आयुर्वेदले चिकित्साले खानपानलाई पहिलो प्राथमिकतामा राखेको छ । जीवनको पहिलो स्तम्भका रुपमा खानपानलाई लिइएको छ ।
यहाँ व्यक्तिको प्रकृति तथा ऋतृ अनुसार फरक–फरक प्रकारको खानपानको परिकल्पना गरिएको हुन्छ । त्यस्तै खानाको स्वाद अनुसार पनि यसको प्रकार फरक–फरक हुने गर्छ ।
कुन खानाले कस्तो बनाउँछ ?
सात्विक आहार, राजर्षि आहार तथा तामसिक आहारका रुपमा खानपानलाई विभाजन गरिएको छ ।
सात्विक आहार अन्तर्गत फलफूल, हरियो सागसब्जी, कम मसालेदार खानेकुरा खानेकुराहरु पर्छन् । यस्तो खानपानले व्यक्तिलाई ज्ञानी, धैर्यवान्, अनुशासित तथा सालिन बनाउने गर्छ ।
राजर्षिक खानपानमा अमिलो, पिरो, माछामासु, स्वादिलो, आकर्षक खानेकुरा पर्छन् । आजकालका बालबालिकालाई बढी राजर्षिक आहारहरु दिने गरिएको छ ।
तामसिक आहारमा फ्राई, फ्रोजन तथा जंगफुड जस्ता भोजनलाई समावेश गरिएको हुन्छ । खाने बेलामा एकदमै स्वादिलो भएपनि खाइसकेपछि यस्ता खानेकुराले शरीरलाई राम्रो गर्दैन । यस्तो खानपानले लट्ठ बनाउने, ज्ञान नष्ट गर्ने तथा भ्रमित बनाउने गर्छ । यस्ता खानेकुराहरु महिनौंदेखि भण्डारण गरिएको हुन्छ, जसले शरीरमा तामसिक गुण बढाउन सहयोग गर्छ ।
त्यस्तै खानामा रहेको स्वाद अनुसार पनि खानपानलाई वर्गीकरण गरिएको छ । व्यक्तिको प्रकृतिअनुसार खानेकुराको छनौट गर्नुपर्ने हुन्छ ।
दुब्लो पातलो, छाला तथा कपाल सुख्खा रहेको वाद प्रकृतिको व्यक्तिलाई गुलियो, अमिलो तथा नुनिलो खानेकुराले फाइदा गर्छ । यस्ता व्यक्तिलाई तितो, टर्राे खानेकुराले भने बेफाइदा गर्छ ।
यस्ता व्यक्तिलाई सुख्खा खाले खानेकुरा हितकर मानिदैन। गुलियो प्रकृति फलफूल उनीहरुका लागि राम्रो मानिन्छ।
छिटो रिसाउने तथा खुसी हुने, छिटो सिक्ने र बिर्सने, चन्चल प्रकृतिका हुने गर्छन् । पित्त प्रकृतिका मानिसलाई अमिलो खानेकुराको सेवन कम गर्नुपर्छ ।
ऋतु तथा मौसम अनुसार कस्तो खानपान ?
त्यस्तै ऋतु तथा मौसम अनुसार पनि खानपान फरक फरक हुने गर्छ। जाडोमा गर्मीको तुलनामा पाचन शक्ति राम्रो हुन्छ।
जाडोमा चिल्लो, पिरो तथा थोरै अल्कोहलिक खानेकुरा समेत सजिलै पच्न सक्छ । त्यसकारण आयुर्वेदले हेमन्त तथा शिशिर ऋतुमा खानपानका लागि कमै सतर्क हुँदा पनि फरक नपर्ने व्याख्या गरेको छ।
अन्य समयमा भने खानपानका लागि सतर्क हुनुपर्छ भन्ने व्याख्या आयुर्वेद विज्ञानमा छ । ग्रिष्म ऋतुमा चिसो, गुलिलो तथा तरल खानेकुराको सेवन हितकर मानिन्छ । मौसम मात्र नभई व्यक्तिको प्रकृतिअनुसार पनि खानपानमा शैली अपनाउन पर्ने हुन्छ । जसले स्वस्थ रहन सहयोग गर्छ ।
खानपान शैलीका कारण नै धेरै रोगहरु लाग्ने भएकोले खानपानलाई पहिलो खम्बाको रुपमा आहारलाई लिने गरिन्छ।
आयुर्वेद एलोपेथिक भन्दा कसरी फरक ?
आयुर्वेद तथा एलोपेथिक चिकित्साले व्याख्या गरेका खानपान शैलीमा धेरै भिन्नता भने छैन । एलोपेथिकले समंग्र रुपमा खानपानबारे व्याख्या गर्छ भने आयुर्वेदमा त्यस्तो हुँदैन।
एलोपेथिकमा खानासँगै पानी खानु स्वस्थकरा हुँदैन भन्ने व्याख्या गरिएको छ, भने आयुर्वेदले खानासँगै थोरै–थोरै पानी पिउनु पाचन प्रणालीका लागि राम्रो हुने बताइन्छ।
यदाकदा केही विरोधाभास भएपनि दुवै प्रकारको चिकित्सामा कसरी व्यक्तिलाई स्वस्थ तथा सन्तुलित आहार दिने भन्ने व्याख्या समान रुपमा गरिएको छ।