यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत स्थानीय तह विधामा उत्कृष्ट स्थानीय तहको अवार्ड दाङको राप्ती गाउँपालिकाले पाएको छ।
नेपालमा स्थानीय सरकारको काम सम्झिँदा प्रायः मानिसको दिमागमा सडक, पुल, भवन वा कारखानाको तस्वीर आउँछ। नागरिकले सरकारसँग अपेक्षा गर्दा पनि त्यही भौतिक संरचनाको विकासलाई अगाडि सार्छन्। तर, प्रश्न उठ्छ—स्वास्थ्य र शिक्षा कति प्राथमिकतामा छन् ? व्यवहारिक जीवनमा यिनै क्षेत्र नागरिक जीवनका आधारभूत आवश्यकता हुन्। तर धेरैजसो स्थानीय सरकारले यसलाई प्राथमिकतामा राख्न सकेका छैनन्।
तर, यस धारणामा अपवाद बनेको छ- दाङको राप्ती गाउँपालिका। यहाँ स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर स्थानीय सरकारले आफूलाई फरक ढंगले प्रस्तुत गरेको छ।
स्वास्थ्यकर्मीकै नेतृत्व
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट स्वास्थ्य पेशामै २१ वर्ष बिताएका व्यक्ति हुन्। उनले गाउँमै स्वास्थ्य क्लिनिक सञ्चालन गरेर स्थानीयको सेवा गरेका थिए। उनी भन्छन्, ‘मैले धेरै बिरामीलाई उपचार नपाएर ज्यान गुमाउनुपरेको देखेँ। जसको खल्तीमा पैसा थिएन, उसले उपचार नै पाउँदैनथ्यो। राती चोटपटक लागेमा निजी क्लिनिक बाहेक विकल्प थिएन।‘ यही पीडादायी अनुभवले उनलाई राजनीति र नेतृत्वमा ल्यायो। गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि उनले पहिलो निर्णयमै २४ सै घण्टा मेडिकल अफिसरसहित स्वास्थ्य केन्द्र सञ्चालन गर्ने प्रस्ताव अघि सारे।
२०७९ भदौदेखि लालमटिया र सिसहनिया स्वास्थ्य चौकीमा २४ सै घण्टा सेवा सुरु भयो। अहिले यी स्वास्थ्य केन्द्रमा मेडिकल अफिसरसहित उपचार सेवा निरन्तर भइरहेको छ। यसबाहेक, गाउँपालिकाका दुर्गम वडासम्म स्वास्थ्य सेवा पुर्याउन ७ वटा स्वास्थ्य इकाइ र ४ वटा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ। यसबाट पहिला स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका बस्तीले पनि सहज रूपमा उपचार पाउन थालेका छन्।

आधारभूत अस्पताल सञ्चालन
स्थानीय सरकार मात्र होइन, संघ सरकारको सहयोगमा बनेको राप्ती आधारभूत अस्पताल अहिले गाउँपालिकाको गर्व बनेको छ। संघ सरकारको १८ करोड र गाउँपालिकाको ३ करोडभन्दा बढी लागतमा बनेको यो अस्पताल २०८१ माघमा सम्पन्न भयो।
अस्पतालमा हाल ३५ जना स्वास्थ्यकर्मी र २ जना एमडीजीपी चिकित्सक कार्यरत छन्। यसले घोराही वा बाहिरी जिल्लामा जानुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्य लिएको छ। गाउँपालिकाले लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती प्रादेशिक अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरेर विशेषज्ञ चिकित्सक ल्याउने काम पनि थालेको छ।
मातृ–शिशु स्वास्थ्यमा विशेष जोड
नेपालकै ग्रामीण क्षेत्रका लागि सबैभन्दा चुनौतीपूर्ण पक्ष भनेको मातृ तथा शिशु स्वास्थ्य हो। राप्ती गाउँपालिकाले यसलाई विशेष प्राथमिकता दिएको छ। गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गरिएको छ।
महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक १५ सय प्रोत्साहन उपलब्ध छ। गाउँपालिकाका ८ वटा वडामा शून्य घरमै प्रसूति घोषणा भइसकेको छ। बाँकी एक वडालाई पनि चाँडै समेट्ने योजना छ। यससँगै, गर्भवती, सुत्केरी, जेष्ठ नागरिक र अशक्तलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध छ।
सामुदायिक स्वास्थ्य अभियानहरू
राप्ती गाउँपालिकाले आफ्ना सीमित स्रोतसाधनलाई प्रयोग गरेर मात्र होइन, विभिन्न संस्था र अस्पतालसँग सहकार्य गरेर उल्लेखनीय स्वास्थ्य अभियान चलाएको छ।
तिलगंगा आँखा अस्पतालसँग सहकार्यमा १,५०० जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया गरिएको छ। रोटरी क्लव अफ राप्ती र हर्ट फाउन्डेशनसँग मिलेर ५,००० बालबालिकाको परीक्षण, पालिकाभित्रका सामुदायिक र निजी विद्यालयमा ११,००० भन्दा बढी विद्यार्थीको आँखा परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण राउत बताउँछन्।
महिलामा हुने पाठेघर मुखको क्यान्सरको जोखिमलाई लक्षित गर्दै अहिलेसम्म ३०० भन्दा बढी महिलाले स्क्रिनिङ गराइएको पालिकाले जनाएको छ।
अध्यक्षसँग जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम अन्तर्गतथ मासिक रूपमा विशेषज्ञ टोली वडामा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिन्छ। उपाध्यक्ष कोसेली कार्यक्रममा सुत्केरी महिला र नवजात शिशुलाई लक्षित गरी कोशेली प्रदान गरिन्छ। नसर्ने रोग अभियानमा मधुमेह, मुटुरोगजस्ता रोग पहिचान गर्न नियमित परीक्षण रहेका छन्। यसरी गाउँपालिकाले स्वास्थ्यलाई घरदैलोमै पुर्याउने काम गरिरहेको छ।
राप्ती गाउँपालिकाले दीर्घरोगीलाई आर्थिक सहयोग गर्ने नीति बनाएको छ। क्यान्सर बिरामीलाई १० हजार रुपैयाँ, मुटुरोग, मृगौला रोग, सिकलसेल र पक्षघातका बिरामीलाई ५ हजार, एच.आई.भी. संक्रमितलाई मासिक ५ सय र पोषण खर्चका लागि १ हजार रुपैयाँ दिने नीत रहेको छ।
स्वास्थ्य क्षेत्रमा गरेको असाधारण योगदानकै कारण राप्ती गाउँपालिका लगातार ४ वर्ष दाङकै उत्कृष्ट पालिका घोषित भइसकेको छ। स्वास्थ्यका २१ वटा सूचक र ५ वटा विशेष सूचकमा पालिकाले उच्च अंक ल्याएको स्वास्थ्य शाखा प्रमुख राउत बताउँछन्।
चुनौती र आगामी योजना
तर उपलब्धिहरूका बाबजुद पनि गाउँपालिका समस्यामुक्त छैन चिकित्सक र विशेषज्ञ स्वास्थ्यकर्मी पाउन निकै कठिनाइ छ। प्रदेश सरकारकै अस्पतालमा पनि विशेषज्ञ अभाव छ, त्यसमाथि स्थानीय सरकारले त अझै ठूलो चुनौती भोग्नु परेको छ। गाउँपालिकामा श्रोत सीमित छ तर जनताको अपेक्षा उच्च रहेको अध्यक्ष विष्टको अनुभव छ।
संघ सरकारले अस्पताल बनाउन सहयोग गरे पनि प्रदेश सरकारबाट अपेक्षित सहयोग अझै प्राप्त नभएको उनी बताउँछन्। अध्यक्ष विष्ट भन्छन्, ‘तीनै तहका सरकार मिलेर जनशक्ति व्यवस्थापनमा ध्यान दिन जरुरी छ। नत्र अस्पताल निर्माण गरेर मात्रै स्वास्थ्य सेवा सुधार हुँदैन।‘
राप्ती गाउँपालिकाले आगामी वर्षहरूमा आधारभूत अस्पताललाई विशेषज्ञ सेवासहितको गुणस्तरीय अस्पताल बनाउने योजना अघि सारेको छ। सिजेरियन सेवा थप्ने, विशेषज्ञ ल्याएर बाहिर धाउनुपर्ने बाध्यता अन्त्य गर्ने र गुणस्तरीय र सस्तो सेवा दिने योजना छन्।
यसैबीच भालुवाङमा ५० शैयाको प्रादेशिक अस्पताल निर्माण हुँदैछ। यसले गाउँपालिका र प्रदेशबीच समन्वयात्मक स्वास्थ्य सेवा विस्तार गर्न मद्दत गर्ने विश्वास गरिएको छ। अध्यक्ष प्रकाश विष्ट भन्छन्, ‘मेरो सपना छ—कसैलाई पनि आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस्। त्यसैले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएका छौं।‘ उनको यो भनाइ मात्र हैन, राप्ती गाउँपालिकामा देखिएका कार्यक्रम र उपलब्धिहरूले यो सपना व्यवहारमा परिणत हुँदै गएको देखिन्छ।