शरीरका कोशिकाहरु अनियन्त्रित र असामान्य रुपमा विभाजन भएर अन्य अंगलाई असर गर्ने प्रक्रियालाई क्यान्सर भनिन्छ । जस्तै, फोक्सोमा भएका कोशिका विभाजन भएर कलेजो, टाउको अथवा पेटतिर सर्न सक्छन्, जसलाई हामी फोक्सोको क्यान्सर भन्छौं । यो रोग शरीरका जुनसुकै अंगमा लाग्न सक्छ ।
के कारणले कोशिका विभाजन हुन्छ?
हाम्रा वरिपरि क्यान्सर गराउने धेरै तत्व हुन्छन् । वातावरण या खानपिनमा क्यान्सर गराउने तत्वलाई ‘कार्सिनोजिन’ भनिन्छ । कहिलेकाहीँ दिउँसोको घाममा धेरैबेर बस्यो भने विकिरणका कारण क्यान्सर उत्पन्न हुन सक्छ । वातावरण या समाजमा जति पनि क्यान्सर गराउने तत्व कार्सिनोजिन हुन्छन्, ती हाम्रो शरीरमा प्रवेश गर्छन् र तिनले डीएनएमा विभाजन ल्याउँछन्, जसका कारण शरीरको नियमित प्रक्रियामै अवरोध आउँछ । जस्तो, जिब्रोमा कार्सिनोजिनले असर गर्यो भने जिब्रोका कोशिका अनियन्त्रित रुपमा विभाजन हुन्छन्, जसलाई हामी जिब्रोको क्यान्सर भन्छौं ।
कार्सिनोजिनले फोक्सोमा असर ग¥यो भने फोक्सोको क्यान्सर, महिलाको स्तनमा असर भयो भने स्तनको क्यान्सर भनिन्छ । अंगअनुसारको नाम फरक–फरक दिइन्छ । तर, जब कार्सिनोजिन शरीरमा सक्रिय हुन थाल्छ, त्यसले डीएनएमा स्थायी रुपमै परिवर्तन ल्याइदिन्छ ।
के यो सरुवा रोग हो?
यो सरुवा होइन, तर वंशाणुगत हुन सक्छ । बुबा अथवा आमा कसैलाई क्यान्सर भएको छ भने छोराछोरी या नातिनातिनीमध्ये कसैलाई क्यान्सर रोग लाग्ने सम्भावना हुन्छ । आमालाई स्तन क्यान्सर भएको छ भने छोरालाई स्तन क्यान्सर, प्रोस्टेट या प्यांक्रियाटिक क्यान्सर हुने सम्भावना हुन्छ । छोरीलाई भने स्तन, डिम्बासय या प्यांक्रियाटिक हुने सम्भावना हुन्छ । सानै उमेरमा अर्थात् १५ देखि ३० वर्षको उमेरमा पेटको या ठूलो आन्द्राको क्यान्सर भयो भने वंशाणुगत हुन सक्छ । तर, बाबुआमालाई क्यान्सर भयो भन्दैमा छोराछोरीलाई पनि पक्का क्यान्सर हुन्छ भनेर भन्न सकिन्न । तर , अरुभन्दा बढ़ी जोखिमचाहिँ बन्न सक्छ । यदि जिन पोजेटिभ आयो भने जीवनको कुनै समयमा स्तन तथा डिम्बासयको क्यान्सर हुने सम्भावना ५ देखि १० प्रतिशत र ९० प्रतिशतसम्म हुन सक्छ ।
तर, त्यसबाहेक सँगै खाना खाँदा, हिँडडुल गर्दा, सँगै बस्दा क्यान्सर रोग सर्दैन ।
पाठेघरको मुखको क्यान्सरचाहिँ ह्युमन पापिलोमा भाइरसका कारण हुन्छ । यो भाइरस असुरक्षित यौनसम्पर्क गर्दा सर्छ, जसले पछि डीएनएलाई परिवर्तन गरेर पाठेघरको मुखको क्यान्सर गराउँछ । त्यसबाहेक हेपाटाइटिस बी या सी भाइरसको संक्रमणले पनि पछि गएर कलेजोको क्यान्सर गराउँछन् ।
निको हुन कति समय लाग्छ ?
विश्वमा अहिले २ सय प्रकारका क्यान्सर देखिएका छन् । निको हुन लाग्ने समय क्यान्सरको प्रकार र यसको स्टेजमा भर पर्छ । यदि स्टेज वान, टु, थ्रीमा छ भने क्यान्सर ९० प्रतिशतसम्म निको हुन सक्छ । तर, स्टेज फोरमा गइसकेको अवस्थामा निर्मुल होइन, नियन्त्रण गर्न सकिन्छ, मधुमेह, थाइराइड जस्तै । यदि हामीले क्यान्सरलाई समयमै पहिचान या उपचार ग¥यौं भने यो रोग सुगर, प्रेसरभन्दा पनि सामान्य रोग हो यो । तर, अन्य अंगमा फैलिइसकेको अवस्थामा भने यो डरलाग्दो रोग हो ।
के लक्षण देखिन्छन् क्यान्सरका ?
क्यान्सरका बिरामीमा कुन अंगमा रोग लागेको छ, त्यसअनुसारको लक्षण देखिन्छ । उदाहरणका लागि महिलामा सबैभन्दा बढी हुने क्यान्सर हो, स्तन क्यान्सर । यो क्यान्सर हुनुअघि स्तनमा गिर्खा देखिन सक्छन् । या, स्तनमा सेतो पानी बग्ने, रगत बग्ने, सानो घाउ हुने डिम्पल पर्ने, स्तनको आकारप्रकारमा परिवर्तन हुने, सन्तलाको बोक्राजस्तो देखिने हुन सक्छ । यस्ता लक्षण देखिए स्तन क्यान्सर भएको हो कि भनेर पहिचान गर्न जरुरी छ ।
फोक्सोको क्यान्सर हुँदा खोकी लाग्ने, स्वर भास्सिने, खकारमा रगत देखिने तथा नचाहँदा नचाहँदै पनि तौल घट्ने हुन सक्छ ।
यस्तै, पेटको क्यान्सरमा चाहिँ थोरै खाए पनि अघाउने, पेटभरि खान नसकिने, दिसामा रगत जाने, कहिले कब्जियत कहिले पातलो दिसा आइराख्ने, उपचार गर्दा पनि निको नहुने, तौल घट्नेजस्ता लक्षण देखिन सक्छन् । पेट, ठूलो आन्द्रा तथा सानो आन्द्राको क्यान्सर हुन सक्छ ।
खानपान तथा व्यायामको भूमिका
क्यान्सरमात्र होइन, सुगर, प्रेसर, थाइराइडजस्ता जनि पनि रोग छन्, ती सबै जीवनशैलीसँग सम्बन्धित छन् ।
सबैभन्दा राम्रो खाना भनेकै नेपाली खाना दालभात, तरकारी, अचार हो । यो नखाएर हामी जंकफुड, फास्टफुड, सडेगलेका तथा बासी खानेकुरा खान्छौं, जुन स्वास्थ्यका लागि राम्रो होइन । अर्कोतिर क्यान्सर गराउने मुख्य कारक तत्व भनेकै धूमपान र मद्यपान हुन् । कुनै पनि खालको धूमपान, स्वास्थ्यका लागि हानीकारक छन् ।
अर्को कारक हो मोटोपना । पहिले प्रशस्त शारीरिक अभ्यास हुन्थे, जुन अहिले छैन । हामी अहिले शारीरिक अभ्यासभन्दा खानपिनमा ध्यान दिन थालेका छौं । काम गर्न अल्छी मान्छौं । पहिला कतै जाँदा हिडेरै गइन्थ्यो, अहिले नजिकै जान पनि गाडी चाहिन थालेको छ । स्वस्थ हुन दिनमा कम्तीमा आधादेखि एक घण्टा शारीरिक अभ्यासका लागि छुट्याउनुपर्छ तर, शारीरिक अभ्यासका लागि रंगशाला नै जानुपर्छ भन्ने छैन । जहाँ, जे उपलब्ध छ, त्यसैअनुसार गर्न सकिन्छ । घरमै टीभी हेरेर योगा गर्न सकिन्छ, भ¥याङको तल–माथि गर्न सकन्छि । तर, जे अभ्यास गर्दा पनि पसिनाचाहिँ निकाल्नुपर्छ ।
अर्को महत्वपूर्ण कुरा आराम हो । जति दौडधूप र जति व्यस्त भए पनि २४ घण्टामा ६ देखि ८ घण्टा सुत्न जरुरी छ । खानपिन, शारीरिक अभ्यास र आराम, यी तीन कुरालाई सन्तुलित बनाउन सक्यौं भने क्यान्सरमात्रै होइन, डाइबेटिज, थाइराराइड तथा उच्च रक्तचापबाट जस्ता रोगबाट जोगिन सक्छौं ।
त्यसैले क्यान्सर लाग्यो भन्दैमा डराउनुपर्ने, आत्तिनुपर्ने अवस्था अहिले छैन । पहिलाजस्तो क्यान्सरको उपचार गर्दा घरखेतै जाने अवस्था पनि छैन । क्यान्सरको हामीले स्वदेशमै उपचार गरिरहेका छौं । त्यो सँगै, क्यान्सरको समयमै पहिचान र उपचार ग¥यौं भने निको हुन्छ ।
त्यसैले अब हाम्रो फोकस भनेको रोकथाम र पहिचानमा हुनुपर्छ । उपचार त हामी गरी नै रहेका छौं ।
विश्वमा क्यान्सरको अवस्था
क्यान्सर विश्वमा मृत्युको दोसरो कारण मानिन्छ, जुन बर्सेनि बढिरहेको छ । विश्व स्वास्थ्य संगठन–डब्लूएचओका अनुसार सन् २०१८ मा विश्वमा क्यान्सरका कारण ९६ लाख मानिसको मृत्यु भएकोमा सन् २०२२ मा बढेर १ करोड पुगेको छ । अर्थात् क्यान्सरका कारण ६ जनामा १ जनाको मृत्यु हुने गरेको छ ।
सन् २०२२ मा स्तन क्यान्सरबाट विश्वभर ६ लाख ७० हजार जनाको मृत्यु भएको थियो । यो क्यान्सर विश्वका हरेक देशमा देखिने गरेको छ भने स्तन क्यान्सरका १ प्रतिशत बिरामी पुरुष हुने गरेका छन् । यस्तै, पाठेघरको क्यान्सर विश्वमै धेरै हुने क्यान्सरको सूचीमा चौथो नम्बरमा पर्छ । सन् २०२२ मा विश्वभर ६ लाख ६० हजारमा पाठेघरको क्यान्सर पहिचान भएको थियो भने ३ लाख ५० हजार जनाको मृत्यु भएको थियो । पाठेघरको क्यान्सरका कारण बढी मृत्यु न्युन तथा मध्यमआय भएका मुलुकमा हुने गरेको छ । यसका साथै हरेक वर्ष १९ वर्षसम्मका करिब ४ लाख बालबालिकामा पनि क्यान्सर देखिने गरेको छ । बालबालिकाहरुमा विशेषगरी,ल्यूकेमिया, ब्रेन क्यान्सर, लिम्फोमा, न्यूरोब्लास्टोमा बढी देखिने गरेका छन् । तर, बालबालिकामा क्यान्सर परीक्षणका माध्यमबाट पहिचान गर्न सकिन्छ ।
(डा शाही नर्भिक इन्टरनेशनल अस्पतालका कन्सल्ट्यान्ट अंकोलोजिस्ट हुनुहुन्छ)