केही दिन अघि इन्द्रायणी नगर अस्पतालमा सामान्य भाइरल ज्वरोको समस्या भएकी ६ वर्षीया बालिकालाई उनका अभिभावकले ल्याए। अस्पताल आउनुअघि पनि उनका अभिभावकहरूले नजिकैको फार्मेसीबाट डाक्टरको सल्लाहबिना नै विभिन्न एन्टिबायोटिक औषधिहरू प्रयोग गरिसक्नुभएको रहेछ। उक्त फार्मेसीले ती बालिकालाई एजिथ्रोमाइसिन, एमोक्सिसिलिन–क्लाभुलानेट र सेफिक्सिम जस्ता तीनवटा एन्टिबायोटिक सिफारिस गरेको थियो। जुन भाइरल संक्रमणमा पूर्ण रूपमा अनावश्यक थियो।
यी औषधिहरू प्रयोग गरेपछि बालिकाको पेट फुल्ने, पखाला लाग्ने र शरीर निकै कमजोर हुने लक्षण देखा परेको देखियो। पखाला र ज्वरो झन् बढ्दै गएपछि ती बालिकालाई अभिभावकले बल्ल अस्पताल ल्याएका थिए।
हामीले ती बालिकाको स्वास्थ्य जाँच गर्दा थाहा भयो कि उनी एन्टिबायोटिकको साइड इफेक्टका कारण गम्भीर डिहाइड्रेसन (निर्जलीकरण) को जोखिममा पुगेकी थिइन्। यदि सुरुवातमै डाक्टरको सल्लाह लिएर ज्वरोको सही उपचार गरिएको भए उनको स्वास्थ्य यति बिग्रने थिएन।
हाल मौसम परिवर्तनसँगै बालबालिकामा भाइरल ज्वरोका घटना बढ्दै गएको छ। विशेषगरी जाडो सकिएर गर्मी मौसम सुरु हुने संक्रमणकालिन समयमा भाइरल संक्रमणको जोखिम उच्च हुन्छ। इन्द्रायणी नगर अस्पतालमा पनि पछिल्लो समय भाइरल ज्वरोका बिरामीहरू उल्लेख्य रूपमा बढेका छन्। बालबालिकामा भाइरल ज्वरोको लक्षण, उपचार र यससँग सम्बन्धित महत्वपूर्ण सावधानीका लागि अभिभावक सचेत हुन आवश्यक छ।
भाइरल ज्वरो के हो?
भाइरल ज्वरो विभिन्न प्रकारका भाइरसहरूले हुने संक्रमण हो, जसले शरीरको प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ। बच्चाहरूको रोग प्रतिरोधात्मक शक्ति कमजोर हुने भएकाले उनीहरूमा भाइरल संक्रमणको जोखिम बढी हुन्छ।
बालबालिकामा भाइरल ज्वरोको लक्षणहरू
–उच्च ज्वरो अर्थात १०२ फेरनहाइट भन्दा बढी हुन सक्छ।
–टाउको दुख्ने।
–घाटी दुख्ने वा खसखस हुने।
–खोकी, नाक बग्ने।
–कमजोरी महसुस हुने।
–झाडापखाला लाग्ने वा पेट दुख्ने।
किन डाक्टरको सल्लाह बिना एन्टिबायोटिक लिनु हुँदैन?
–भाइरल ज्वरोमा एन्टिबायोटिक आवश्यक हुँदैन
–एन्टिबायोटिक ब्याक्टेरियाबाट हुने संक्रमणका लागि मात्र प्रभावकारी हुन्छ। भाइरसले हुने ज्वरोमा यी औषधिहरूले कुनै असर गर्दैनन्।
–अनावश्यक औषधि सेवनले स्वास्थ्य जोखिम बढाउँछ।
–बिना आवश्यकताको एन्टिबायोटिक प्रयोग गर्दा बच्चाहरूमा पखाला, छाला एलर्जी पेट दुख्ने, खान मन नलाग्ने, कलेजो वा मिर्गौलामा असर पर्ने जस्ता गम्भीर समस्या देखिन सक्छ।
–एन्टिबायोटिक प्रतिरोधको खतरा रहन्छ।
–अनावश्यक रूपमा एन्टिबायोटिक सेवन गरिरहँदा शरीरमा रहेका ब्याक्टेरिया ती औषधिहरूसँग लड्न सक्ने गरी बलियो बन्छन्। यसले गर्दा भविष्यमा कुनै गम्भीर संक्रमण हुँदा त्यही एन्टिबायोटिक असर नगर्ने स्थिति आउन सक्छ, जसले उपचार झन् जटिल बनाउँछ।
–समस्या झन् गम्भीर हुन सक्छ।
–यदि भाइरल ज्वरोमा गलत औषधि प्रयोग गरियो भने बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ, जसले गर्दा अन्य जटिल संक्रमणको जोखिम बढ्छ।
हाम्रो अस्पतालमा आउने धेरै बालबालिकाहरू फार्मेसीबाट गलत औषधि लिएर झन् बिरामी भएपछि आइपुग्ने गरेका भेटिएका छन्। यस किसिमको लापरवाही रोक्न, स्वास्थ्यका नियमनकारी निकायहरूले डाक्टरको प्रेस्क्रिप्सन बिना एन्टिबायोटिक बेच्ने फार्मेसीहरूलाई कानुनी कारबाही गर्नुपर्छ। भाइरल ज्वरो सामान्य संक्रमण हो तर गलत औषधि प्रयोगले समस्या जटिल बनाउन सक्छ।
भाइरल ज्वरोको समयमा अभिभावकले कस्ता कुरामा ध्यान दिने?
– बालबालिकालाई पर्याप्त आराम दिनुहोस्।
–मनतातो झोलिलो पदार्थ (झोल, सुप, कागती पानी) प्रशस्त खान दिनुहोस्
–शरीरको तापक्रम नियन्त्रण गर्न स्पन्जिङ गर्नुहोस्।
–सजिलै पच्ने खाना खान दिनुहोस्।
–अभिभावकहरूले चिकित्सकको सल्लाह बिना औषधि नदिनुहोस्।
–उचित खानपान र सरसफाइमा ध्यान दिनुहोस्।
– आवश्यक परेमा स्वास्थ्य केन्द्रमा वा चिकित्सकसँग सम्पर्क गर्नुहोस्।
(एमडीजीपी डा पौडेल काठमाडौंको शंखरापुर नगरपालिकामा रहेको इन्द्रायणी नगर अस्पतालमा कार्यरत छन्। )