काठमाडौं – नेपाल आयुर्वेद चिकित्सक संघले स्वर्णप्राशन (Suvarnaprashan) कार्यक्रमबारे विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार, स्थितिपत्र र टीकाटिप्पणीप्रति आफ्नो धारणा सार्वजनिक गरेको छ।
संघका अनुसार आयुर्वेद सेवा संघ सशर्त कार्यक्रम अन्तर्गत २०८२ सालमा स्वर्णविन्दु प्राशन कार्यक्रमको औपचारिक सुरुवातसँगै सामाजिक सञ्जाल र विभिन्न संस्थामार्फत आएका प्रतिक्रियाले आफूहरूको गम्भीर ध्यानाकर्षण गराएको हो।
आयुर्वेदको करिब चार हजार वर्ष पुरानो ग्रन्थ काश्यप संहिता (राजगुरु पं. हेमराज शर्माद्वारा सम्पादित संस्करण) मा स्वर्णविन्दु प्राशनको स्पष्ट उल्लेख रहेको संघले जनाएको छ। संघका अनुसार स्वर्णप्राशनले बालबालिकाको शारीरिक, मानसिक विकास र रोग प्रतिरोधात्मक क्षमता बढाउने उल्लेख छ।
संघले जारी गरेको धारणा अनुसार, स्वर्णभस्म, ब्राह्मी घृत र शुद्ध महको निश्चित मात्राको मिश्रणलाई उमेर अनुसार १ देखि ४ थोपा बिन्दुरूपमा बालबालिकालाई दिने प्रावधान छ। यसमा प्रयोग गरिने स्वर्ण भस्म र ब्राह्मी घृत आयुर्वेद औषधि व्यवस्था विभागमा दर्ता भएको तथा शुद्ध मह नेपाल सरकारको खाद्य तथा गुण नियन्त्रण विभागबाट प्रमाणित हुने व्यवस्था गरिएको बताइएको छ।
संघले यस अभ्यासलाई जनसुरक्षित र प्रभावकारी बताउँदै भारत, श्रीलंका लगायतका देशका स्वास्थ्य संस्थानहरूमा यो प्रचलित रहेको उल्लेख गरेको छ। नेपालमा पनि प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी, चितवन, पर्सा लगायतका स्वास्थ्य संस्थानमा विगत तीन वर्षदेखि प्रत्येक महिनाको पुष्य नक्षत्रको दिन ६ महिना देखि ५ वर्षसम्मका करिब ५० हजार बालबालिकालाई स्वर्णप्राशन दिइँदै आएको छ।
संघका अनुसार अहिलेसम्म यस प्रक्रियाबाट कुनै दुष्प्रभाव रिपोर्ट नभएको र बालबालिकाको सहभागिता दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ।
विज्ञप्ति
स्वर्णप्राशन (Suvarnaprashan) सम्बन्धमा विभिन्न संचार माध्यममा प्रकाशित स्थितिपत्र, समाचार र विज्ञप्तिप्रति नेपाल आयुर्वेद चिकित्सक संघको धारणा
आयुर्वेद सेवा संघ सशर्त कार्यक्रम अन्तर्गत बालबालिकाका लागि स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन निर्देशिका, २०८२ जारी गरी कार्यक्रमको औपचारिक सुरुवात भए लगत्तै यस कार्यक्रम प्रति सामाजिक सन्जाल एवं विभिन्न संस्थाहरु मार्फत आएका टीका टिप्पणीहरु प्रति यस नेपाल आयुर्वेद चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छl
आयुर्वेदको प्राचीन ग्रन्थ (करिब ४ हजार वर्ष पुरानो), पछिल्लो संस्करण नेपालकै राजगुरु पं हेमराज शर्माद्बारा संग्रहित काश्यप संहिताको सूत्रस्थान, लेहन अध्यायमा स्वर्णविन्दु प्राशन उल्लेख गरिएको छ। स्वर्ण प्राशनले बालबालिकाको शारीरिक, मानसिक र रोग प्रतिरोधक क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ। यो अभ्यासमा सुनबाट बनाईएको प्रशोधित भई तयारी स्वरुपको औषधीयद्रव्य (स्वर्ण भस्म), औषधीय घिउ (ब्राह्मी घृत) र शुद्ब महको तोकिएको मिश्रण लाई बालबालिकालाई उमेर अनुसारको मात्रामा बिन्दु/ थोपा (१-४ थोपा) को रूपमा दिइन्छ। प्रस्तुत निर्देशकामा बाल सुरक्षा एवं नियमन र गुणस्तरीयता कायम गराउन औषधी व्यवस्था विभागमा दर्ता भएको स्वर्ण भष्म र ब्राह्मी घृत साथै नेपाल सरकारको खाद्य तथा गुण नियन्त्रण विभागबाट मान्यता प्राप्त शुद्ब मह प्रयोग गर्ने प्रावधान भएको देखिन्छ।
पूर्वीय सभ्यताका समाजमा नवजात शिशु सद्योकर्ममा घीउ र मह चटाउने प्रचलन पनि रहेको छ। आयुर्वेदको प्राचीन अभ्यास स्वर्णविन्दु प्राशनले बालबालिकाको प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउने एक असल जनसुरक्षित प्रभावकारी रहेको हालसम्मको उपलब्ध प्रमाणहरुको अभिलेखमा देखिन्छ। भारत, श्रीलंका लगायत विभिन्न देशमा तत् देशका राष्ट्रिय आयुर्विज्ञान संस्थान, आयुर्वेद शिक्षण अस्पताल लगायतका स्वास्थ्य संस्थामा प्रचलित छ। नेपालको प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी, आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा चितवन र आयुर्वेद तथा वैकल्पिक चिकित्सालय पर्सा बिरगञ्ज लगायतक केहि स्वास्थ्य संस्थाहरुमा विगत ३ वर्षदेखि हरेक महिनाको पुष्य नक्षत्रको दिनमा ६ महिना देखि ५ वर्ष मूनिका करिब ५० हजार भन्दा बढि बालबालिकाहरुमा खुवाईएको छ, जसमा अहिलेसम्म कुनै दुष्प्रभाव रिपोर्ट गरिएको छैन र बालबालिकाको उल्लेखनीय उपस्थिति दिन प्रतिदिन बढिरहेको देखिन्छ।
हाम्रो संघ यस प्रसङ्गमा निम्न आधार, तर्क, तथ्य र आग्रहहरू प्रस्तुत गर्न चाहन्छः
१. Evidence-Based Practice (EBP) को दृष्टिकोण
विश्वव्यापी रूपमा स्वास्थ्य अभ्यास Evidence-Based Practice (EBP) को आधारमा अघि बढाइन्छ, जसमा तीन स्तम्भहरू छन्:
• Best Available Evidence (वैज्ञानिक प्रमाण र अनुसन्धान)
• Clinical Expertise (चिकित्सकको सीप र अनुभव)
• Patient Values and Preferences (रोगी/अभिभावकको मान्यता र चाहना)
नेपालमा ‘स्वर्णप्राशन’ कार्यक्रम आयुर्वेद ग्रन्थमा उल्लेखित, नेपालमा सदियौ पहिला प्रचलनमा रहेको एवं स्वर्णप्राशनबारे भएका विभिन्न मानव क्लिनिकल अनुसन्धानहरू (PubMed, Scopus indexed journals) ले निम्न सकारात्मक निष्कर्षहरू सहित प्रमाणित गरेको तथा आम अभिभावकहरूको विश्वास, संस्कार र चाहनामा आधारित छ। यसले Patient Values and Preferences लाई समेत सम्मान गरेको छ, जुन EBP को मूल मापदण्ड हो।
सेवन गरेको बालबालिकाको स्वास्थ्य सुरक्षा प्रयोजनार्थ गरिएको Toxicology (Animal Studies, Scopus indexed) अध्ययनमा स्वर्ण भस्म १० गुणा बढी मात्रा (३–३०mg/kg) ९० दिनसम्म प्रयोग गर्दा पनि कुनै विषाक्त असर (Organ histology, liver/ kidney functions)नदेखिएको प्रमाण उपलब्ध छ।
यी प्रमाण लगायत अन्य थप प्रमाणहरूले (यसै साथ संलग्न position paper मा अनुसन्धानको विवरण उल्लेख गरिएको) स्वर्णप्राशन सुरक्षित र सम्भावित रूपमा प्रतिरक्षा प्रणालीलाई सहयोगी हुने देखाउँछन्। यद्यपि, अझ ठूला multicentric RCT आवश्यक छन् भन्ने हामी स्वीकार गर्छौं।
२. सांस्कृतिक, ऐतिहासिक र सामाजिक आयाम
घोटीचौथी (Ghotichauthi) जस्तो परम्परा प्राचीन कालदेखि नेपाल राजदरबारमै पालना गरिएको प्रमाण पाइन्छ।
आमाबाबुले आफ्ना सन्तानको भविष्य, स्वास्थ्य र प्रतिरक्षाको लागि यसलाई संस्कारको रूपमा स्वीकार गरेका छन्।
स्वास्थ्य सेवामा सांस्कृतिक सन्दर्भको एकीकरण गर्नुपर्ने सन्देश विश्व स्वास्थ्य संगठन (WHO) ले समेत दिंदै आएको छ।
३. हाम्रो स्पष्ट धारणा
यसो भन्दै गर्दा मन्त्रालय बालबच्चाको स्वास्थ्यका पूर्ण सचेत रही जारी गरिएको निर्देशिकामा आवश्यक विधि, सुरक्षा एवं सावधानीहरु, नराम्रो प्रभाव देखिएमा त्यसको अभिलेखन तथा प्राशन तुरुन्त रोक्ने निर्देशन, लाभको मुल्यांकन तथा प्राप्त तथ्यांकको अभिलेखन सबै उल्लेख गरिएको एवं आयुर्वेद स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा तयारी पारिएको स्वर्ण बिन्दु पुष्य नक्षत्रको दिनमा ६ महिना देखि ५ वर्ष मूनिका बालबालिकालाई तोकिएको मात्रा खुवाउँदा सुरक्षित र प्रभावकारी रहेकोले कुनैपनि भ्रममा नपर्नुहुन आयुर्वेद चिकित्सक संघ आम नेपाली समुदायमा हार्दिक अपील गर्न चाहान्छौ।
नेपाल आयुर्वेद चिकित्सक संघ (ADAN) को तर्फबाट हामी यस विषयमा निम्न बुँदामा स्पष्ट गर्दछौंः
• सार्वजनिक सामाजिक संजालमा अभिव्यक्त चिन्ता वैज्ञानिक छलफल र सहकार्यद्वारा समाधान हुनसक्छ; एकतर्फी विरोधले हालसम्म भएका अनुसन्धान, परम्परा, मूल्यमान्यता र संस्कृतिलाई बेवास्ता गर्न मिल्दैन।
• स्वर्णप्राशन कुनै पनि रूपमा हानिकारक छैन भन्ने वैज्ञानिक प्रमाण हालसम्म उपलब्ध छन्।
• यसले प्रतिरक्षा प्रणालीमा सकारात्मक भूमिका खेल्ने संकेत अध्ययनहरूले दिएका छन्।
• यसलाई EBP को तीन स्तम्भ (Scientific evidence, Clinical expertise, Patient preference) अनुसार स्वीकार गर्न सकिन्छ।
• अझ ठूला वैज्ञानिक अध्ययन र अन्तरसंस्था सहकार्य आवश्यक छन् भन्ने कुरा हामी पनि स्वीकार गर्छौं।
• मौलिक चिकित्साको जगेर्ना गर्नु आधुनिक चिकित्साको पनि दायित्व हुन आउछ । विभिन्न चिकित्सकीय समाजले एवं विशेषज्ञ चिकित्सकज्यूहरुले समेत आयुर्वेदमा उल्लेख गरिएका आहार विहार जीवनशैली एवं उपचार पद्दतिहरुको आधार लिएर आफ्ना मुखपत्र एवं सामाजिक संजालमा विचार प्रस्तुत गरिरहनु भएको एवं औषधि प्रयोग गरिरहनुभएको प्रति आभार समेत व्यक्त गर्दछ ।
४. हाम्रो आग्रह
हामी स्वास्थ्य मन्त्रालय, नेपाल पेडियाट्रिक सोसाइटी (NEPAS), र सबै सरोकारवालाहरू सँग सहकार्य गर्दै यो परम्परागत अभ्यासलाई वैज्ञानिक मूल्याङ्कन, गुणस्तर सुनिश्चितता, र सामाजिक स्वीकृतिका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछौं। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद, आदि सम्बन्धित निकायलाई यस कार्यक्रमको नियमित अनुगमन निरीक्षण तथा पृष्ठपोषण गरिदिनुहुन एवं आयुर्वेद चिकित्सकहरु विश्वस्त रहेको यस कार्यक्रमको दायरालाई अझ विस्तार गर्न आवश्यक थप अनुसन्धान प्रक्रिया अगाडी बढाउन अनुरोध गर्दछौं।