आज माघ १ अर्थात् माघे संक्रान्ति। माघे संक्रान्तिको सबैमा शुभकामना। विशेष रुपमा आजको दिनलाई घ्यु, चाकु, तरुल खाने दिनको रुपमा मनाउँदै आइएको छ। आजको दिनमा एक टुक्रा भए पनि चाकु र तरुल चाख्नै पर्ने परम्परालाई आजको एक्काइसौं शताब्दीसम्म पनि हामीले जगेर्ना गरिरहेका छौं।
उत्तरायण अर्थात शुर्यको उत्तर दिशामा गमन पनि आजको दिन बाट हुने गर्दछ। आजको दिनलाई ऋतु विभाजनका हिसाबले हेर्ने हो भने आज बाट शिशिर ऋतुको शुरुवात हुन्छ। आयुर्वेदमा वर्णन गरिएको ऋतुहरूमा पालना गर्नुपर्ने आहार र कर्महरूको नियम हरुलाई ऋतुचर्या भनिन्छ। आयुर्वेदका ग्रन्थहरू करिब दुई हजार वर्ष अघि लेखिएको भनिएता पनि पचासौं हजार वर्ष अघिका मानव सभ्यता विकाशक्रममा मानवले आफ्नो स्वास्थ्य सम्वर्द्धन प्रवर्द्धन र उपचारका लागि खोज अन्वेषण गरेर पत्ता लगाएका तथ्य र उपायहरुको संग्रह एवं दस्तावेज हो।
ऋतुचर्यामा उल्लेख्य नियमहरु आजको समयमा पनि उत्तिकै लाभदायक र वैज्ञानिक छन्। मुख्यतः हेमन्त र शिशिर ऋतुमा मानवको बल र अग्नि अधिक हुने गर्दछ। हामीले आहारको मात्रा र प्रकार अग्निको मागलाई मध्यनजर गरेर मात्रै निक्र्योल गर्नु पर्छ। सबै महिना वा ऋतुमा एकै मात्रा र एकै प्रकारको आहार सेवन गर्नु फाइदाजनक मानिँदैन। अग्निको बल अधिक हुँदा हामीले स्निग्ध गुरु आहार सेवन गर्नु पर्दछ। अग्नि बल अधिक हुँदा थोरै मात्रामा आहार खाने वा खाना नखाई बस्नु उचित मानिँदैन।
गुरु स्निग्ध आहारलाई सामान्य रुपमा बुझ्ने हो भने अधिक क्यालोरी युक्त आहार भनेर बुझ्न सकिन्छ। कार्बोहाइड्रेट र फ्याट हामीलाई क्यालोरी अर्थात् शक्ति प्रदान गर्ने पोषक तत्व हुन्। हामीले सामान्यरुपमै खाइरहने फ्याट र कार्बोहाइड्रेटका स्रोतहरु भन्दा चाकु, तरुल, घ्यु, सखरखण्डहरु अझ अधिक मात्रामा कार्बोहाइड्रेट र फ्याट पाईने खानाहरू हुन्। अग्निको माग अधिक हुने समयमा अग्निको माग पूर्तिका लागि खाइने आहारहरू सेवन गर्दा अग्नि जन्य विकार हुन पाऊँदैन। शरिरमा बल संचय हुन्छ। शरिरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ।
शिशिर ऋतुको सुरुवातमा र हेमन्त ऋतुको अन्तमा खाइने अझ हामीले चाख्नै पर्ने भनिएका चाकु, तरुल, घ्यु, सखरखण्ड जस्ता आहारहरू हामीकहाँ उपलब्ध सुपर फुड हुन्। यिनीहरुको मौसम अनुसारको ऋतु अनुसारको उपयोग गर्न सकेको अवस्थामा हाम्रो स्वास्थ प्रवर्द्धन हुनुका साथै विभिन्न आहारजन्य रोगहरु बाट पनि बच्न सकिन्छ।
-(डा लामिछाने आयुर्वेद चिकित्सक हुन्)