के हो ह्युमन प्यापिलोमा भाइरस?
क्यान्सर गराउने विभिन्न कारणहरुमध्ये ह्युमन प्यामिलोमा भाइरस (एचपीभी) एक हो । यस भाइसले विशेषगरी यौन अंगसँग सम्बन्धित क्यान्सर गराउने गर्छ ।
भाइरसको संक्रमण लामो समयसम्म बस्दा यसले शरीरका कोषहरुसँग अन्तक्र्रिया गर्छ । यस्तो अवस्थामा भाइरसको कोष र मान्छेको कोष मिसिएर हाम्रो शरीरमा रहेको सामान्य प्रतिरक्षा प्रणालीमा गडबड हुन गई त्यसले क्यान्सर गराउन सक्छ ।
ह्युमन प्यामिलोमा भाइरसले क्यान्सर मात्रै नभइ अन्य रोगहरु पनि गराउन सक्छ । ह्युमन प्यामिलोमा भाइरसका विभिन्न प्रजातीमध्ये १६,१८ नम्बरका प्रजातीे पाठेघरको क्यान्सरका मुख्य कारक हुन् ।
यो पुरुषमा पनि हुन सक्छ, यो भाइरस पुरुषको यौन अंगमार्फत् महिलासम्म आइपुग्छ । महिलाको यौन अंगमा उक्त भाइरस बस्ने अनुकुल वातावरण बढी हुने भएकोले यो क्यान्सर बढी महिलाहरुलाई हुने गर्छ ।
४० प्रतिशत महिलाहरुमा ह्युमन प्यामिलोमा भाइरस
विभिन्न समयमा गरिएको नमुना सर्वेक्षण अनुसार नेपालमा करिब ४० प्रतिशत महिलाहरुमा ह्युमन प्यामिलोमा भाइरस देखिएको छ । उक्त भाइरस भएका महिलाहरुमा क्यान्सर हुने सम्भावना बढ्छ।
यसमा कुन प्रजातीको भाइरस देखिएको भन्ने पनि महत्वपूर्ण छ । एचपीभी डिएनए परीक्षणका माध्यमबाट कुन प्रजातीको भाइरस हो भन्ने यकिन गर्न सकिन्छ।
ह्युमन प्यामिलोमा भाइरसको संक्रमण हुन नदिनका लागि सुरक्षित यौन सम्पर्क गर्नुपर्ने हुन्छ । एक भन्दा बढी व्यक्तिको असुरक्षित यौन सम्पर्कले धेरै प्रकारका यौनजन्य रोगहरु लाग्न सक्छन्।
वार्षिक २/३ हजारमा पाठेघरको मुखको क्यान्सर
ह्युमन प्यापिलोमा भाइरसका कारण मृत्यु हुन अगावै धेरैको उपचार भइसकेको हुन्छ । क्यान्सर भएकामध्ये १० गुणाा बढीको अगाडि नै उपचार भइसकेको हुन्छ।
क्यान्सर हुनु अगाडि नै विभिन्न प्रकारका सर्जरीले बिरामी निको भइसकेका हुन्छन् । कतिपय कुराहरु क्यान्सरका रुपमा बाहिर नआउँदै निको भइसकेका हुन्छन्।
विगतको तुलनामा पाठेघरको मुखको क्यान्सर कम भने हुँदै गएको छ । अस्पतालमा उपचारका लाािग आउने बिरामीको तथ्यांकका आधारमा अझै पनि वार्षिक २– ३ हजारमा पाठेघरको मुखको क्यान्सर हुने गरेको पाइएको छ।
क्यान्सर स्क्रिनिङ तथा विभिन्न सचेतनामुलक कार्यक्रमले पछिल्लो समय यो क्यान्सर कम हुँदै गएको छ । सुरुवातकै चरणमा क्यान्सर पत्ता लाग्ने क्रम पनि बढ्दै गएको छ, जसले निको हुने दर बढाउँदै गएको छ।
पाठेघरको मुखको क्यान्सरका लक्षणहरु
–गन्हाउने पानी बग्ने ।
–यौन सम्पर्कपछि रगत बग्ने ।
–कम्मर दुख्ने ।
–पिसाब तथा दिसामा समस्या आउने ।
कतिपय अवस्थामा लक्षणबिना नै रोग फैलिसकेको पनि हुनसक्छ । त्यसकारण समयसमयमा परीक्षण गर्नुपर्ने हुन्छ ।
कसरी जोगिने ?
पाठेघरको क्यान्सर हुन नदिनका लागि प्राथमिक रोकथाम पुर्व–प्राथमिक रोकथाममा ध्यान दिनुपर्ने हुन्छ।
एचपीभी खोप पूर्व प्राथमिक रोकथाममा पर्छ । एचपिभी खोप नलगाएका महिलाहरुले प्यापस्मीर परीक्षण तथा स्क्रिनिङ गर्न सक्छन्।
त्यसका साथै यौनजीवनको सुरुवात गरिसकेका महिलाहरुले प्रत्येक वर्ष यौन अंगहरुको परीक्षण गराउनुपर्ने हुन्छ । जसले क्यान्सरका साथै अन्य रोगहरु समेत पत्ता लगाउन सजिलो हुन्छ।
(डा चालिसे भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक हुन्)