ऐया आत्था भन्दै म कराइरहँदा, ढाड दुखेर म छटपटाइरहँदा
रगतको खोलो बगेसरी रगत बगिरहँदा, आफू सुतेर उठ्न नसक्ने भइरहँदा
मेरो मन र मस्तिष्क बीच युद्ध चलिरहँदा, कहिले झनक्क रिस उठ्दा
त कहिले धुरु-धुरु रुन मन लागिरहँदा
मेरो शरीरमा म महिनावारी हुदा बिभिन्न मानसिक एवं शारीरिक परिवर्तन भइरहँदा
के मलाई यसरी छुट्टयाएर राख्नु आवश्यक छ र?
मेरो शरीर कोमल बनिरहँदा, बसन्त जस्तो नयाँ फूल फुलेसरी मेरो पेटमा 'इन्डोमेट्रियम'को नयाँ तह बनिरहँदा
स्रस्टालाई सृष्टिको निम्ति चाहिने वस्तु सरी तिमीलाई जन्म दिन मेरो शरीर तयार भइरहँदा,
आमाको कोखमा हुँदादेखि बनेका यी सर्जकहरु, यसरि प्रत्येक महिना बहिरहँदा,
'म' पनि । 'म' पनि सृष्टिको सृजनाको निम्ति योग्य छु भन्ने सबैभन्दा खुशीको कुरा मेरो शरीरले व्यक्त गरिरहँदा,
हाम्रा सर्जक भनि भगवानलाई पुज्ने तिमी मानिसहरु
आफ्नी आमालाई भगवानकै दर्जा दिन्छु भन्ने तिमिहरु
आमा बन्ने योग्यतामाथि नै प्रश्न गर्दै,
के मलाई यसरि अलग्ग्याएर राख्न आवश्यक छ र ?
मान्छु म, मेरो शरीरबाट रगतको धारा बगिरहँदा,
म रगताम्य भइरहँदा, फोहोरी अवश्य हुन्छु होला,
तर 'पापी?' अहँ, म मान्न सक्दिनँ।
सोच आफै, भगवानको पापको भार मैले दानवीर बनि बोकिरहँदा,
मलाइ उदारताकि देवि भन्नुको साटो पापी मानिरहँदा,
भगवानको सृष्टिलाइ प्रश्न नगर्ने हामि मानिसहरु
के सृष्टिको प्रक्रियालाइ हेलाँ गर्नु उचित छ र ? के यो सब आवश्यक छ र?
ऐया आत्था भन्दै म कराइरहँदा, के मलाइ यसरि छुट्टयाएर राख्नु आवश्यक छ र?
होला काम गर्न नपरोस भनि उकाली ओरालीमा धौ-धौ पर्ला भनि,
पुर्खाले मेरै हितका निम्ति, छुट्टयाएर बस्दा उचित होला भन्ने ठानी,
मेरा निम्ति बनाएका यी नियमहरु मान्छु मा ढुंग्गे युगमा सहि थिए पनि,
तर आज मैले चन्द्रमामा टेक्दा तालि बजाउने तिमि मानिसनै,
केवल तिमीलाई जन्म दिन मेरो शरीर तैयार भइरहँदा
के मलाइ लत्याएर राख्नु आवश्यक छ र ?
भन न के मलाई छुट्टयाएर राख्न आवश्यक छ र?
फेरी भन्छौ होला 'पूर्खादेखि चलिआएको हाम्रो परम्परा' भनि
कि नमान भगवान, मान्छौ भने मान छुइ पनि
हा...हा.. गरि हास्न मन लाग्छ मलाई
यो प्रश्न मलाइ गरिरहँदा, सोच आफै तिमी पनि,
के मानेका छौ पुर्खादेखि चली आएका सबै परम्परा भनि?
सक्दैनौ यदि आफु समयसँग चल्न भने,
कुन अधिकार छ तिमीसंग मलाई प्रश्न गर्ने?
महिला भएर त् महिलाको दुख बुझ्नको साटो,
महिला भएर नै अर्की महिला लाइ दुख दिने प्रत्येक आमा, दिदीबहिनीहरु
आफु छुइ भएर ऐया आथ्था भन्दै कराइरहँदा,
के मनमा आएन एकपल्ट पनि ?
दिन्न अब म मेरा सन्ततिलाई दुख भनि,
पढेर पनि नपढे सरि, ज्ञानी भएर पनि अज्ञानी बनि
बस्न मन छ भने तिमीलाई यदि, बस तिमि त्यसैगरी,
किनकि परिवर्तन त आउँछ नै,
पहल त म गर्ने छु नै,
तर ऐय्याअथ्था भन्दैमा कराई रहँदा
मायाको अंकमाल र तातो खानाको साटो
के मलाइ यसरि छुट्टयाएर राख्नु आवश्यक छ र?
भन न के मलाई यसरि छुट्टयाएर राख्नु आवश्यक छ र?