युरिक एसिड मानिसको रगतमा पाइने महत्वपूर्ण पदार्थ हो, जुन प्रोटिन र प्युरिन मेटोबोलिजमको बाइप्रोडक्ट हो। यो पिसाबको माध्यमबाट बाहिर निस्किरहेको हुन्छ। तर, कहिलेकाही मिर्गौलाले युरिक एसिडलाई बाहिर फ्याँक्न सक्दैन, जसका कारण यो शरीरभित्रै जम्मा हुन्छ र जोर्नीमा समस्या ल्याउँछ, जसलाई हामी युरिक एसिड बाथ भन्छौं। तर, १५ प्रतिशत समस्याचाहिँ युरिक एसिडको बढी उत्पादनले हुन्छ। धेरै प्युरिन भएको खाना खाँदा या कुनै रोगका कारण पनि शरीरमा युरिक एसिड बढ्छ।
शरीरमा युरिक एसिड उच्च हुनुलाई मेडिकल भाषामा ‘हाइपरयुरिसेमिया’ भनिन्छ, जसको मापदण्ड महिला र पुरुषमा फरक–फरक तय गरिएको छ। पुरुषमा ७ एमजी/डीएल भन्दा बढी र महिलामा ६ भन्दा बढी भयो भने युरिक एसिड बढी भएको मानिन्छ। युरिक एसिड बढी भयो भने जोर्नी, जोर्नी वरपर या तन्तुहरुमा जम्मा हुन्छ, जसले पीडा तथा दुखाइ दिन्छ।
लक्षण
खासगरी युरिक एसिड बाथका चार वटा क्लिनिकल चरण हुन्छ।
पहिलो चरण: यो चरणमा युरिक एसिड एकदम बढेको हुन्छ। तर, कुनै क्लिनिकल लक्षण या समस्या देखाउँदैन। यो चरणमा युरिक एसिड धेरै भए पनि उपचार आवश्यक हुँदैन।
दोस्रो चरण: यो चरणलाई एक्युट गाउट आर्थराइटिस भनिन्छ। यसबेला जोर्नीहरुमा एकदम पीडा हुन्छ। रातिको समयमा असह्य दुख्ने हुन्छ। यसको मुख्य लक्षण भनेको खुट्टाको बुढीऔंला एकदुम सुन्निने हुन्छ। यस्तै, जोर्नी, घुँडा तथा हातको जोर्नीमा एकदम पीडा हुने हुन्छ।
यसलाई बढाउने विभिन्न कारण छन्। रातोमासु खाँदा, रक्सी–बियर धेरै खाँदा, शरीरमा पानीको मात्रा कम हुँदा, लामो समय भोको बस्दा, अपरेशनपछिको तनावजस्ता कारण एक्युट अट्याक हुन्छ।
तेस्रो चरण: यो चरणमा दुखाइ हुँदैन। पहिलो चरणको युरिक एसिड भए पनि त्यसपछि कहिल्यै नहुन पनि सक्छ या हप्ता, महिला या वर्षौंपछि हुन सक्छ।
चौथो चरण: यो अन्तिम चरण हो, जसलाई क्रोनिक टोफासिस गाउट भनिन्छ। यो लामो समयदेखि अनियन्त्रित हाइपरयुरिसेमिया भएको मानिसमा देखिन्छ। यो अवस्थामा शरीरका विभिन्न भागमा टोफाइ (गाँठागुँठी) विकसित हुन्छ। युरेक्रिस्टलहरु शरीरका विभिन्न भागमा जम्मा भएर जोर्नी, सतह र कानका तन्तुहरुमा विकसित भएको पाइन्छ।
युरिक एसिड बाथले गर्ने असर
युरिक एसिड बाथले शरीरको मिर्गोलालाई विभिन्न तरिकाले असर गर्छ। मिर्गौलाको विभिन्न स्थानमा जम्मा भएर मिर्गौलामा क्रिस्टल जम्मा भएर नेफ्रोप्याथी गराउन सक्छ। अर्को असर गर्ने भनेको युरिक एसिड स्टोन हो। यस्तै, दुखाइका बेला धेरै पेनकिलर खाने बानी भएकाहरुलाई त्यसको साइडइफेक्टले पनि अप्रत्यक्ष रुपमा मिर्गौलालाई असर पुर्याइरहेको हुन्छ।
कस्ता मानिसलाई युरिक एसिड बाथको जोखिम हुन्छ?
मानिसमा किशोरावस्थाभन्दा अगाडि (प्रि–प्युबर्टल स्टेज) युरिक एसिड ३.५ एमजी/डीएल हुनुपर्छ। वयस्क उमेरमा पुग्दा पुरुषमा युरिक एसिडको लेभलमा तीव्र वृद्धि हुन्छ। यस्तै, महिलामा महिनावारी रोकिएपछि युरिक एसिड एकदम बढ्ने हुन्छ, बाथ रोग प्रायः पुरुषमा बढी हुन्छ। ४० वर्षभन्दा बढी उमेरका, मोटोपना भएका, हाइपरटेन्सन भएका, मिर्गौलाका रोग भएका, मदिरा सेवन गर्ने तथा उच्च प्युरिन डाइट गर्नेहरुमा बाथ रोगको जोखिम बढी हुन्छ।
अर्को भनेको क्यान्सर तथा रगतका बिरामीहरु र छालाको सोरियासिस भएकाहरुमा बाथ रोग हुने सम्भावना हुन्छ भने कम डोजका एस्पिरिन तथा पिसाब लगाउने औषधि खानेहरु पनि बाथ रोगको जोखिममा हुन्छन्।
रोकथाम के ?
बाथ रोग निम्तन नदिने महत्वपूर्ण कुरा त स्वस्थ जीवनशैली अपनाउनु हो भने खानपानको पनि भूमिका हुन्छ। मोटो छ भने तौल नियन्त्रण गर्ने, स्वस्थ खाना खाने, नियमित अभ्यास गर्ने, धूमपान नगर्ने, मदिरा सेवन नगर्ने तथा प्रशस्त पानी पिउने गर्नाले बाथ रोगबाट बँच्न सकिन्छ।
खानपानको कुरा गर्दा दुखाइका बेला रक्सी, बियर वाइन, अंगहरुको मासु (फोक्सो, कलेजो, फियो) खानुहुन्न भने रातोमासु पनि सीमित गर्नुपर्छ। यस्तै, चिनी बढी भएका पेय पदार्थहरु जस्तो, कोक, फ्यान्टा, स्प्राइट, रियल जुस खानुहुन्नछ।
तर, जोर्नी दुख्यो, युरिक एसिड बाथ भयो भने गेडागुडी, दही, तामा खानै हुन्न भनिन्छ। तर, त्यसो होइन, सीमित मात्रामा यस्ता चिज खान सकिन्छ।
उपचार विधि
युरिक एसिड बाथको उपचारलाई एक्युट दुखाइ कम गर्ने र दीर्घकालीन उच्च युरिक एसिड नियन्त्रण गर्ने गरी दुई भागमा विभाजन गर्न सकिन्छ।
सहनै नसक्ने गरी दुख्ने, सुन्निने छ भने दुखाइ कम गर्ने औषधि लिएर, आइसप्याक लगाएर कम गर्न सकिन्छ। पेन किलरहरु लिन नमिल्ने अवस्था छ भने छोटो अवधिका स्टेरोइड दिएर दुखाइ कम गर्न सकिन्छ। तर यो समाधान होइन, हाइपरयुरिसेमियाको दीर्घकालीन व्यवस्थापन महत्वपूर्ण हो। हामीले युरिक एसिड कम गराउने औषधि दिने गर्छौं, जुन विभिन्न प्रकारमा उपलब्ध छ।
कुन बेला औषधि सुरु गर्ने ?
युरिक एसिड बाथ हुनेबित्तिकै औषधि खाइहाल्ने भन्ने हुँदैन। सहनै नसक्ने पीडा वर्षको ३ पटकभन्दा बढी भयो भने, शरीरका विभिन्न भागमा टोफाइ (गाँठागुँठी आउने) हुने र किड्नीमा पत्थरी छ भने र मिर्गौलाका दीर्घकालीन बिरामी भएको अवस्था छ भने औषधि सुरु गरिन्छ।
औषधि सुरु गर्नुको उद्धेश्य सेरम युरिक एसिडको लेभल घट्नुपर्छ भन्ने हो, जुन ७ एमडी/डीएल भन्दा कम हुनुपर्छ। यस्तै, टोफाइ अर्थात् विकास भएको गाँठागुँठी घट्नुपर्छ र बारम्बारको दुखाइ कम हुनुपर्छ। त्यसका लागि हरेक ३ देखि ६ महिना रगत परीक्षणमार्फत् नियमित अनुगमन गर्नुपर्छ।
(डा श्रेष्ठ नर्भिक इन्टरनेशनल हस्पिटलकी कन्सल्टेन्ट र्युमटोलोजिस्ट हुन्)