काठमाडौं– 'आधारभूत स्वास्थ्य’मा केन्द्रित यस वर्षको स्वास्थ्य खबर हेल्थ अवार्ड प्रदान गरिएको छ।
स्वास्थ्य खबरपत्रिका १६ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा १३ औं संस्करणको स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान गरिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयनमा स्वास्थ्यखबर फाउन्डेसनले आयोजना गरेको स्वास्थ्य खबर हेल्थ अवार्ड चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, अभियान्ता र स्वास्थ्य संस्थालाई प्रदान गरिएको हो।
काठमाडौंमा सोमबार आयोजजित एक समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले उक्त अवार्ड प्रदान गरेका हुन्।
यस वर्षको उत्कृष्ट डाक्टरको अवार्ड कटारी अस्पतालमा कार्यरत चिकित्सक डा गौरव साहले पाएका छन्।
२०७३ साल फागुन ११ गतेका दिन डा गौरव साहले पहिलोपटक कटारी अस्पतालको आंगन टेक्दा त्यो अस्पताल थिएन, कुनै ठूलो युद्धपछिको भग्नावशेष जस्तो थियो। भग्न अस्पतालका अघि बसेर संकल्प लिए, एकदिन यसलाई भरोसाको केन्द्र बनाएरै छाड्छु। कटारी अस्पताललाई त्यो व्यथाबाट यो कथामा रुपान्तरण गर्न एक दशकमा डा गौरवले गरेका संघर्षका फेहरिस्त छन्। कुनै समय पिलो चिर्न समेत असक्षम अस्पताललाई आफ्नै दोस्रो सन्तानको सिजेरियन सेक्सन गराउन अवस्थामा पुर्याएका छन्। अस्पतालको दिशा र दशा बदल्न सकेकोमा डा गौरव आफैं पनि गौरवान्वित छन्।
उत्कृष्ट नर्सको रुपमा बैतडीकी अनमी जानकी पुजाराले अवार्ड पाएकी छिन्।
जीवन के हो ? अध्यात्मिक व्यक्तित्वहरुले दिने साझा उत्तर हुन्छ- सासको सुरुवातदेखि सासको अन्त्यबीचको ‘समय’। त्यसैले सासको अर्थ प्राण हो। अनमी जानकी पुजाराले आफ्नो सास दिएर एक नवजात शिशुको ‘प्राण भरेकी’ छिन्। ६ घन्टासम्म लगातार मुखले सास दिएर शिशु जोगाउने उनको साहसको सर्वत्र प्रशंसा भइरहेको छ। उनी त्यो एउटा उनी घटनाले आम चर्चाकी पात्र बनिन्। तर संयोग नभइ उनको नियमित कर्मकै निरन्तरता थियो भन्ने उनकै स्वास्थ्य केन्द्रको तथ्यांकले दर्शाउँछ। गत वर्ष उनको सेवा क्षेत्रमा १९ जना १३ जनालाई घरमै गएर सुत्केरी गराएकी थिइन्।
उत्कृष्ट सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाका रुपमा सर्लाहीको सोना महतोले अवार्ड पाएकी छिन्।
मधेसका गाउँघरमा अझै पनि महिलाले घुम्टोभित्रै सीमित रहनुपर्ने संस्कार बलियो छ। तर सोही समाजमा ३२ वर्षीया सोना महतो महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा मात्र होइन, शिक्षादेखि सामाजिक चेतना फैलाउने अगुवा महिला बनेकी छन्। कक्षा १२ सम्म पढेकी उनले ऊर्जावान स्वास्थ्य स्वयंसेविकाको रूपमा समेत पहिचान बनाएकी छन्। सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाखोरकी उनले आफ्नो ज्ञान र सीप आफ्नै समुदायलाई समर्पण गरेकी छिन्। घुम्टोभित्र सीमित मानिएको मधेसी महिलाको जीवनयात्राबाट बाहिर निस्केर सामाजिक कार्यकर्ता र चेतनाको प्रतीक बनेकी छन्।
उत्कृष्ट स्वास्थ्यकर्मीका रुपमा कालिकोटका जनस्वास्थ्य निरीक्षक विनोदकुमार न्यौपानेले अवार्ड पाएका छन्।
कर्णाली प्रदेशको नाम सुन्नासाथ धेरैको दिमागमा कठिन जीवनशैली र अभाव दृष्य आउँछ। स्वास्थ्य सेवाको अवस्था त झन् नाजुक। त्यही अवस्थालाई बदल्न सक्रिय स्वास्थ्यकर्मीमध्ये एक हुन्, धौलागोह स्वास्थ्य चौकी, पलाँता–२ मा कार्यत विनोदकुमार न्यौपाने। उनको नेतृत्वमा धौलागोह स्वास्थ्य चौकीले न्यूनतम सेवा मापदण्डमा ३५ प्रतिशतबाट ८४ प्रतिशत अंक ल्याई जिल्लामै पहिलो भएको छ। ‘कुपोषण घटाऔँ’, ‘सुत्केरी’, ‘मेरो वर्ष’लगायत उनले स्वास्थ्य सचेतना जगाउने गीतहरु पनि गाएका छन्। ती गीत तालिम, गोष्ठी र विभिन्न कार्यक्रममा पनि देखाउने र सुनाउने गरिन्छन्। त्यसकारण उनलाई स्थानीयले ‘कलाकार डाक्टर’ भनेर सम्बोधन गर्छन्।
उत्कृष्ट जनस्वास्थ्यकर्मीका रुपमा पर्वतका हरि प्रसाद भुसालले अवार्ड पाएका छन्।
जनस्वास्थ्य अधिकृत हरि प्रसाद भुसाल अहिले पर्वतको विहादी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख छन्। स्वास्थ्य सेवा वितरणमा मात्र सीमित राख्न नहुने मान्यताका उनी नवीनता र स्थायी समाधानमा केन्द्रित भएर काम गर्छन्। उनको उक्त दृष्टिकोणले पालिकाको स्वास्थ्य सूचकांकमा उल्लेखनीय सुधार ल्याइरहेको छ। अन्य पालिका र माथिल्लो निकायले पनि उनको कामलाई अनुकरणीय बताइरहेका छन्। स्वास्थ्य सेवा अधिक पहुँचयोग्य र पारदर्शी बनाएका कारण उनको कामको प्रशंसा भइरहेको छ।
उत्कृष्ट संस्थामा कोल्टी आधारभूत अस्पताल र आयुर्वेद तर्फ मातातिर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालले अवार्ड पाएका छन्।
बाजुराको बुढिनन्दा नगरपालिकामा रहेको कोल्टी आधार अस्पताल, पालिका अस्पताल होइन, कालिकोट, हुम्ला र मुगु र बाजुराका गरी १७ पालिकाका पालिकाहरुको अस्पताल हो। तर, ती वर्षअघिसम्म अस्पतालमा बिरामी उपचार गरेर भर्ना गर्ने कुराको परिकल्पना पनि गर्न सकिन्नथ्यो। जहाज कुर्दाकुर्दै बिरामीको ज्यान गएका समाचार सुनिन्थ्यो। पालिका प्रमुखमा निर्वाचित भएर आएपछि मेयर जनककुमार बोहराले प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउने संकल्प लिए र स्वास्थ्य शाखा प्रमुख ओमजंग शाहीले आड दिए। दिलोज्यान दिएर काम गर्ने डाक्टर रन्जित साह त्यहाँ पुगे। आज कोल्टी अस्पतालले काया फेरेको छ र उपचार सेवामा कायापलट भएको छ।
मातातिर्थ आयुर्वेद तथा बैकल्पिक चिकित्सा अस्पताल उत्कृष्ट आयुर्वेदिक सेवाका लागि मात्रै होइन, वैकल्पिक चिकित्साकै साख बढाइरहेको अस्पतालका रूपमा आयुर्वेद क्षेत्रले लिएको छ। किनकि वैकल्पिक चिकित्सामा भरोसा गर्न छाडेकाहरू पनि त्यहाँ पुगेपछि भर गर्ने अवस्था बनेको छ। विदेशीहरू समेत त्यहाँ पुगेर सेवा लिन्छन्। बितेका ४ वर्षमा अस्पताल प्रमुख नारायण आचार्यले गरेको मेहनतका कारण अस्पताल आयुर्वेदिक सेवामा ‘आदर्श’ बबनेको छ। त्यही क्षेत्रमा होटल तथा रिसोर्ट सञ्चालन गर्नेहरूका लागि ‘व्यवसायिक आइडिया’ पनि बनेको छ। अस्पतालले आयुर्वेद, प्राकृतिक चिकित्सा र नेचुरोप्याथीमा दिइरहेको सेवाबाट प्रभावित हुनेहरु बढ्दो क्रममा छन्।
उत्कृष्ट स्वास्थ्य शिक्षा प्रवर्धकमा शिला श्रेष्ठले अवार्ड पाएकी छिन्।
अध्ययनका दृष्टिबाट स्वास्थ्य विज्ञान हो तर सन्देश उत्पादन र कार्यान्वयनका कुरा गर्दा ‘समाजशास्त्र’को हिस्सा जस्तो देखिन्छ। त्यसैले पनि स्वास्थ्य सूचना उत्पादन, प्रशारण र प्रभावकारिताको प्रक्रिया जटिल हुन्छ। त्यो जटिल विषयलाई सजिलोगरी कार्यान्वयन गर्नमा निरन्तर सक्रिय व्यक्तित्व हुन् शिला श्रेष्ठ । देश संघीयतामा गएको छ । तीनै तहमा स्वास्थ्य शिक्षाका कार्यक्रम छन् र ती कार्यक्रम सञ्चालन गर्ने अधिकारी तोकिएका छन् । तर, ती सबैको कार्यक्रमका लागि आवश्यक सन्दर्भ सामाग्री, प्रस्तुति, सन्देश र सूचना निर्माणका लागि सबैले सम्झिने पात्र भने शिला श्रेष्ठ नै हुन्।
उत्कृष्ट स्थानीय सरकारमा राप्ती गाउँपालिकाले अवार्ड पाएको छ।
नेपालमा स्थानीय सरकारको काम सम्झिँदा प्रायः मानिसको दिमागमा सडक, पुल, भवन वा कारखानाको तस्वीर आउँछ । तर, कतियपले स्वास्थ्य र शिक्षालाई पनि प्राथमिकतामा राखेका छन्। व्यवहारिक जीवनका यिनै आधारभूत आवश्यकतलाई प्राथमिकतामा राख्ने मध्येमा पर्छ- दाङको राप्ती गाउँपालिका। पालिकाका अध्यक्ष प्रकाश विष्ट स्वास्थ्य पेशामै २१ वर्ष बिताएका व्यक्ति भएका कारण पनि राप्तीमा स्वास्थ्यले प्राथमिकता पाएको हो। राप्ती गाउँपालिकाले आफ्ना सीमित स्रोतसाधनलाई प्रयोग गरेर मात्र होइन, विभिन्न संस्था र अस्पतालसँग सहकार्य गरेर उल्लेखनीय स्वास्थ्य अभियान चलाएको छ।
उत्कृष्ट अभियान्तामा उज्ज्वल विक्रम थापाले अवार्ड पाएका छन्।
उज्ज्वल विक्रम थापा जलनबारे सचेतना फैलाउन विभिन्न स्कुल-समुदायमा पुग्छन्। त्यसक्रममा उनले सोध्ने साझा प्रश्न हुन्छ- तपाईंले जलनको अनुभव गर्नुभएको छ? आफ्नो अनुभूति सुनाउन तँछाडमछाड गर्ने भीडले जम्मा दुईटा घटना सुनाउँछन्- तरकारी/अन्डा फ्राइ गर्दा उछिट्टिएको तेलले हात चसक्क पारेको र तातो कराइ समात्दा डामेको। जलनको शारीरिक मात्रै होइन, मानसिक र सामाजिक पीडा पनि भित्रैबाट महशुस गर्ने व्यक्ति थापा हुन्। उनी दुई दशकदेखि जलन पीडितका पक्षमा नीति निर्माणमा वकालत गर्दै आएका छन् भने उपचार गर्न नसकेकाहरुको भरोसाको मल्हम बनिरहेका छन्।
यसका साथै अवार्ड कार्यक्रममा नेपालको स्वास्थ्य क्षेत्रमा २७ वर्षभन्दा लामो समयदेखि सहयोग गर्दै आइरहेका इन्टरप्लास्टका संस्थापक जर्मनीका हेन स्थलले विशेष सम्मान पाएका छन्।
स्वास्थ्य सेवाको क्षेत्रमा उहाँले पुर्याउनुभएको दीर्घकालीन समर्पण र उल्लेखनीय योगदानको कदरस्वरूप यो प्रशंसा–पत्र प्रदान गरिएको हो। जर्मन नागरिक भएर पनि नेपालप्रति विशेष आत्मीयता राख्दै, विशेषतः सामान्य उपचार सेवामा लामो समयदेखि निरन्तर सेवा पुर्याउनु भएको छ। उनको अथक प्रयासले असंख्य नेपाली नागरिकलाई उपचार र आशा प्रदान गरेको छ, साथै नेपाल–जर्मनी मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाएको छ ।
अमेरिका नेपाल मेडिकल फाउन्डेसलाई पनि विशेष सम्मान गरिएको छ।
नेपालमा चिकित्सा ज्ञान, सीप तथा प्रविधि हस्तान्तरणमार्फत स्वास्थ्य सेवा क्षेत्रको उन्नति र विकासमा पुर्याएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै, साथै विभिन्न क्षेत्रमा आर्थिक सहयोगद्वारा समाज कल्याणमा देखाएको सक्रिय भूमिकाको स्मरणस्वरूप स्वास्थ्य खबर हेल्थ अवार्ड २०८२ अन्तर्गत विशेष सम्मान प्रदान गरिएको हो। अमेरिकामा रहेका नेपाली चिकित्सकहरूको साझा पहलमार्फत, नेपाल र नेपाली जनताको स्वास्थ्य क्षेत्रमा पुर्याएको सहयोग, प्रतिबद्धता र अमूल्य योगदानप्रति हामी हार्दिक आभार व्यक्त गर्दै यस संस्थालाई यस सम्मानमार्फत उच्च सम्मान अर्पण गर्दछौँ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि विशेष सम्मान गरिएको छ।
७ वटा प्रदेशमध्ये प्रदेशस्तरबाट सञ्चालित पहिलो मेडिकल कलेज हो। मधेश प्रदेशमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै स्वास्थ्य खबर हेल्थ अवार्ड २०२८ अन्तर्गत यो विशेष सम्मान प्रदान गरिएको हो।यस प्रतिष्ठानले आमजनतालाई प्रभावकारी उपचार सेवा उपलब्ध गराउँदै आएको छ। साथै, विद्यार्थीहरूलाई चिकित्साशास्त्र अध्ययनका अवसर प्रदान गरी चिकित्सा शिक्षा क्षेत्रलाई समृद्ध बनाउन देखाएको अग्रणी भूमिकाको लागि हामी यस मञ्चमा हार्दिक आभार प्रकट गर्दै यो सम्मान अर्पण गर्दछौँ।
नोट: अवार्ड र विशेष सम्मान पाउनेहरुको योगदानसहितको विस्तृत विवरण हामी क्रमश: प्रकाशन गर्दै जाने छौं।

.JPG)
.JPG)
.JPG)
.JPG)