवा चिकित्सकहरुको जिज्ञासु तथा नयाँ प्रयोगलाई प्राथमिकता दिने स्वभावका कारण विगत दुई दशकको तुलनामा ५ वर्षमा धेरै प्रविधिहरु नेपाल भित्रिएका हुन्,’ उनले थपे।
इन्डोस्कोपी तथा ग्यास्ट्रो उपचारमा प्रयोग हुने मेसिन एकदमै महँगो हुनु तथा चर्काे भन्सार कारण पनि अत्याधुनिक प्रविधि भित्र्याउनमा नेपाल पछाडि परेको उनको तर्क छ।
युरोलोजी उपचारमा फड्को
युरोलोजीको उपचारमा विश्वस्तरीय अधिकांश प्रविधि नेपालमा नै उपलब्ध भइसकेको प्रमुख कन्सल्टेन्ट युरोसर्जन डा रबिनबहादुर बस्नेत बताउँछन्।
युरोलोजी अन्तर्गत सबैभन्दा बढी उपचार पत्थरीको हुने गर्छ र त्यसको उपचारका लागि अत्याधुनिक प्रविधिको प्रयोग भइरहेको उनले जानकारी दिए।
‘युरोलोजीले सबैभन्दा बढी दिने सेवामा पत्थरीको शल्यक्रिया हो। पत्थरी निकाल्नका लागि चाहिने औजार पछिल्लो समय अत्याधुनिक प्रयोग हुने गरेको छ,’ उनले भने, ‘करिब १० वर्ष अगाडि मात्रै पनि यस्तो सर्जरी चिरेर नै गर्नुपर्ने अवस्था थियो, हाल युरोलोजीको अधिकांश सर्जरीमा चिरेर गर्नुपर्ने अवस्था छैन।’
हाल ठूलाठूला ढुंगा निकाल्नका लागि पर्कुटेनियस नेफ्रोलिथोटोमी (पिसिएनएल) तथा मिनी पिसिएनएल जस्ता सर्जरी प्रचलनमा रहेका छन्। यस्तो सर्जरीमा ढाडमा प्वाल पारेर ठूलो पत्थरी मिर्गौलाबाट निकाल्ने गरिएको उनले बताए।
उक्त सेवा नेपालका काठमाडौं तथा काठमाडौं बाहिरका अधिकांश ठूला अस्पतालहरुमा उपलब्ध रहेको उनको भनाइ छ।
मिर्गौलाको नलीमा रहेका पत्थरी निकाल्ने युरेटोस्कोपिक लिथोट्रिप्सी (यूआरएसएल) सेवा काठमाडौंका ठूला अस्पताल तथा काठमाडौं बाहिरका धेरै अस्पतालहरुमा उपलब्ध रहेको उनी बताउँछन्।
उनका अनुसार युरोलोजी उपचारमा सबैभन्दा अत्याधुनिक प्रविधिका रुपमा रेट्रोग्रेड इन्ट्रारेनल सर्जरी (आरआईआरएस)लाई लिइन्छ। जसमा दूरबिनको माध्यमबाट घाउ तथा चोट कतै नपारी मिर्गौलाको भित्रसम्मै गएर शल्यक्रिया गरिन्छ।
इन्ट्राकोरपोरियल न्यूम्याटिक लिथोट्रिप्सी अर्थात् हावाको फोर्सले ढुंगा फुटाएर निकाल्ने प्रविधि पनि युरोलोजी उपचारमा केही अगाडि प्रचलित उपचार विधि हो। हाल लेजर प्रविधिको प्रयोग युरोलोजी उपचारमा धेरै हुने उनी बताउँछन्।
दूरबिनको सहायताले गरिने सर्जरी अर्थात् ल्याप्रोस्कोपी सर्जरी पनि युरोलोजी उपचारमा बढी प्रचलनमा रहेको उनको भनाइ छ। ठूलाठूला सर्जरी समेत प्वाल पारेर दूरबिनको सहायताले गर्ने प्रचलन अहिले रहेको उनले प्रष्ट्याए।
‘मिर्गौला तथा पिसाब थैलीको ठूलाठूला सर्जरी समेत हाल दूरबिनको सहायताले गर्न सकिन्छ,’ उनले भने, ‘यस्तो सर्जरी काठमाडौं तथा काठमाडौं बाहिरका धेरै अस्पतालहरुमा रहेको छ।’
पिसाब थैलीको तथा प्रोस्टेटको सर्जरीमा समेत ट्रान्सयुरेथ्रल सर्जरी प्रविधिको प्रयोग पनि नेपालमा भइसकेको उनले जानकारी दिए।
युरोलोजीमा मिर्गौला प्रत्यारोपण सेवा पनि पर्छ। हाल काठमाडौंका ४/५ वटा तथा काठमाडौं बाहिरका केही मेडिकल कलेजहरुमा समेत प्रत्यारोपण सेवा उपलब्ध छन्।
उनका अनुसार युरोलोजीको उपचारमा प्रचलित अर्को उपचार विधि युरेथ्रोप्लास्टी हो। कुनै कारण पिसाब थैलीमुनि रहेको पिसाब नली खुम्चिएर वा चोटपटक लागेको अवस्थामा यस्तो उपचार आवश्यक हुने उनी बताउँछन्।
‘केही वर्ष अगाडि यस्तो सर्जरीका लागि भारत वा अन्य मुलुक पठाउनुपर्ने अवस्था रहेको थियो,’ उनले भने, ‘यस्तो सर्जरी अहिले नेपालमा मै हुन्छ।’
युरोलोजीमा विकसित भएको सबैभन्दा नवीन उपचारका रुपमा रोबोटिक सर्जरी हो। रोबोटिक सर्जरी नियमित प्रयोगमा रहेको उपचार प्रविधि नभए पनि यो विकासको क्रममा नै रहेको उनले जानकारी दिए। आगामी केही वर्ष भित्रै काठमाडौं तथा काठमाडौं बाहिरका अस्पताल समेत रोबोटिक सर्जरीबाट उपचार सुरु हुने उनको विश्वास छ।
त्यस्तै पिसाब थैली, प्रोस्टेट लगायत युरेनरी ट्रयाकको क्यान्सर सर्जरीका लागि पनि विदेश धाउनुपर्ने अवस्था अन्त्य भएको उनी बताउँछन्।
नेपालमा विश्वमा उपलब्ध सबै प्रकारका उपचार प्रविधि र जनशक्ति उपलब्ध हुँदाहुँदै पनि नयाँ प्रविधि महँगो हुँदा निरन्तरतामा भने समस्या रहेको उनले गुनासो पोखे।
‘मेसिन तथा उपकरण मर्मतका लागि विदेश पठाउनुपर्ने अवस्था छ। जसले सेवा प्रवाहको निरन्तरतामा समस्या गराएको छ,’ उनले भने।
ड्रिप ब्रेन स्टुम्युलेसन प्रविधिले निको नहुने छारे रोगका बिरामी लाभान्वित
न्युरो सर्जरीका लागि आवश्यक सम्पूर्ण प्रविधि नेपालमा उपलब्ध रहेको न्युरो सर्जन प्राडा राजीव झा बताउँछन्। न्युरो सर्जरीका क्रममा साधारण सर्जरीका औजारहरुको अलावा प्रयोग हुने प्रविधिलाई अत्याधुनिक प्रविधि मान्न सकिन्छ। त्यस अन्तर्गत इन्ट्रा अपरेटिभ सिटी स्क्यान पनि पर्छ। शल्यक्रिया गर्र्दै गर्दाको अवस्थामा कति रगत तथा ट्युमर निस्कियो तथा सफा भए नभएको हेर्नका लागि उक्त सिटी स्क्यानको प्रयोग हुने गर्छ।
यसअघि बिरामीको सर्जरी सकिसकेपछि सिटी स्क्यान गरिन्थ्यो। इन्ट्रा अपरेटिभ सिटी स्क्यानको प्रयोगले उक्त अवस्थाको अन्त्य भएको उनले जानकारी दिए।
उनका अनुसार न्युरो न्याभिगेसन न्युरो सर्जरीमा प्रयोग भइरहेको अत्याधुनिक प्रविधिमा पर्छ। जसले दिमागको भित्र तथा मेरुदण्ड वा छालाभन्दा माथिबाट नै ट्युमर रहेको स्थान देखाइदिन्छ। जसका कारण कुन स्थानमा सर्जरी गर्ने भनेर चिकित्सकले अलमल हुनुपर्ने अवस्था रहँदैन।
स्टेरियोट्याक्सिक पनि न्युरो सर्जरीमा प्रयोग हुने अत्याधुनिक प्रविधिको रुपमा लिन सकिने उनी बताउँछन्। स्टेरियोट्याक्सिक प्रविधिमा टाउकोमा लगाइने एक प्रकारको फ्रेम हुन्छ, जुन कम्युटर बेस रहेको हुन्छ। ‘त्यसले मस्तिष्कको कुन ठाउँमा जाने तथा कताबाट जाने भन्ने बाटो समेत पहिल्याउन सहयोग गर्छ। जसका कारण मस्तिष्क ड्यामेज तथा प्यारालाइसिस हुने सम्भावना एकदमै न्यून हुन्छ,’ उनले भने, ‘कुन बाटोबाट जाँदा सानोभन्दा सानो मस्तिष्कमा भएका चोट, ट्युमर उक्त प्रविधिले पत्ता लगाइदिन्छ।’
नेपालमा उपलब्ध भएको न्युरो सर्जरीको सबैभन्दा अत्याधुनिक प्रविधिमा ड्रिप ब्रेन स्टुम्युलेसन प्रविधि पनि पर्छ। यसमा प्रविधिमा मस्तिष्कको प्रभावित भागमा विद्युतीय प्रतिक्रिया बढाइन्छ, जसले मान्छेको शारीरिक एवं भावनात्मक गतिविधिमा भइरहेको अवरोध हट्छ।
डिप ब्रेन स्टुम्युलेसनमा मस्तिष्कमा लगाएर मस्तिष्कको असामान्य विद्युतीय संयन्त्रलाई नियन्त्रण गरिन्छ। यसमा एउटा तार हुन्छ, त्यसलाई मस्तिष्कको प्रभावित भागमा लगाइन्छ। ब्याट्रीको माध्यमबाट त्यसमा तरंग दिइन्छ। पार्किन्सन, एसेन्सियल ट्रेमोर, एपिलेप्सी, डिस्टोनिया, छारेरोग, डिप्रेसन जस्ता रोगहरुमा यस प्रविधिले उपचार गर्छ। यो नेपालको मात्रै नभई संसारका लागि पनि नवीनतम उपचार प्रविधि रहेको उनले जानकारी दिए।
भेजल नर्भ स्टुम्युलेसन पनि न्युरो सर्जरीमा प्रयोग हुने गरेको नवीनतम उपचार प्रविधि भएको उनले जानकारी दिए। औषधि खाएर निको नहुने छारे रोगका बिरामीलाई यस प्रविधिले उपचार गरिन्छ। यस प्रविधिमा घाँटीमा एक प्रकारको तार जस्तो उपकरण राख्ने गरिन्छ। यो ब्याट्रीले कन्ट्रोल गरिने एक प्रकारको उपकरण हो।
यी बाहेक रेडियो फ्रिक्वेन्सी एभुलेसन, सर्जरीमा इन्ट्रा अपरेटिभ अल्ट्रासाउन्ड, थ्रिडी इन्डोस्कोपी लगायतका प्रविधिहरुको न्युरो उपचारका क्रममा प्रयोग हुँदै आइरहेको उनले जानकारी दिए।
उनका अनुसार नेपालमा विश्वका विकसित भनिएका मुलुकहरुले न्युरो सर्जरीमा प्रयोग गर्दै आइरहेका करिब सबै जस्तो प्रविधि प्रयोगमा छन्। पार्किन्सन्स, छारे रोग, ब्रेन ट्यूमर तथा दिमाग भित्र रगत जमेका कारण हुने गरेको स्ट्रोकको समस्यामा समेत रोबोटिक सर्जरी हुने गरेको छ। रोबोटिक सर्जरीको प्रयोगले मेडिकल एरर कम हुनु, ठूलो चोट नलगाई तथा बेहोस नबनाई शल्यक्रिया गर्न सकिने जस्ता फाइदाहरु हुन्छन्। बिरामी उपचारको क्षेत्रमा प्रयोग हुने सम्पूर्ण रोबोटहरु सेल्भ रोबोट मात्रै हुन्। सर्जरीको सम्पूर्ण जिम्मेवारी भने चिकित्सकमा नै हुने गर्छ।
प्रसूति तथा स्त्री रोगको उपचार तथा पहिचानमा ‘फोरडी’ देखि रोबोटिक सर्जरीसम्म
प्रसूति तथा स्त्रीरोग तथा समस्याहरुको उपचार तथा पहिचानमा अन्य उपचारमा जस्तै थ्रिडी, फोरडी अल्ट्रासाउन्डको प्रयोग हुँदै आइरहेको छ। जसले रोग पहिचानमा सहज बनाइदिएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा गणेश दंगाल बताउँछन्।
गर्भमा नै बच्चाको अवस्थाबारे जानकारी लिन सक्ने तथा क्यान्सर, ट्युमर कुन प्रकारको हो भन्नका लागि मार्कर हेर्ने प्रविधि पनि गाइनो उपचारमा प्रयोग हुँदै आइरहेको उनले जानकारी दिए। त्यस्तै वंशाणुगत रोग छ/छैन भनी अध्ययन गर्ने प्रविधि पनि गाइनो उपचारमा प्रयोग हुने गरेको छ।
बच्चा आमाको गर्भमा नै रहेको अवस्थामा बच्चा अंगभंग छ/छैन भनेर पत्ता लगाउने प्रविधि, (जेनेटिक टेष्ट) गाइनो उपचारमा प्रयोग हुने अत्याधुनिक प्रविधि हो।
क्यान्सर भइसकेर उपचार गरिसकेको अवस्थामा बायोप्सी गरेर कुन प्रकारको क्यान्सर हो भनेर पत्ता लगाउने इमिनोटिस्टोकेमेस्ट्री प्रविधि समेत नेपालमा उपलब्ध भइसकेको उनले जानकारी दिए।
पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने भाइरस परीक्षण पनि नेपालमा उपलब्ध रहेको छ। यो गाइनो उपचारमा नेपालमा प्रयोग भएको अत्याधुनिक प्रविधि हो।
उनका अनुसार पेटबाट प्वाल पारेर हेर्ने र उपचार गर्ने (ल्याप्रोस्कोपी) तलबाट पाठेघर हेरेर भित्रको उपचारको गर्ने (हिस्टेरोस्कोपी) यी दुवै विधि नेपालमा प्रयोग हुन थालेको उनले जानकारी दिए।
‘थ्रिडी ल्याप्रोस्कोपी सर्जरी, तथा रोबोटिक सर्जरी सबैभन्दा अत्याधुनिक प्रविधि हो,’ उनले भने, ‘गाइनो सर्जरीमा तल्लो पेटको शल्यक्रियामा रोबोटिक सर्जरी बढी प्रभावकारी हुन्छ। करिब ९९ उपचारमा रोबोटिक सर्जरीको आवश्यकता पर्दैन।’
छिमेकी मुलुक भारत तथा चीनमा प्रयोग हुँदै आएका उपचार प्रविधि हामी कहाँ भए पनि ती ठूला अस्पताल र शहर केन्द्रित रहेको उनले बताए।
प्रविधिले एनेस्थेसियामा पूरै बेहोस बनाउनुपर्ने अवस्थाको अन्त्य
आईसीयूमा अत्याधुनिक हेमोडाइनेमिक मनिटर तथा इक्मो अर्थात् एक्स्ट्राकोरपोरियल मेम्ब्रेन अक्सिनेसन प्रविधि प्रयोग हुँदै आएको एनेस्थेसिया चिकित्सक डा रुपक यादव बताउँछन्।
बिरामीको मुुटुको चाल तथा श्वासप्रश्वास सम्बन्धी जानकारी लागि हेमोडाइनेमिक मनिटरको प्रयोग गरिन्छ। शल्यक्रिया कक्षमा बीआईएफएच, हेमोडाइनेमिक मनिटर लगायतका अत्याधुनिक प्रविधिको प्रयोग हुने गरेको उनले जानकारी दिए। त्यस्तै पेन क्लिनिकमा पीआरपी तथा ओजोनथेरापी जस्ता प्रविधिहरु प्रयोगमा आउने गरेका छन्।
प्रविधिको प्रयोगले बिरामीलाई सर्जरीका क्रममा पूरै बेहोस गराउनुपर्ने अवस्थाको अन्त्य भएको उनी बताउँछन्। ‘बिरामीलाई हातको शल्यक्रिया गराउनुपरेको अवस्थामा अल्ट्रासाउन्डको माध्यमबाट नशा मात्रै हेर्ने, वरिपरि नदुख्ने औषधिको प्रयोगले बिरामीलाई होसमा राखी सर्जरी गराउन सक्ने प्रविधि एनेस्थेसियामा प्रयोग हुँदै आएको छ,’ उनले भने।
त्यस्तै ढाडमा सुईं लगाएर नाइटोभन्दा मुनि लट्याएर गर्ने प्रविधिले उपचारलाई सहज र छिटो बनाइदिएको छ, जसलाई सेन्ट्रल न्युरारेक्सियल ब्लक भनिन्छ। यो खुट्टा र हातको शल्यक्रियामा एनेस्थेसियाले प्रयोग गर्ने अत्याधुनिक प्रविधि भएको डा यादव बताउँछन्।
उक्त प्रविधिको प्रयोगले जुन खुट्टा र हातको शल्यक्रिया गर्ने हो, त्यसलाई मात्र लट्याउन सकिने उनले बताए। एनेस्थेसिया प्रविधिमा नेपाल विश्वका विकसित मुलुकको हाराहारीमा नै उनको दाबी छ।
डा अर्चना अमात्यका अनुसार केही वर्षअघिसम्म शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बेहोस बनाउन इथर ग्यासको प्रयोग गर्नुपर्ने अवस्था थियो। तर अहिले एनेस्थेसियामा धेरै नयाँ प्रविधि र सामग्रीहरु आइसकेका छन् जसका कारण बिरामीलाई लठ्याउने वा बेहोस बनाउन निकै सहज भइरहेको छ। ‘इथर ग्यासबाट उपचार गर्नुपर्ने अवस्थाबाट अहिले अत्याधुनिक प्रविधिमा आइसकेको अवस्था छ। स्वास्थ्य क्षेत्रको यो विकासले उपचार प्रक्रियामा निकै सहजता ल्याएको छ,’ उनले भनिन्।
दन्त उपचारमा छलाङ
आधुनिक डेन्टल पद्धतिमा सीबीसीटी, डेन्टल लेजर, इम्प्लान्ट, स्क्यानर, अर्थाेस्कोप लगायतका अत्याधुनिक प्रविधिहरु नेपालमा प्रयोगमा आइसकेको हिमाल डेन्टल अस्पतालका अध्यक्ष डा राजेन्द्र भट्ट बताउँछन्।
आधुनिक दन्त चिकित्सामा विभिन्न डेन्टल सर्जन, डेन्टल पारामेडिक्स, डेन्टल स्पेसिलिष्टले अत्याधुनिक प्रविधिको माध्यमबाट दन्त उपचार सेवा दिँदै आइरहेको उनले जानकारी दिए।
दन्त उपचारका प्रत्येक विभागमा सामान्यदेखि जटिल प्रकारका प्रविधिहरुको विकास भइसकेको उनको तर्क छ। हाल डिजिटल डेटिस्ट्री प्रविधिको समेत प्रयोगमा आइसकेको उनले बताए।
चिउँडो बाहिर निस्केको, च्यापु भित्रसम्म गएको उपचार अत्याधुनिक थ्रिडी प्रविधिको माध्यमबाट गरिने अवस्थामा नेपालको दन्त उपचार सेवा पुगेको उनको दाबी छ।
हिले–पहिले दाँत मिलाउनका लागि तार बाँध्ने प्रविधिको प्रयोग हुँदै आएकोमा हाल अलाइनर प्रविधिले बाहिर नदेखिने गरी उपचार गर्न सकिने प्रविधिको विकास भइसकेको पनि उनले बताए।
त्यस्तै दन्त उपचारमा भित्रिएको अर्काे अत्याधुनिक प्रविधि स्क्यानर प्रविधि पनि हो। दाँत राख्नका लागि हाल इम्प्लान्ट प्रविधि प्रयोग हुने गरेको उनले जानकारी दिए।
‘अत्याधुनिक प्रविधिको प्रयोगले बिरामीले छिटो र सहज दन्त उपचार सेवा पाएका छन्। एकै दिनमा धेरै प्रकारको समस्याको उपचार सहित घर फर्कन सक्ने अवस्था छ। अत्याधुनिक प्रविधिको प्रयोग बिना विगतमा यो सम्भव थिएन,’ उनले भने, ‘दन्त उपचारको क्षेत्रमा प्रविधिको विकासले छलाङ नै मारेको अवस्था छ।’
मुटुको उपचारमा सहज
पछिल्लो समय नेपालमा मुटु रोगको पहिचानदेखि उपचारमा अत्याधुनिक प्रकारका धेरै प्रविधिको प्रयोग भइरहेको मुटु रोग विशेषज्ञ डा अनिल भट्टराई बताउँछन्।
टुको सामान्य प्रकारका औषधि उपचारदेखि लिएर जटिल प्रकारको ओपन हार्ट सर्जरीमा समेत अत्याधुनिक प्रविधिको प्रयोग हुने गरेकोे उनले जानकारी दिए।
‘सानो चोटबाट नै गर्न सकिने ओपन हार्ट सर्जरी कार्डियाक उपचारमा नेपालमा पछिल्लो समय विकास भएको अत्याधुनिक प्रविधि हो,’ उनले भने, ‘पहिले छातीको बीच भागमा चिरेर १२ देखि १४ सेन्टिमिटरसम्म घाउ बनाएर सर्जरी गर्ने प्रचलन रहेकोमा हाल छातीको छेउतर्फको भागबाट सानो करिब ६ सेन्टिमिटर मात्रै घाउ बनाएर सर्जरी गर्ने प्रविधिको विकास भइसकेको छ।’
उनका अनुसार यस्तो प्रविधिको विकासले छातीको कुनै भागमा पनि दाग नबस्ने र हड्डीलाई चिर्नुपर्ने अवस्था पनि रहँदैन। हड्डीलाई नकाटी करङहरुको बीचबाट प्वाल बनाएर यस्तो शल्यक्रिया गरिने उनले बताए।
डा भट्टराईका अनुसार यस प्रकारको प्रविधि युरोप अमेरिका जस्ता विकसित मुलुकहरुमा पनि सुरु भएको धेरै समय भएको छैन। छिमेकी मुलुक भारतको पनि सबै अस्पतालहरुमा यस्तो सर्जरी हुँदैन। नेपालमा पनि केही अस्पतालमा मात्र हुन्छ।
बिरामी छिटो निको हुने, लामो समयसम्म आईसीयू बस्नुपर्ने बाध्यताको अन्त्य, निमोनियको सम्भावना कम हुने भएकोले यो प्रविधिको विकास बिरामीका लागि फाइदाजनक बनेको उनी बताउँछन्।
ओपन हार्ट सर्जरीमा इन्डोस्कोपी जस्तै लामो–लामो औजार तथा विशेष प्रकारको पाइपको प्रयोग हुने उनले जानकारी दिए। नियमित रुपमा गरिने कार्डियाक उपचारभन्दा ओपन हार्ट सर्जरीमा प्रयोग हुने औजार उपकरणको हिसाबले पनि फरक हुने उनी बताउँछन्।
हालसम्म नेपालमा कार्डियाक सर्जरीमा रोबोटिक प्रयोग तथा मुटुको प्रत्यारोपण भने भइनसकेको र ती सेवाको विकास पनि चाँडै गरिने डा भट्टराईको दाबी छ।
एन्जियोप्लास्टी सर्जरी नेपालमा नियमित नै भइरहेको छ। त्यस्तै जन्मजात रुपमा हुने मुटु रोगको शल्यक्रिया, वयस्कहरुमा हुने मुटु रोगको शल्यक्रिया, मुटुको भल्भ प्रत्यारोपण लगायतका सर्जरीको प्रयोगमा पनि आधुनिक प्रविधिको प्रयोग भइरहेको छ।