विकास, प्रविधि र जीवनशैलीमा आएको परिवर्तनसँगै आजको विश्वले स्वास्थ्यको ठूलो चुनौतीको सामना गरिरहेको छ - नसर्ने रोगको महामारी ।
यी रोगहरू सिधा सर्ने (संक्रामक) नभए पनि दीर्घकालीन रूपमा व्यक्तिको स्वास्थ्य बिगार्ने र मृत्युको मुख्य कारण बन्ने गर्दछन् । यसलाई “मौन महामारी” भनिन्छ किनकि यो महामारी अचानक फैलिँदैन र लामो समयसम्म थाहा नपाई शरीरमा असर गर्छ । यसले व्यक्तिको दैनिक जीवन र राष्ट्रको स्वास्थ्य प्रणालीमा गम्भीर असर पार्दछ । पहिले विश्वभरि मुख्य रूपमा संक्रमण रोगहरूले मानिसको जीवनमा ठूलो जोखिम पारेका थिए। जस्तै- हैजा,पोलियो लगायतका रोगहरूले ठूलो जनधन क्षति पुर्याउँथे । तर विकास, सफाइ, खोप, औषधि र स्वास्थ्य सेवाको पहुँच बढेसँगै यी रोगहरूको मृत्यु दर उल्लेखनीय रूपमा घट्न थाल्यो।
तर अब नयाँ स्वास्थ्य संकटको रूपमा नसर्ने रोगहरूधेरै देशहरूमा तीव्र रूपमा बढ्दैछन् । विशेष गरी विकासोन्मुख देशहरूमा, दीर्घकालीन जीवनशैली परिवर्तन, तीव्र शहरीकरण, अस्वस्थ आहार, शारीरिक निष्क्रियता, धूम्रपानजस्ता जोखिम कारकहरूले नसर्ने रोगहरूको बोझ तीव्र गतिमा बढाएको छ।
यो संक्रमण रोगदेखि नसर्ने रोगतर्फको संक्रमण स्वास्थ्य प्रणालीमा नयाँ चुनौतीहरू खडा गरिरहेको छ । यसले दीर्घकालीन उपचार, जोखिम व्यवस्थापन र रोकथाममा जोड दिन आवश्यक बनाएको छ। पहिले जहाँ संक्रमण रोग नियन्त्रण नै मुख्य प्राथमिकता थियो, अब त्यस्तै प्राथमिकता नसर्ने रोगलाई दिनु आवश्यक छ ताकि दीर्घकालीन स्वास्थ्य समस्या र मृत्यु दरलाई कम गर्न सकियोस् ।
प्रमुख नसर्ने रोगहरू:
• हृदय–सम्बन्धी रोगहरू: मुटुको घात मस्तिष्कघात , उच्च रक्तचाप ।
मधुमेह : रगतमा चिनीको असामान्य मात्रा । (सामान्य अवस्था बिहान खाली पेट ग्लुकोज ८०–१०० mg/dl ,खान खाएपछि १७०–२०० mg/dl र २–३ घण्टापछि १२०–१४० mg/dl )
• क्यान्सरहरू: फोक्सो, स्तन, पाठेघर लगायतका विभिन्न प्रकार ।
• दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी रोगहरू: दम , क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज।
• मानसिक तथा स्नायु सम्बन्धी समस्या: डिप्रेसन, अल्जाइमर्स, मानसिक असन्तुलन।
• मिर्गौलाको रोग: मधुमेह र उच्च रक्तचापबाट हुने मिर्गौलाको कार्यक्षमता ह्रास।
विश्व र नेपालको वर्तमान स्थिति
विश्व स्तरमा:
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्याङ्क अनुसार, २०२१ मा विश्वमा ४३ मिलियन मानिसको मृत्यु नसर्ने रोगका कारण भयो, जुन कुल गैर-महामारी सम्बन्धी मृत्युको ७५% हो ।
१८ मिलियन मानिस ७० वर्ष भन्दा पहिले नै नसर्ने रोगबाट मरेका थिए, जस मध्ये ८२% निम्न र मध्यम आय भएका देशहरूमा थिए ।
हृदय रोगले सबैभन्दा बढी (१९ मिलियन), त्यसपछि क्यान्सर (१० मिलियन), दीर्घकालीन श्वासप्रश्वास रोगहरू (४ मिलियन), र मधुमेह (२ मिलियन भन्दा बढी) कारण मृत्यु हुन्छ।
विश्वव्यापी जस्तै अमेरीका क्षेत्रमा पनि नसर्ने रोगहरूले ठूलो जनधन गुमाउन बाध्य पारिरहेका छ। प्यान अमेरिकी स्वास्थ्य संगठन NCDs at a Glance 2025 का तथ्यांकअनुसार, हृदयसम्बन्धी रोगहरूले कुल नसर्ने रोग मृत्युको ३४.५% हिस्सा ओगट्छन् र यसले २,१६३,३१२ जनाको मृत्यु गराएको छ। दोस्रो स्थानमा क्यान्सर (२१.८%) रहेको छ, जसले १३६६,४९३ जनाको ज्यान लिएको छ । दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी रोगहरूले ६.६% र मधुमेहले ६.७% हिस्सा ओगट्छन्। बाँकी अन्य नसर्ने रोगहरूले ३०.४% हिस्सा ओगटेका छन् । हृदय रोग, क्यान्सर, मधुमेह र श्वासप्रश्वास रोगहरू अमेरीका क्षेत्रमा समेत स्वास्थ्य संकटका रूपमा रहेका छन्।
नेपालको अवस्था:
२०७५/७६ (२०१९ सन्) मा, नेपालको कुल मृत्युको ७१.१% हिस्सा नसर्ने रोगले ओगटेको थियो, जुन २०७२/७३ मा ६३.७% थियो।
मृत्यु वितरण:
o हृदय रोग २४%
o क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज १६.३%
o क्यान्सर ११.१%
कुल DALYs (Disability Adjusted Life Years) मा NCDs ले ६१.२% हिस्सा ओगटेको छ।
नेपालमा बढ्दो वृद्धावस्था, शहरीकरण, र जीवनशैलीका कारण यी रोगहरू दिनानुदिन बढिरहेका छन्।
STEPS सर्वेक्षणका (2008 vs. 2019) अनुसार शारीरिक निष्क्रियता ३.५% बाट ६.५%, उच्च रक्तचाप ३.६% बाट ८.५%, र उच्च बीएमआई १७.१% बाट २४.३% पुगेको छ।
आर्थिक प्रभाव र स्वास्थ्य खर्च
नेपालले २०१९/२० मा नसर्ने रोगमा ६४,४१४.२ मिलियन नेपाली रुपैयाँ खर्च गर्यो, जुन कुल स्वास्थ्य खर्चको ३१.५% हो ।
घरपरिवारको निजी खर्चमा नसर्ने रोगले ४०.३% हिस्सा ओगटेको छ।
प्रदेश अनुसार खर्च:
o बागमती प्रदेश सबैभन्दा बढी खर्च (१७,९५८.६ मिलियन रुपैयाँ)।
o कर्णाली सबैभन्दा कम खर्च (४,७७४.५ मिलियन रुपैयाँ)।
प्रति व्यक्ति नसर्ने रोगमा खर्च २०१८/१९ मा १७४१.१ रुपैयाँबाट २०१९/२० मा २,१३८.८ रुपैयाँमा वृद्धि भयो।
नसर्ने रोग सम्वन्धि नेपाल सरकारका नीति र कार्यक्रमहरू
नेपाल सरकारले नसर्ने रोगहरूलाई प्राथमिकतामा राख्दै यसका रोकथाम, नियन्त्रण र उपचारका लागि विभिन्न नीति तथा कार्यक्रमहरू बनाउँदै कार्यान्वयन गर्दै आएको छ। यी कार्यक्रमहरूले जनस्वास्थ्य सुधारमा ठूलो योगदान पुर्याएका छन्।
१. राष्ट्रिय बहुक्षेत्रीय कार्ययोजना II (National Multi-sectoral Action Plan II - MSAP II) for NCDs (२०२१-२०२५)
२. नेपाल प्याकेज अफ एसेंशियल NCDs (Nepal Package of Essential NCDs - PEN)
३. उच्च रक्तचाप सेवा सुधार पहल (Hypertension Care Cascade Initiative Nepal - HCCIN)
४. पेन-प्लस (PEN-Plus) कार्यक्रम
५. राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति (National Cancer Control Strategy) (२०८१-२०८७)
६. राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना (National Mental Health Strategy and Action Plan - NMHSAP) २०७७
७. धूम्रपान नियन्त्रण नीति (२०१०)
८. मौखिक स्वास्थ्य नीति (Oral Health Policy) २०७०
९. राष्ट्रिय स्वास्थ्य नीति २०७६
नेपालमा उपचाररत बिरामीहरूको तथ्यांक ( बार्षिक स्वास्थ्य प्रतिवेदन २०८०/८१ )
o उच्च रक्तचाप: ११,४५,९२६
o मधुमेह: ५,८४,३४७
o क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज: २,५९,११०
o क्यान्सर: ९७,३८७
o हृदय रोग: ३०,३३०
o मानसिक स्वास्थ्य समस्या: १,९४,७७३
नसर्ने रोगका प्रमुख जोखिम कारकहरू
अस्वस्थ खानपान:
o फास्ट फुड र प्रशोधित खाना: यस्ता खानामा अत्यधिक मात्रामा नुन, चिनी, र अस्वस्थ चिल्लो पदार्थ हुन्छ, जसले मुटु रोग, मधुमेह र मोटोपनको जोखिम बढाउँछ।
o अत्यधिक नुन: यसको सेवनले उच्च रक्तचापको समस्या निम्त्याउँछ, जुन हृदयघात र मस्तिष्कघातको प्रमुख कारण हो।
o चिनी: धेरै चिनीयुक्त पेय पदार्थ र खानेकुराले तौल बढाउने, मधुमेह र दाँतसम्बन्धी समस्या निम्त्याउन सक्छ।
o चिल्लो: अस्वस्थ चिल्लो (ट्रान्स फ्याट) ले शरीरमा खराब कोलेस्ट्रोलको मात्रा बढाउँछ, जसले धमनीहरूमा अवरोध सिर्जना गरी मुटु रोगको जोखिम बढाउँछ।
शारीरिक निष्क्रियता:
o दैनिक व्यायामको कमीले शरीरमा अतिरिक्त बोसो जम्ने, तौल बढ्ने, र मांसपेशी कमजोर हुने गर्छ।
o नियमित शारीरिक गतिविधि नगर्दा मधुमेह, उच्च रक्तचाप र मुटु रोगको सम्भावना बढ्छ।
धूम्रपान र मद्यपान:
o धूम्रपान: सुर्तीजन्य पदार्थमा पाइने निकोटिनले रक्तचाप र मुटुको धड्कन बढाउँछ। यसले फोक्सोको क्यान्सर, सीओपीडी (COPD) र अन्य श्वासप्रश्वाससम्बन्धी रोगहरूको प्रमुख जोखिम सिर्जना गर्छ।
o मद्यपान: धेरै मदिरा सेवनले कलेजोमा क्षति पुर्याउने, उच्च रक्तचाप बढाउने, र केही प्रकारका क्यान्सरको जोखिम बढाउने गर्छ।
मोटोपन (Obesity):
o अस्वस्थ खानपान र शारीरिक निष्क्रियताका कारण हुने मोटोपन आफैंमा एउटा प्रमुख जोखिम कारक हो।
o मोटोपनले उच्च रक्तचाप, मधुमेह, मुटु रोग, र केही क्यान्सरहरूको जोखिमलाई धेरै गुणा बढाउँछ।
तनाव:
o लामो समयसम्मको मानसिक तनावले शरीरमा कोर्टिसोल (Cortisol) जस्ता हर्मोनको मात्रा बढाउँछ।
o यसले रक्तचाप बढ्ने, निद्रा नलाग्ने, र शारीरिक स्वास्थ्यमा नकारात्मक असर पार्छ।
सहरीकरण र प्रदूषण:
o सहरीकरण: सहरी जीवनशैलीमा शारीरिक निष्क्रियता र तनाव बढी हुन्छ।
o प्रदूषण: वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी रोगहरू जस्तै दम र सीओपीडीको जोखिम बढाउँछ। यसले मुटु रोगको सम्भावना पनि बढाउन सक्छ।
नसर्ने रोगबाट बच्ने उपायहरू
सन्तुलित र स्वस्थ आहार:
o फलफूल र तरकारी: हरेक दिन विभिन्न रंगका फलफूल र तरकारीहरू सेवन गर्नाले शरीरलाई चाहिने भिटामिन, मिनरल, र फाइबर प्रशस्त मात्रामा पाइन्छ। यसले पाचन प्रणालीलाई स्वस्थ राख्नुका साथै धेरै रोगहरूको जोखिम कम गर्छ।
o कम नुन, कम चिल्लो, कम चिनी: अत्यधिक नुनले उच्च रक्तचाप बढाउँछ। त्यस्तै, धेरै चिल्लो र चिनीले मोटोपन, मधुमेह, र मुटु रोग निम्त्याउँछ। यी कुराहरूको सेवन घटाउनु स्वस्थ जीवनको लागि अति आवश्यक छ।
o पर्याप्त पानी: शरीरलाई हाइड्रेटेड राख्न र शरीरका विभिन्न अंगलाई सही तरिकाले काम गर्न दिनका लागि दिनभरि पर्याप्त पानी पिउनु महत्वपूर्ण छ।
प्रशस्त निद्रा:
o वयस्कहरूका लागि दैनिक ७-८ घण्टाको गुणस्तरीय निद्रा आवश्यक हुन्छ।
o पर्याप्त निद्राले मानसिक र शारीरिक थकान हटाउनुका साथै तनाव कम गर्न, प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन र शरीरको समग्र कार्यक्षमता सुधार गर्न मद्दत गर्छ। निद्राको कमीले मधुमेह र मुटु रोगको जोखिम बढ्न सक्छ।
नियमित शारीरिक गतिविधि:
o दैनिक कम्तीमा ३० मिनेटको हिँडाइ, दौड, पौडी, योग वा अन्य कुनै पनि व्यायाम गर्नाले शरीरको तौल नियन्त्रणमा रहन्छ।
o यसले रक्तसञ्चारलाई सुधार गर्छ, मांसपेशी र हड्डी बलियो बनाउँछ, र उच्च रक्तचाप, मधुमेह, तथा मुटु रोगको सम्भावनालाई घटाउँछ।
धूम्रपान र मद्यपान त्याग्ने:
o यी दुवै बानी नसर्ने रोगका मुख्य कारकहरू हुन्। धूम्रपानले फोक्सोको क्यान्सर, सीओपीडी (COPD) र मुटु रोग निम्त्याउँछ भने मद्यपानले कलेजोको रोग र अन्य स्वास्थ्य समस्याहरू बढाउँछ।
o यी हानिकारक बानीहरूलाई पूर्णरूपमा त्याग्नु नै स्वस्थ जीवनको लागि सबैभन्दा महत्वपूर्ण कदम हो।
नियमित स्वास्थ्य परीक्षण:
o ४० वर्षभन्दा माथिका व्यक्तिहरूले विशेषगरी नियमित स्वास्थ्य परीक्षण गराउनु पर्छ।
o रक्तचाप, रगतमा चिनीको मात्रा, कोलेस्ट्रोल, र अन्य आवश्यक परीक्षणहरू समयमा गराउँदा रोगको प्रारम्भिक चरणमै पहिचान गर्न सकिन्छ। यसले गर्दा रोगले जटिल रूप लिनुअघि नै उपचार गर्न सम्भव हुन्छ।
समयमै उपचार र परामर्श:
o शरीरमा कुनै पनि असामान्य लक्षण देखिएमा वा अस्वस्थ महसुस भएमा ढिलो नगरी चिकित्सकसँग सल्लाह लिनुपर्छ।
o समयमै सही उपचार र परामर्श लिँदा रोगलाई बढ्नबाट रोक्न सकिन्छ र त्यसबाट हुने जोखिम पनि कम हुन्छ।
एसडीजी लक्ष्यसँगको सम्बन्ध
सन् २०३० सम्मका लागि सेट गरिएको एसडीजी लक्ष्य ३.४ले गैर-संक्रमक रोगबाट हुने प्रारम्भिक मृत्युलाई एक तिहाइले घटाउने लक्ष्य राखेको छ। नेपालको नीति र कार्यक्रमहरू यस लक्ष्य प्राप्तिमा केन्द्रित छन्।
नेपालको संघीय संरचनामा सङ्घ, प्रदेश र स्थानीय तह ले नसर्ने रोग को रोकथाम र नियन्त्रणमा तिनीहरूको भूमिका
संघ सरकारको भूमिका
नीति निर्माण र निर्देशन:
राष्ट्रिय स्तरमा स्वास्थ्य नीति, कार्यक्रम, र कानुनहरू बनाउने
राष्ट्रिय समन्वय र अनुगमन:
प्रदेश र स्थानीय तहहरूसँग समन्वय गरी कार्यक्रमहरूको कार्यान्वयन अनुगमन गर्ने
वित्तीय सहयोग:
प्रदेश र स्थानीय तहका लागि बजेट, अनुदान, तथा आवश्यक स्रोत उपलब्ध गराउने
विशेषज्ञता र प्राविधिक सहयोग:
स्वास्थ्य सेवा प्रणाली मजबुत बनाउन प्रशिक्षण, प्राविधिक मार्गदर्शन, र अनुसन्धान गर्न सहयोग पुर्याउने
अन्तर्राष्ट्रिय साझेदारी:
WHO, UNICEF, UNDP जस्ता अन्तर्राष्ट्रिय निकायहरूसँग सहकार्य गरी स्वास्थ्य कार्यक्रमहरू लागू गर्ने
प्रदेश सरकारको भूमिका
नीति अनुकूलन र कार्यान्वयन:
संघीय नीतिहरूलाई प्रदेशको आवश्यकता अनुसार अनुकूलन गर्ने र कार्यान्वयन गर्ने
स्वास्थ्य सेवा व्यवस्था:
प्रदेश स्तरीय अस्पताल, चिकित्सा सेवा, र जनस्वास्थ्य कार्यक्रमहरूको व्यवस्थापन
मानव संसाधन विकास:
प्रदेशमा स्वास्थ्यकर्मीको प्रशिक्षण, भर्ना, र व्यवस्थापन
समन्वय र अनुगमन:
स्थानीय तहसँग समन्वय गरी नसर्ने रोग सम्बन्धी कार्यक्रमहरूको अनुगमन र मूल्याङ्कन गर्ने
जनचेतना र समुदाय सहभागिता:
प्रदेश स्तरमा जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने
स्थानीय तहको भूमिका
कार्यक्रम सञ्चालन र सेवा प्रवाह:
स्थानीय तह (गा.पा./न.पा./म.न.पा.) मा नसर्ने रोगको पहिचान, स्क्रिनिङ, उपचार, र पछिल्लो सेवा उपलब्ध गराउने
सार्वजनिक स्वास्थ्य शिक्षा:
समुदायमा स्वस्थ जीवनशैली अपनाउने विषयमा जनचेतना कार्यक्रम सञ्चालन गर्ने
स्थानीय स्रोतको व्यवस्थापन:
स्थानीय स्वास्थ्य चौकी, स्वास्थ्य कार्यालयमार्फत प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने
डेटा संकलन र रिपोर्टिङ:
स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली (एचएमआईएस) मार्फत रोगको अवस्था तथा सेवा विवरण संकलन गर्ने
सहभागिता र समन्वय:
संघ र प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई स्थानीय स्तरमा कार्यान्वयन गर्न समन्वय गर्ने
निष्कर्ष
नसर्ने रोगहरू आज विश्व र नेपालको सबैभन्दा ठूलो स्वास्थ्य चुनौती हुन् । संक्रमण रोगहरू कम हुँदै गए पनि, नसर्ने रोगहरूले स्वास्थ्य प्रणालीमा थप दबाब पुयाउँदैछन् । तीव्र शहरीकरण, अस्वस्थ जीवनशैली, र जोखिम कारकहरूका कारण यी रोगहरू दिनानुदिन बढिरहेका छन् । यस्ता रोगहरूको रोकथाम र नियन्त्रणका लागि समन्वित प्रयास, सरकारका नीति तथा कार्यक्रमहरू, र समुदायको सक्रिय सहभागिता अनिवार्य छ । व्यक्तिगत रूपमा स्वस्थ आहार, नियमित व्यायाम, धूम्रपान र मद्यपानबाट बच्नुपर्छ। यसरी मात्र हामी दीर्घकालीन स्वास्थ्य समस्या र मृत्यु दर घटाउन सक्नेछौं र एक स्वस्थ, सुखी समाज निर्माण गर्न सक्षम हुनेछौं ।
स्रोतहरू
• Ministry of Health and Population, Nepal
• Nepal National Health Accounts 2019/20
• WHO Global NCD data 2021
• National Multi-sectoral Action Plan II (MSAP II) for NCDs (2021-2025)
• STEPS Survey Nepal 2008 & 2019
• DOHS Annual health Report 2080/81
• Pan American Health Organization, 2025
(लेखक नारायण प्रसाद रिमाल जनस्वास्थ्यकर्मी हुन्)