नेपालमा ओरल हाइजिनप्रति जनचेतनाको कमी, नियमित दाँत जाँच नगर्ने बानी, र स्वास्थ्य सेवामा पहुँचको अभावका कारण गिजा सम्बन्धी रोगहरू अत्यधिक मात्रामा पाइन्छन्। विभिन्न अध्ययनहरू अनुसार: नेपालको जनसंख्याको ७०% भन्दा बढी व्यक्तिहरू कुनै न कुनै प्रकारको गिजाको समस्या (gingivitis वा periodontitis) बाट प्रभावित छन्। ग्रामीण क्षेत्रमा यो समस्या अझ गम्भीर छ, जहाँ मानिसहरूलाई दन्त चिकित्सकसम्म पुग्न मुस्किल पर्छ।
विद्यालय जाने बालबालिका र किशोरकिशोरीहरूमा पनि जिङ्जिभाइटिस व्यापक रूपमा देखिन्छ, खासगरी दाँत ब्रश नगर्ने बानीका कारण। वृद्ध मानिसहरूमा पेरियोडन्टाइटिसका कारण दाँत झर्ने समस्या सामान्य छ।
गिजा भन्नाले दाँतको वरिपरि रहेको गुलाबी रंगको मासुजन्य भागलाई जनाइन्छ, जसले दाँतलाई थाम्ने काम गर्छ। स्वस्थ गिजा बलियो, गुलाबी र दुखाइबिना हुन्छ। गिजाको मुख्य काम दाँतको जरालाई सुरक्षा गर्नु हो। जिङ्जिभाइटिस गिजाको सुरुआती रोग हो, जुन प्रायः प्लाक जम्ने कारणले हुन्छ। प्लाक भन्नाले दाँतमा जम्मा हुने ब्याक्टेरिया र खाना-कणहरूको तह हो। जब दाँत राम्रोसँग सफा गरिँदैन, प्लाक गिजामा जम्मा हुन्छ र गिजा सुन्निन थाल्छ।
धेरै मानिसलाई कहिलेकाहिँ गिजा सुन्निने (gingivitis) हुन्छ। सुरुमा यसले ठूलो समस्या गर्दैन, तर समयमै ध्यान नदिए Periodontitis मा परिवर्तन हुन सक्छ। Periodontitis भनेको गिजासहित दाँतलाई समातेर राख्ने हड्डी र टिस्युमा हुने सुन्निने रोग हो। यसले बिस्तारै दाँत हल्लिने वा झर्ने अवस्था ल्याउन सक्छ।
२. लक्षण
गिजा सुन्निनु धेरै मानिसका लागि सामान्य समस्या भए पनि समयमै उपचार नगरे यसले गम्भीर रूप लिने खतरा हुन्छ।
गिनिभिट्स हुँदा गिजा रातो हुने, सुन्निने, ब्रस गर्दा रगत आउने जस्ता लक्षण देखिन्छन् भने सामान्यतः कुनै पीडा महसुस नहुने भएकाले धेरैले यसलाई बेवास्ता गर्ने गर्छन्। यदि जिङ्जिभाइटिसको उपचार गरिएन भने त्यो पेरियोडन्टाइटिसमा रूपान्तरण हुन्छ। पेरियोडन्टाइटिस गम्भीर गिजा रोग हो जसमा गिजा दाँतबाट अलग भएर "पकेट" बन्न थाल्छ। ती पकेटहरूमा ब्याक्टेरिया जमेर दाँत वरिपरिको हड्डी (alveolar bone) मा असर गर्न थाल्छ। यसको परिणामस्वरूप दाँत लामो देखिन्छ, दुखाइ हुन्छ, मुखबाट दुर्गन्ध आउन सक्छ र अन्ततः दाँत हल्लिन वा झर्न सक्ने अवस्था आउन सक्छ।
३. कारण (Causes)
यस रोगको मुख्य कारण भनेको दाँतमा जम्ने ब्याक्टेरियाको तह अर्थात् प्लाक हो, जुन समयमै हटाइएन भने टार्टर अर्थात् क्यालकुलसमा परिवर्तन हुन्छ, जसलाई केवल दन्त चिकित्सकले मात्र हटाउन सक्छन्। धूमपान गर्ने, मधुमेह भएका, गर्भावस्थामा रहेका, प्रतिरक्षा प्रणाली कमजोर हुने औषधि सेवन गर्ने, तथा केही हृदय रोगका औषधि सेवन गर्ने मानिसमा गिजाको रोग लाग्ने सम्भावना बढी हुन्छ।
४. रोगको जटिलता
यदि गिजाको सूजन (Gingivitis) को उपचार नगरेमा, त्यो गम्भीर रूप लिँदै Periodontitis मा परिणत हुन सक्छ। Periodontitis हुँदा गिजा दाँतबाट टाढा हट्न थाल्छन्, जसका कारण दाँत र गिजाबीच “पकेट” बन्न थाल्छ।
यी पकेटहरूमा ब्याक्टेरिया बढ्न थाल्छन्, जसले गर्दा वरिपरि रहेको हड्डीसमेत नष्ट हुन सक्छ। अन्ततः दाँत हल्लिन थाल्छ वा पूर्ण रूपमा झरिन सक्छ।
५. कसरी पत्ता लगाउने?
गिजा रोगको पहिचानका लागि नियमित दन्त परीक्षण अनिवार्य छ जसमा दन्त चिकित्सकले विशेष उपकरण periodontal probe प्रयोग गरेर गिजाको गहिराइ जाँच्ने गर्छन्, साथै एक्स-रेमार्फत हड्डीको क्षति भएको छ वा छैन भनेर मूल्यांकन गरिन्छ।
६. रोकथाम
गिजाको रोगबाट बच्नको लागि नियमित रूपमा दिनमा दुईपटक फ्लोराइड भएको मन्जन प्रयोग गरेर दाँत सफा गर्नु, दन्त फ्लस वा इन्टरडेन्टल ब्रस प्रयोग गरेर दाँतबीचको सफाइ गर्नु, धूमपान नगर्नु, भिटामिन ‘सी’ युक्त फलफूल तथा तरकारी सेवन गर्नु, र निश्चित अन्तरालमा दन्त चिकित्सकलाई देखाउनु अत्यन्त आवश्यक हुन्छ।
७ उपचार
उपचारको क्रममा सबैभन्दा पहिले दाँतमा भएको प्लाक तथा टार्टर हटाइन्छ जसलाई स्केलिङ भनिन्छ। यदि समस्या गम्भीर भएमा गहिरो सफाइ अर्थात् स्केलिङ तथा रुट प्लानिङ गरिन्छ। अझ जटिल अवस्थामा शल्यक्रिया गरेर गिजा भित्रको सफाइ गरिन्छ र उपचारपश्चात् पनि निरन्तर राम्रो मुख सफाइ अपनाउने गर्नुपर्छ।
८. घरमै अपनाउने उपाय
घरमै अपनाउन सकिने उपायहरूमा दिनमा दुईपटक नरम ब्रसले ब्रस गर्नु, हरेक दिन फ्लस वा ब्रस प्रयोग गरेर दाँतबीच सफा गर्नु, भिटामिन सी युक्त खानेकुरा खानु, एन्टिसेप्टिक माउथवास प्रयोग गर्नु, धूमपान छोड्नु, र नियमित रूपमा गिजाको विशेषज्ञलाई देखाउनु पर्दछ।
९. कहिले पेरियोडेन्डिस्ट भेट्ने?
यदि गिजामा बारम्बार रगत आउने, गिजा पछाडि हटेको वा सुन्निएको महसुस हुने, मुखमा दुर्गन्ध आउने, दाँत हल्लिन थाल्ने वा दुख्ने अवस्था देखिएको छ भने तुरुन्तै Periodontist लाई भेट्नु अत्यावश्यक हुन्छ।
मुख्य सन्देश
गिजा हाम्रो मुख स्वास्थ्यको आधार हो। जिङ्जिभाइटिस र पेरियोडन्टाइटिसजस्ता रोगहरू समयमै चिन्न र उपचार गर्न सके दाँत दीर्घकालीन रूपमा सुरक्षित रहन्छ। नेपालमा अझै धेरै जनसंख्याले यी रोगलाई सामान्य ठान्छन्, जसले दीर्घकालीन गम्भीर असर पार्न सक्छ। त्यसैले जनचेतना अभिवृद्धि र नियमित दन्त उपचार अत्यावश्यक छ। “सही तरिकाले नियमित दाँत सफा गर्नु, धूमपान नगर्नु, स्वस्थ आहार लिनु र नियमित दन्त परीक्षण गर्नु नै गिजाको रोग रोक्ने सबैभन्दा उत्तम उपाय हो।”
लेखक डा. हरिश कुमार शाह वरिष्ठ पेरियोडोन्टिष्ट तथा ओरल इम्प्लान्टोलोजिष्टका रूपमा रम्भा ओरल डेन्टल तथा ओरल केयर विरगन्जमा कार्यरत छन्। साथै, उहाँ नेशनल मेडिकल कलेज विरगञ्जमा सहायक प्राध्यापकको रूपमा अध्यापन गराउँछन्।