चिकित्सा विज्ञान, पोषण, सरसफाई, अनुवांशिक एवं वातावरणीय पक्ष र जीवनशैलीमा आएको परिवर्तनले मानिसको आयु (लाइफस्पान) पछिल्लो एक शताब्दीमा करिब दोब्बर भएको छ। तर रोग एवं औषधिरहित उत्पादनशील आयु (हेल्थस्थापन) भने सोअनुसार बढेको छैन् । केही दशक अघिसम्म बुढ्यौलीका रोगका रुपमा चिनिएका उच्च रक्तचाप एवं मुटुरोग, मधुमेह, क्यान्सर आदि रोगहरु हिजोआज युवावस्थामै सामान्य भइसकेको छ ।
सन २०१९ को तथ्याङ्क अनुसार नेपालमा ७१ प्रतिशत मानिसको नसर्ने रोगबाट अल्पायुमा मृत्यु भयो, जसमध्ये ३० प्रतिशतको मुटुजन्य रोगबाट, १० प्रतिशतको दीर्घ श्वासप्रश्वासको रोगबाट, ९ प्रतिशतको क्यान्सरबाट, ४ प्रतिशतको मधुमेहबाट र १३ प्रतिशतको अन्य नसर्ने रोगबाट मृत्यु भएको देखिन्छ। यी नसर्ने रोगहरु जीवनशैलीजन्य मेटाबोलिक समस्या हुन्।
जुन स्वास्थ्य प्रतिकुल आहार, विहार, विचार र आचारको कारणले लाग्दछ। सन् २०१८ मा सम्पन्न संयुक्त राष्टसंघको तेस्रो उच्च बैठकले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणको लागि फाइभ वाइ फाइभ मोडेलअघि सारेको छ। पाँच जोखिम तत्वहरु एवं कारणहरु (धुम्रपान सेवन, शरिरलाई हानि गर्ने गरि मध्यपान सेवन, शारिरिक निष्क्रियता, अस्वस्थकर खानपान र वायु प्रदुषण)ले पाँच नसर्ने रोग (मुटु तथा रक्तनलीजन्य रोग, दीर्घ श्वासप्रश्वास रोग, मधुमेह, क्यान्सर र मानसिक रोग) निम्त्याउँछ। यी कारणहरुले कोषीय एवं मोलिकुलर लेभलमा अक्सिडेटिभ स्ट्रेस, क्रोनिक इन्फ्लामेसन, इन्सुलिन रेसिस्ट्यान्स, डिस्बायोसिस, माइटोक्रोन्ड्रियल डिस्फङ्सन, ग्लाइकेसन, इपिजेनेटिक परिवर्तन, मेम्ब्रेन इनस्टाबिलिटी गराउँछ। जसबाट उपर्युक्त लगायतका अन्य नसर्ने रोग लाग्दछ। यी विकारहरुमध्ये अक्सिडेटिभ स्ट्रेस नसर्ने रोगको मुख्य जरो हो।
शरीरमा चयपचय एवं जैविक क्रिया प्रतिक्रिया (मेटाबोलिज्म) हुने क्रममा हानिकारक रसायनहरुको उत्पादन हुन्छ, जसलाई फ्रि रेडिकल भनिन्छ। फ्रि रेडिकल बारेमा अध्ययन/अनुसन्धान हुन थालेको करिब पाँच दशक मात्र भएको छ। पछिल्लो दुई दशकमा भएका अध्ययन अनुसन्धानहरुले फ्रि रेडिकललाई नसर्ने रोगको जरोकिलोको रुपमा स्थापित गरेका छन्। शरीरमा मेटाबोलिज्मको क्रममा अक्सिजन र नाइट्रोजन फ्रि रेडिकलहरु निस्कन्छन्। यिनीहरुलाई सामान्यतया शरिरमै विद्यमान एन्टिअक्सिडेन्ट डिफेन्स प्रणालीले निष्क्रिय गर्दछ। एन्टिअक्सिडेन्टहरुलाई इन्जाइमेटिक र नन्इन्जाइमेटिक गरी दुई प्रकारमा विभाजन गरिएको छ। भिटामिन ए, सी, डी, मेलाटोनिन, ग्लुटाथियोन आदि नन् इन्जाइमेटिक डिफेन्स हुन भने काटालेज, सुपरअक्साइड डिसम्युटेज, ग्लुटाथियोन पेरोअक्सिडेज आदि इन्जाइमेटिक डिफेन्स हुन्। फ्रि रेडिकल र एन्टिअक्सिडेन्टबीच सन्तुलनको अवस्था रहेमा शरिर स्वस्थ रहन्छ।
विभिन्न कारणहरुबाट फ्रि रेडिकलको मात्रा बढी र एन्टिअक्सिडेन्टको मात्रा कम भएको अवस्थालाई अक्सिडेटिभ स्ट्रेस भनिन्छ। अक्सिडेटिभ स्ट्रेसकै कारण चयपचय सम्बन्धी र दीर्घ रोग लाग्दछ। आयुर्वेदमा नसर्ने रोगको कारणको रुपमा उल्लेखित आम र प्राकृतिक चिकित्सामा उल्लेखित विजातीय पदार्थको अवधारणा आधुनिक चिकित्सा विज्ञानको अक्सिडेटिभ स्ट्रेससँग मेल खाने देखिन्छ ।
फ्रि रेडिकलहरुले लिपिड, प्रोटिन र डिएनएको साथै समग्र कोषिकाको संरचनामा नकारात्मक असर पारी रोगको बिजारोपण गर्दछ। यसले कोषको एन्टिअक्सिडेन्ट डिफेन्स प्रणाली कमजोर बनाउनुको साथै कोषको मर्मत् हुने क्षमतामा ह्रास ल्याउँछ, बिजातीय एवं रोग कारक प्रोटिन निर्माण गर्छ र नियमित कार्य गर्न असक्षम बनाउँछ। फ्रि रेडिकलले रक्तनलिको इन्डोथेलियममा इन्जुरी र दीर्घ सुजन गराउने गर्दछ, जसले कोरोनरी मुटु रोगको आधार तयार गर्दछ। अक्सिडेटिभ स्ट्रेसको अवस्थामा कोषहरुको इन्सुलिनप्रतिको संवेदनशीलता (इन्सुलिन सेन्सेटिभिटी) कम एवं इन्सुलिन रेसिस्टान्स गराउने, क्यान्सर लगायतका रोगवाहक जिनहरु सक्रिय हुने र कोषहरुको जीवन-चक्र असन्तुलित हुने हुन्छ। अन्ततोगत्वा यिनै मोलिकुलर र सेलुलर परिवर्तनले लामो समयमा नसर्ने रोग गराउँछन्।
वैज्ञानिक अध्ययनहरुले सूर्तिजन्य पदार्थको सेवन, मद्यपान, प्रदुषण, हेभिमेटल, जिवाणु एवं विषाणु, किटनाशक विषादि, रेडियसन, चिनी, उच्च ग्लाइसेमिक इन्डेक्स एवं प्रशोधित कार्बोहाइड्रेट, जनावरजन्य प्रोटिन, ट्रान्स फ्याट ( पुन: तताइएको चिल्लो ), ओमेगा ६ युक्त प्रशोधित तेल (सूर्यमुखी तेल, भटमासको तेल, मकैको तेल आदि), मोटोपना, शारिरिक निष्क्रियता, अधिक शारिरिक व्यायाम, मानसिक तनाव आदिले अक्सिडेटिभ स्ट्रेस गराउने देखाएको छ। अत: नसर्ने रोगको वास्तविक कारणहरु यीनै हुन् ।
यसरी हेर्दा नसर्ने रोगको कारण अक्सिडेटिभ स्ट्रेस रहेको र अक्सिडेटिभ स्ट्रेसको अवस्था अस्वस्थकर आहार, विहार, विचार, आचार र वातावरणबाट निम्तिने भएकाले नसर्ने रोगलाई जरैबाट निवारण गर्न अक्सिडेटिभ स्ट्रेस गराउने उल्लिखित कारणहरुको त्याग गर्न र एन्टिअक्सिडेन्ट डिफेन्स प्रणालीलाई सुदृढ गर्नु जरुरी देखिन्छ। हाल प्रचलित औषधीहरुले यो काम नगर्ने भएकाले नसर्ने रोगहरु निको नभइ नियन्त्रण मात्र हुने र जीवनभर सेवन गरिरहनुपर्ने अवस्था विद्यमान छ। अत: नसर्ने रोगबाट बँच्न र उपचारमा समेत अक्सिडेटिभ स्ट्रेसको सिद्धान्तलाई मध्यनजर गर्न आवश्यक छ।
सम्पूर्ण अन्न (होल ग्रेन) एवं कोदोजन्य अनाज (मिलेट) मा भिटामिन, फाइबर, मिनरल, लिग्नान आदि पाइन्छ जस्ले एन्टिअक्सिडेन्टको काम गर्दछ। यसैगरी अंकुरित अनाजमा पाइने पोलिफिनोलले फ्रि रेडिकललाई नष्ट गर्दछ। नट्सहरुमा स्वस्थकर चिल्लो, भिटामिन ई, फिनोलिक यौगिक पाइन्छ। सागपात एवं फलफूलहरु माइक्रोन्यूट्रियन्ट (भिटामिन र मिनरल्स) र फाइबरको प्रमुख स्रोत हुन्। यसमा पाइने विटा क्यारोटिन, भिटामिन सी, ई, फ्लेभोनाइडले अक्सिडेटिभ स्ट्रेस कम गराउन महत्वपूर्ण भूमिका खेल्दछ। यसैगरी फाइबरले पेटमा स्वस्थकर गट माइक्रोबायोटाको उपस्थिति सुनिश्चित गर्दछ। चिसो र बहने पानिमा पाइने माछा ओमेगा ३ को राम्रो स्रोत हो।
दलहन (लेगुम)मा बनस्पतिजन्य प्रोटिन, फाइबर, भिटामिन बी, मिनरल एवं फाइटोकेमिकल पाइन्छ। दैनिक मध्यम गतिको व्यायाम एवं योगाभ्यासले अक्सिडेटिभ स्ट्रेस घटाउँने तथ्य बैज्ञानिक अध्ययनबाट प्रमाणित भएको छ।
आहारको एन्टि अक्सिडेन्ट क्षमता अक्सिजन रेडिकल एब्जरबेन्स क्यापासिटी (ओर्याक) भ्यालुबाट नापिन्छ । उच्च ओर्याक भ्यालु भएका आहारहरुले फ्रि रेडिकल्सहरु नष्ट गरी अक्सिडेटिभ स्ट्रेस घटाउँछन्। अमला, चुकन्दर, गाजर, बेसार, ल्वाङ, दालिचिनी लगायतका मसलाजन्य जडिबुटी, बेरीज प्रजातिका फलफूल, सुन्तला, अनार, पालक लगायतमा हरिया सागपात आदिको ओर्याक भ्यालु उच्च छ । यिनीहरुको नियमित सेवनले अक्सिडेटिभ स्ट्रेस कम गरी नसर्ने रोग लाग्नबाट बचाउँछन् ।यसैगरी जौ, कोदो, फापर, चिनो, कागुनो जस्ता मिलेटजन्य परिकार, अंकुरित अनाज एवं गेडागुडिहरु, काजु लगायतका नट्स र आलस, सूर्यमुमखी बिज, फर्सीको बिज, चियासिडहरुको ओर्याक भ्यालु निकै उच्च छ।
सेतो चामल लगायतका प्रशोधित अन्न र तयारी खाद्य परिकारहरुको ओर्याक भ्यालु निकै कम छ, जसले फ्रि रेडिकल नष्ट गर्नुको साटो बढाई नसर्ने रोग गराउँछन् ।यसर्थ, नसर्ने रोगको रोकथाम एवं व्यवस्थापनको लागि आधुनिक प्रशोधित अन्न भन्दा परम्परागत कोदो एवं कोदोजन्य (मिलेट) परिकार र फलफूल एवं तरकारी अत्यन्तै उपयोगी छन्।अझ स्पष्ट रुपमा भन्दा उच्च ओर्याक भ्यालुयुक्त यी परिकारहरुले नसर्ने रोगको जरोको रुपमा रहेको अक्सिडेटिभ स्ट्रेस कम गरी वास्तविक औषधीको रुपमा समेत काम गर्न सक्ने क्षमता राख्दछन् ।
नसर्ने रोग औषधिजन्य भन्दा पनि जीवनशैलीजन्य रोग हो। अध्ययनहरुले उपयुक्त रोकथाम रणनीति र स्वस्थकर जीवनशैलीले ८० प्रतिशत मधुमेह, ८० प्रतिशत कोरोनरी मुटु रोग र स्ट्रोक एवं ४० प्रतिशत क्यान्सर रोकथाम गर्न सकिने देखाएका छन् ।यसका लागि प्रशोधित एवं उच्च ग्लाइसेमिक इन्डेक्स र न्यून फाइबरयुक्त आहार, अस्वस्थकर चिल्लो, धुम्रपान छोडी रिजनल, सिजनल र ओरिजिनल न्यून ग्लाइसेमिक इन्डेक्स र उच्च फाइबरयुक्त अन्न एवं मिलेट, पर्याप्त सागपात र फलफूल सेवन र दैनिक योगाभ्यास सहितको व्यायाम गर्न अध्ययनहरुले सिफारिस गरेका छन्। यसो गरेमा नसर्ने रोगको जरोकिलोको रुपमा रहेको अक्सिडेटिभ स्ट्रेस निवारण भई नसर्ने रोगको नियन्त्रण एवं रोकथाम र उपचार हुने भएकाले यसतर्फ चिकित्सक, स्वास्थ्यकर्मी र बिरामी एवं आम नागरिकले ध्यान दिनु जरुरी छ।
(डा केसी स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशमा महाशाखा प्रमुखका रुपमा कार्यरत छन्)