स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत यस वर्षको उत्कृष्ट डाक्टरको अवार्ड कटारी अस्पतालमा कार्यरत चिकित्सक डा गौरव साहले पाएका छन्।
लोकसेवाबाट आठौँ तहमा नाम निस्केपछि स्वास्थ्य सेवामा औपचारिक रूपमा प्रवेश गर्ने दिनलाई डा. गौरव साहले विशेष बनाउने योजना बनाए। आफ्नो जन्मदिनकै अवसर पारेर २०७३ साल फागुन ११ गतेका दिन डा. साहले पहिलोपटक कटारी अस्पतालको आँगन टेके।
तुलनात्मक रूपमा ‘सुगम’ ठाउँमा रहेको अस्पताललाई लिएर उनको दिमागमा अर्कै चित्र थियो। तर जब अस्पतालको ढोकाबाट भित्र प्रवेश गरे, त्यो त्यहाँको दृष्य कहीलीलाग्दो थियो। दुई तल्ले नयाँ भवन ६ वर्षदेखि हस्तान्तरण नहुँदा सुनसान थियो, पुरानो भवन जिर्ण अवस्थामा थियो। त्यही पुरानो भवनमा खोप सेवा सञ्चालन भइरहेको थियो भने नयाँ भवनको भुइँतल्लामा इमरजेन्सी, ल्याब, ओपीडी र भिडियो एक्स–रे सेवा सीमित मात्र सञ्चालनमा थिए। भुइँतल्ला बाहेक बाँकी भवन खाली थियो।
अस्पताल छिरेर उनले बाहिर हेरे— अस्पतालका कार्यालय सहयोगी ‘विष्णु दाइ’ पारीको धाराबाट गाग्रीमा पानी बोकेर फर्किँदै थिए। त्यहीबेला, अस्पतालमा नि:शुल्क पाइने सिटामोल खान बिरामीले २० रुपैयाँ तिरेर पानी किनेको दृष्य देख्दा उनको मन चसक्क भयो। युवा जोशसहित अस्पताल पसेका उनले भग्न अस्पतालकै आँगनमा बसेर संकल्प लिए—"यसलाई भरोसाको केन्द्र बनाएरै छाड्छु।"

आज कटारी अस्पतालमा पुग्नेले १० वर्षअघिको त्यो दृष्य पत्याउन सक्दैनन्। किनभने आजको कथा पूर्ण रूपमा फरक छ। त्यो व्यथाबाट यो सफलताको कथामा रुपान्तरण गर्न डा. गौरवले गरेको दशक लामो संघर्षको फेहरिस्त उनीसाध्य छैन। अस्पतालको दिशा र दशा बदल्न सकेकोमा उनी स्वयं गौरवान्वित छन्।
कुनै समय पिलो चिर्न समेत असक्षम रहेको अस्पताललाई उनले आज आफ्नै दोस्रो सन्तानको सिजेरियन शल्यक्रिया निःसंकोच गर्न सक्ने अवस्थामा पुर्याएका छन्। कागजमा १५ बेड तर सेवा विहीन अस्पताललाई आज ५० बेडको सुविधासम्पन्न अस्पतालमा रुपान्तरण गरेका छन्।
आफ्नो कार्यकाललाई “अस्पतालमा के छैन?” भन्ने प्रश्नबाट सुरु गरेका थिए। अहिले अस्पतालमा विभिन्न विशेषज्ञ उपचार सेवा त उपलब्ध छन् नै। साथै ब्लड बैंक, ‘ख’ वर्गको एम्बुलेन्स सेवा, ल्याबमा कल्चर परीक्षणका लागि बजेट सुनिश्चित समेत भइसकेको छ, शुद्ध खानेपानी छ, २४ सै घन्टा उपलब्ध कर्मचारी छन्, र करोडौँको बजेट सुनिश्चित छ।
नेतृत्व समेत हस्तान्तरण गर्ने उदारता
संघीयता लागू नभइसकेको अवस्थामा १५ बेडको उक्त अस्पताल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत थियो। मन्त्रालयले भवन बनाएको थियो तर हस्तान्तरण भएको थिएन। सुरुमा नै उनले अस्पताल विकास समिति, शहरी विकास कार्यालय र स्थानीय सरोकारवालाहरूसँग बैठक बोलाए। सबैको रोहबरमा भवन हस्तान्तरण गराउन सफल भए। केही गर्ने हुटहुटीका साथ मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी लिएका उनलाई यो पहिलो सफलताले अझ हौस्यायो।
त्यसपछि उनी स्वास्थ्य मन्त्रालय र निक साइमन्स इन्स्टिच्युटसँग अस्पताल व्यवस्थापन सहज बनाउन आवश्यक बजेट मिलाउने पहलमा लागे। उनले अस्पताल सेवा सुधारका लागि राखेको प्रस्तावलाई दुवै निकायले सकारात्मक भावले स्वीकार गरे र सहयोग सुरु भयो। त्यसपछि उनी उपकरणको जोहोमा लागे। उनी सम्झिन्छन्—“टेकुस्थित आपूर्ति व्यवस्थापन केन्द्र र पथलैयाको स्टोरबाट करोडौँको उपकरण भित्राउन सफल भएँ। स्टोरका कर्मचारीले भन्थे– अरु ठाउँका डाक्टर यसरी धाउँदैनन्।”
उनले नियुक्ति पाएको तीन महिनामै बिरामी भर्ना सेवा सुरु गरे, ल्याबलाई २४ घण्टा विस्तार गरे, प्रत्यक्ष चिकित्सकको निगरानीमा २४ घण्टा इमरजेन्सी सेवा सञ्चालन गरे, अस्पताल फार्मेसी स्थापना गरे र अन्य सेवाहरूलाई व्यवस्थित र नियमित गर्न सफल भए।
त्यो काम भएपछि सामान्य समस्यामा बिरामी बाहिर रिफर हुने क्रम रोकियो। अस्पतालको अवस्था सुध्रिँदै गएको खबरले स्थानीयमा आशा जगायो। उनीहरू व्यक्तिगत रूपमा भेटेर सहयोग गर्ने प्रतिबद्धता जनाउन थाले। अस्पतालका कर्मचारीमा पनि उत्साह बढ्यो। “२०७५ सालमा स्थानीय निकायको चुनाव भएपछि झन् सहज भयो। कटारी अस्पताल कटारी नगरपालिकाको मातहत आयो। एमालेका तर्फबाट निर्वाचित मेयर ज्ञानेन्द्र श्रेष्ठज्यूबाट राम्रो साथ र सहयोग पाएँ,” उनी सम्झिन्छन्।
अन्य सेवाहरू सुरु भएपछि उनलाई महसुस भयो—अब आकस्मिक प्रसूति सेवा अत्यावश्यक छ। प्रसूति र सुरक्षित गर्भपतनका लागि आवश्यक उपकरण उनले पहिल्यै उपलब्ध गराइसकेका थिए। सुरक्षित गर्भपतनका लागि आफैं तालिम लिएर संस्था दर्ता गराए। तर सिजेरियन सेक्सनका लागि दुई विकल्प मात्र थिए—पहिलो, आफैं तीन महिनाको तालिम लिनु; दोस्रो, एमडीजीपी वा तालिम प्राप्त चिकित्सक ल्याउनु। आफू तालिममा जाँदा व्यवस्थापनमा आएको लय भत्किने डर भएकाले उनी चिकित्सक खोज्न लागे।
त्यही क्रममा थाहा पाए—नजिकैको गाईघाटस्थित अस्पतालमा रहेका एमडीजीपी डा. पवन साह सरुवा हुन खोज्दैछन्। डा. पवन डा. गौरवका अग्रज थिए। उनलाई ल्याउनु भनेको आफूले नेतृत्व त्याग्ने उदारता देखाउनु थियो। तर स्थानीय सेवाको ख्याल गर्दै उनी त्यसका लागि तयार भए।
१ वर्ष ८ महिना ३० दिनसम्म अस्पतालको नेतृत्व गरेर लयमा ल्याइसकेपछि उनले नेतृत्व हस्तान्तरण गर्दै डा. पवनलाई ल्याए र आफू उनी अधीनस्थ भएर सहयोग गर्न थाले। त्यसपछि कटारी अस्पतालको कायापलट सुरु भयो। आकस्मिक प्रसूति सेवा सुरु भएको दिन राष्ट्रिय सञ्चारमाध्यमहरूले समेत प्राथमिकताका साथ समाचार छापेका थिए। त्यस बेला परिवार कल्याण महाशाखाका फोकल पर्सन इन्द्र प्रजापतिले उनलाई धन्यवाद दिँदै हौसला बढाउनुका साथै सहयोग समेत गरेका थिए भन्ने उनी सम्झन्छन्।
त्यस अवधिमा अस्पतालको न्यूनतम सेवा मापदण्ड स्कोर ५६ प्रतिशतबाट बढेर ८६ प्रतिशत पुग्यो। अस्पतालले ‘स्वास्थ्य खबर हेल्थ अवार्ड २०१९’ समेत प्राप्त गर्यो।
२०७६ साल भदौमा उनी प्याथोलोजी विषयमा विशेषज्ञता हासिल गर्न ३ वर्षका लागि अध्ययन विदामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान गएका थिए।
फेरि ओरालोतर्फ अस्पताल र पुनरागमन
उनलाई लागेको थियो—“अब जसले पनि चलाउन सक्छ, सब ठीक छ।” तर, उनी अध्ययन विदामा गएपछि डा. पवनको पनि सरुवा भयो। स्थायी चिकित्सकको अभावले अस्पतालको सेवा प्रवाहमा असर पर्न थाल्यो। करारका केही चिकित्सकले सेवा दिन प्रयत्न गरे तर अवस्था बिग्रिँदै गयो। कोभिड–१९ को समयमा झन् समस्या चुलियो। अस्पतालको न्यूनतम सेवा स्कोर ८६ प्रतिशतबाट घटेर ४१ प्रतिशतमा पुग्यो।
अध्ययन सकेर उनी २०७९ पुस ५ गते फेरि अस्पताल फर्किए। यसबीच स्थानीय तहको दोस्रो निर्वाचन भइसकेको थियो। यसपटक नेपाली कांग्रेसका राजेश चन्द्र श्रेष्ठ मेयर बनेका थिए। पहिले काम गर्दा नै उद्योग वाणिज्य संघमा रहेर डा. गौरवको काम नियालेका श्रेष्ठले उनी अध्ययन सकेपछि अस्पतालमै फर्कन आग्रह गरे। डा. गौरवले भनेका थिए—“मैले पढेको विषयले कटारीलाई त्यति फाइदा नहोला।” तर, मेयर श्रेष्ठले केही महिना बसेर अस्पताललाई व्यवस्थित बनाउन आग्रह गरेपछि उनी फर्किए।
तर परिस्थिति पहिले जस्तो सहज थिएन। स्थानीय सरकारसँग स्रोतको सीमा थियो, निक साइमन्स इन्स्टिच्युटको सहयोग पनि ‘फेज–आउट’ हुने अवस्थामा पुगेको थियो। त्यसैले उनले पुरानो जस्तो गति दिन चुनौती महसुस गरे।
उनी फेरि धाउन थाले—संघीय आपूर्ति व्यवस्थापन, जिल्ला जनस्वास्थ्य कार्यालय र कोशी प्रदेश सरकारकहाँ। त्यसरी उनले दुई करोडभन्दा बढीका औजार–उपकरण जुटाए। उनको पुरानो अनुभव र समन्वय क्षमताको लाभ उनले यसपटक पनि पाए। उनी सम्झन्छन्—“नि:शुल्क औषधि व्यवस्थापन गर्न अन्तरप्रदेशसमेत समन्वय गरेर ३५ लाख बराबरको औषधि मधेश प्रदेशको आपूर्ति व्यवस्थापनमार्फत प्राप्त गरी वितरण गरेका थियौं। कोभिडमा थन्काइएका उपकरण पुन: सञ्चालनमा ल्यायौं। फर्निचर मर्मत गरियो। अहिले पनि अस्पताल घुम्न आउनेले भ्याक्सिन क्यारियरबाट बनाएको सोफा र टेबल देखेर फोटो खिच्छन्।”
पहिले २० रुपैयाँ तिरेर किन्नुपर्ने सिटामोल र पानीको बाध्यता उनले वाटर प्लान्ट जडान गरेर हटाएका थिए। तर डेढ वर्षदेखि बिग्रिएको त्यो प्लान्टलाई उनले पुनः मर्मत गराए। शल्यक्रियामार्फत प्रसूति सेवाका लागि नगरपालिकासँग समन्वय गरेर अझ प्रभावकारी बनाए। आमजनमा अस्पतालप्रति विश्वास जगाउन उनले आफ्नै दोस्रो सन्तानको ‘सिजेरियन सेक्सन’ त्यहीँ अस्पतालमै गराए। उनी भन्छन्—“राम्रो सुविधा सम्पन्न अस्पताल बनाउनु मात्र हैन, आफूले दिएको सेवामाथि आफैंले भरोसा गर्नुपर्छ भनेर त्यहीँ गराउने निर्णय लिएँ। श्रीमतीले साथ दिनुभयो। सबैले प्रशंसा गरे। पहिले ठूलो अस्पताल खोज्दै जानेहरू पनि यहीँ आउन थाले।”
नगरपालिकाको समन्वयमा उनले बालरोग, जनरल सर्जरी र सर्पदंश उपचार सेवा पनि प्रभावकारी बनाएका छन्। उनी भन्छन्—“हाम्रो देशमा अहिले पनि धेरै अस्पतालले सर्पदंशको उपचार गर्न मान्दैनन्। विष काट्ने औषधिको व्यवस्थापन र उपचारको क्रममा हुने तनावपूर्ण अवस्था ठूलो चुनौती हो।” भेरी अस्पतालमा काम गर्दा पाएको अनुभवका कारण उनले कटारीमा पनि यो सेवा सुरु गराए। नगरपालिकासँगको छलफलपछि सुरु गरिएको यो सेवाबाट हालसम्म ४०० भन्दा बढी बिरामी लाभान्वित भइसकेका छन्। सर्पको टोकाइ ठूलो समस्या रहेको यस क्षेत्रमा यो सेवाले ठूलो राहत दिएको छ।
अस्पतालको खर्चमा १६ वटा सामुदायिक विद्यालयका २५०० विद्यार्थीलाई १४ दिनसम्म जनचेतना कार्यक्रम सञ्चालन गरियो। अहिले सर्पदंशका बिरामीको संख्या ३० प्रतिशतले घटेको तथ्यांक छ।
नगरको समन्वयमा उनले सेवाग्राहीलाई स्वास्थ्य बीमा गर्न अभियान नै चलाए। उनको भनाइमा, अस्पतालमा आउने बिमितको संख्या ८ प्रतिशतबाट बढेर अहिले करिब ५० प्रतिशत पुगेको छ।
नवौँ तहमा बढुवा तर स्थानीयको अनुरोध
२०८१ जेठ २७ गते लोकसेवा आयोगले कार्यक्षमताको आधारमा उनलाई नवौँ तहको कन्सल्टेन्ट प्याथोलोजिस्ट पदमा बढुवा गर्यो। उनलाई लागेको थियो—“अब अस्पतालको सुदृढीकरण पनि भयो, थप सेवा विस्तार पनि भयो, बढुवा पनि भयो, अब यहाँबाट जानुपर्छ।”
तर जब उनी अस्पताल छोड्दैछन् भन्ने कुरा स्थानीय प्रतिनिधिहरूलाई थाहा भयो, उनीहरू केही समय अझै काम गरिदिन अनुरोध गर्न थाले। उनले भनेका थिए—“अब बिदा दिनुहोस्, यहाँ मैले गर्न सक्ने जति गरिसकेँ।” तर निरन्तरता दिन गरेको आग्रह अस्वीकार गर्न सकेनन्। दिइरहेको सेवाको निरन्तरतामा आफैं पनि सन्तुष्ट हुनुपर्ने ठाने। त्यसपछि उनले फेरि नयाँ अभियान सुरु गरे।
क्यान्सर रोग निदानका लागि आवश्यक सेवा—एफएनएसी, पीबीसी आदि सुरु गरे। अस्पतालको न्यूनतम सेवा मापदण्ड स्कोर ८८ प्रतिशतमा पुगेपछि देशभरिकै नगर अस्पतालमध्ये ‘ग्रिन जोन’ मा पर्ने एकमात्र अस्पतालका रूपमा कटारी अस्पताल परिचित भयो।
यसबिचमा उनले कटारी अस्पताललाई नगरपालिका मातहतको १५ शैयाबाट प्रदेश मातहतको ५० शैयाको अस्पतालमा स्तरोन्नति गर्न हरसम्भव प्रयास गरे। विभिन्न चरण पार गर्दै अन्ततः कटारी अस्पताल कोशी प्रदेश मातहत ५० शैयाको अस्पतालमा स्तरोन्नति भएको छ।
कोशी प्रदेश मुख्यमन्त्री कार्यालयबाट उनले प्रदेशस्तरीय कटारी अस्पतालको पहिलो मेसु (मेडिकल सुपरिटेन्डेन्ट) को जिम्मेवारी पाएका छन्। आर्थिक वर्ष २०८२/८३ मा कटारी अस्पताल पूर्ण रूपमा प्रदेश सरकार मातहत पुगेको छ। यसरी कोशी प्रदेशको सबैभन्दा कान्छो प्रादेशिक अस्पताल बनेको छ।
प्राथमिक स्वास्थ्य केन्द्रदेखि स्थानीय सरकारको मातहतको अस्पताल हुँदै प्रदेश मातहतको ५० शैयाको प्रादेशिक अस्पतालमा रूपान्तरण हुँदा आएका अनेक अनुभव उनीसँग छन्।
उनी भन्छन्—“२०७८/७९ देखि २०८१/८२ को तथ्याङ्क हेर्दा आन्तरिक स्रोत र सेवा प्रभाव २०० देखि ३०० प्रतिशतले बढेको छ। २०८२/८३ सम्भवत: यस अस्पतालमा मेरो अन्तिम आर्थिक वर्ष हुनेछ। यो एक वर्षमा कटारी अस्पताललाई प्रदेशकै उत्कृष्ट अस्पताल बनाउने मेरो प्रयास रहनेछ। मेरो प्रयास मात्र हैन, यसलाई सम्भव बनाउन कर्मचारी, जनप्रतिनिधि र माथिल्लो निकायमा रहेका सबैको साथ र सहयोग महत्वपूर्ण छ।”