केही समय पहिले सिंहदरबार वैद्यखानामा भएको एक कार्यक्रममा काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले भन्नुभयो – 'देशका सार्वजनिक संस्थाहरुको क्षयीकरण कसरी भइरहेको भनेर बुझ्न मन छ भने सिंहदरबार वैद्याखानालाई हेरे पुग्छ।'
हामी आयुर्वेद स्नातक (बिएएमएस) कीर्तिपूरमा पढ्दै गर्दा प्रयोगात्मक शिक्षाका लागि वैद्यखाना जानुपर्थ्यो। त्यहाँ जाँदै गर्दा अहिले पनि याद रहेका केही कुराहरु छन्: प्रबन्ध निर्देशकको कक्षमा टाँगिएका प्रबन्ध निर्देशकका लम्बेतान नामावली, अनि च्यवनप्राश बनाउने भनेर लस्कर राखिएका प्रयोगबिहिन बडेमानका खाली कराहीहरु र त्यहाँका जीर्ण संरचनाहरु। भित्तामा टाँगिएका प्रबन्ध निर्देशकहरुको नामावली हेर्दा लाग्थ्यो, यी फगत केहि सीमित व्यक्तीहरु म्युजिकल चियर खेलिरहेछन्, हरेक सरकारसँगै फेरिने मन्त्रीको मादलको तालमा। आयुर्वेद नेतृत्वको घृणास्पद नृत्य हेर्न हामी आयुर्वेदका 'जेन-जी'लाई त्यही बेलादेखि नै बाध्यता थियो।
अर्कोतिर सम्पूर्ण आयुर्वेद चिकित्सकहरुको एउटा छाता संगठन छ - नेपाल आयुर्वेद चिकित्सक संघ। तर कहाँ छ, कस्तो अवस्थामा छ, कसैलाई अत्तोपत्तो छैन। विसं २०७८ चैत्र ६ गते निर्वाचित अहिलेको आयुर्वेद चिकित्सक संघको कार्यसमितिले के-कस्ता प्रभावकारी काम गर्यो, स्वयं पदाधिकारीहरु अनविज्ञ छन्। सामान्यत: २ वर्षको कार्यकाल रहने यो संघले अत्यावश्यक अवस्थामा ६ महिनासम्म आफ्नो कार्यकाल थप गर्न पाउने व्यवस्था छ, त्यसपछि भने जसरी पनि अधिवेशन गराइ नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ। तर आफ्नो कार्यकालको ३ वर्ष पुग्नलाग्दा समेत अधिवेशनमार्फत नेतृत्व हस्तान्तरण गर्ने कुनै संकेत पाइएको छैन। यसभन्दा अघिको यस संघको कार्यसमितिले पनि कोरोनाको मौकामा आफ्नो कार्यकाल लामै समयसम्म लम्ब्याएको थियो। आयुर्वेदका जेन-जी पुस्ता यो सबै टुलुटुलु हेरेर बसिरहनुपरेको अवस्था छ।
२०७६/७७ सालमा नरदेवी आयुर्वेद अस्पतालले केही सुधार गरी आफ्नो गरिमा बढाउँदै थियो। सरकार फेरबदलको सिकारमा यहाँको नेतृत्व पनि फेरबदल भैरहदा अहिले यस अस्पतालको पनि साख गिरिरहेको छ। राजनीतिक नियुक्ति, कुर्सीमा बस्ने खिचातानी, बढ्दो दलीय हस्तक्षेपले यो संस्था धरासायी बन्दै गएको छ। आयुर्वेद नेतृत्वमा रहेका दलीय पहुँच राखेका सिमित व्यक्तिहरु आलोपालो यी संस्थाहरुलाई तन्नम बनाएर छोड्ने दाउमा व्यस्त छन्। यो आरोप होईन, यो आयुर्वेदको वर्तमान स्थितिको वास्तविक चित्रण हो।
नरदेवी आयुर्वेद अस्पताल परिसरमै आयुर्वेदको अर्को महत्वपूर्ण संस्था रहेको छ - नेपाल आयुर्वेद चिकित्सा परिषद्। वि.सं २०४५ सालको आयुर्वेद चिकित्सा परिषद् ऐन अनुसार गठन भएको यस परिषद्को वर्तमान कार्यसमितिको कार्यकाल अब चाँडै नै सकिँदै छ। आयुर्वेद चिकित्सा परिषद्का आफ्ना काम, कर्तव्य र अधिकारहरु ऐन मै सीमित गरिएका छन्। देशमा रहेका आयुर्वेदका शिक्षण संस्थाहरुको निगरानी र तीनको सुधारमा उल्लेख्य भूमिका खेल्नुपर्ने परिषद् त्यसतर्फ रत्तिभर केन्द्रित छैन। नेपालमा हालसम्म एउटा क्याम्पसमा मात्र स्नातकोत्तर अध्ययन-अध्यापन हुन्छ्, त्यसमा पनि जम्मा २ सिट रहेका छन्। नेपालका आयुर्वेद चिकित्सकहरु भारतबाट छात्रवृत्तिमा स्नातकोत्तर गरेर आउन थालेको पनि ७ वर्ष भन्दा बढी भैसकेको छ, तर उनीहरुको उचित व्यवस्थापन नहुँदा व्यक्तिगत मात्र होईन, आयुर्वेदमा हुनुपर्ने संस्थागत विकास पनि अवरुद्ध देखिन्छ। स्नातकोत्तर गरेर आएका, आउँदै गरेका यतिका जनशक्तिलाई सदुपयोग गरेर थप विषयहरुमा स्नातकोत्तर अध्ययन सञ्चालन गराउने तर्फ कसैको पनि ध्यान केन्द्रित देखिदैन।
नेपाल प्रीमियर लिगको खेल टेलिभिजनमा हेर्दै गर्दा पछाडि देखिने एउटा आकर्षक भवनले सबैको मन तानेको थियो। बल्खु-कीर्तिपुरको बाटो हिँड्दै गर्दा त्यस भवनले सबैको मन आकर्षित गर्छ। तर बाहिरी मान्छेको मन जसरी त्यो भवनले आकर्षित गर्छ, त्यस विपरीत आयुर्वेदका नयाँ पुस्तालाई त्यस भवनले श्मशान घाटको झझल्को दिन्छ। पार्टीका मान्छेको करारमा भर्तीकेन्द्र बनेको त्यो भवन हो, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको। बर्सेनि केहि तालिमहरुबाहेक यस केन्द्रले आयुर्वेद अनुसन्धानको क्षेत्रमा उल्लेख गर्न योग्य केहि पनि काम गर्न सकेको छैन।
यसरी नेपालमा आयुर्वेदका शीर्ष संस्थाहरु एकपछि अर्को धराशयी बन्दै गैरहेको तीतो यथार्थ सबैसामु छर्लङ्ग छ। चरम राजनीतिकरणको कारण यस्तो अवस्थामा पुगेका आयुर्वेदका संस्थाका असक्षम नेतृत्वकर्ताहरुलाई अब अहिलेको नयाँ पुस्ताले गम्भीर प्रश्न गर्ने बेला आएको छ। जेन-जीलाई अब आफ्नो पार्टीको अग्रज भनेर प्रश्न सोध्नबाट पछि हट्ने छुट कदापि छैन। बरु आवश्यक परे हस्तक्षेपकारी भुमिका निर्वाह गर्नुपर्ने समय भैसकेको छ।
बुढानिलकण्ठमा राष्ट्रीय पञ्चकर्म तथा योग केन्द्र बन्दै छ भन्ने सुनेको पनि ८/९ वर्ष हुन लाग्यो। कहिले काहीँ भवन सञ्चालनमा ल्याउने भन्ने सुनिन्छ। तर पञ्चकर्म र योग जस्तो विशेषज्ञकृत सेवा दिने केन्द्रमा विशेषज्ञ चिकित्सकको दरबन्दी छ कि छैन कसैलाई थाहा छैन। केन्द्रको कुनै पनि दस्ताबेज सार्वजनिक अभिलेखमा उपलब्ध छैन। अचम्मको कुरा के भने आजको दिनसम्म पञ्चकर्म र स्वस्थवृत्त योगलाई नेपाल स्वास्थ्य सेवा ऐन र नियमावलीले चिन्दैन। तर यो केन्द्र सञ्चालनमा कसरी आउने रहेछ? यसको फाईदा कुनै अमुक नेताको प्रिय पात्रले लिन खोजेको भन्ने डर पनि छ।
अब बोल्ने समय आएको छ। आवाज उठाउने बेला भएको छ। आयुर्वेद को जेन-जी कसैको पिछलग्गु भएर हिँड्न तयार छैन। यो तयार छ त केवल काम गर्नका लागि। काम आयुर्वेदको पक्षमा, काम कार्यगत सुधारको पक्षमा। अब यो जेनेरेसन कोही पार्टीको कार्यकर्ता कुनै पदमा नियुक्ती भयो भने स्वागत गर्न जाने पुस्ता हुनेछैन। एक एक कामको हिसाब खोज्ने पुस्ता हुनेछ। व्यक्तिगत स्वार्थमाथि निडर रुपमा प्रश्नचिह्न खडा गर्ने पुस्ता हुनेछ।
मसाला कटेजहरुमा भोज खाएर बोली बन्द राख्ने पुस्ता हुनेछैन। पार्टी प्यालेसहरुमा पार्टी गरेर प्रश्नहरु दबाउने पुस्ता हुनेछैन। सम्पूर्णमा चेतना भया। जय आयुर्वेद।