काठमाडौं- लामो समयदेखि चितवनमा चिकित्सकीय सेवा र प्राध्यापनमा सक्रिय प्रा.डा. मनोहर प्रधान पछिल्लो समय राजनीतिक भूमिकामा पनि प्रवेश गरेका छन्। कलेज अफ मेडिकल साइन्सेजमा करिब १५ वर्षदेखि अध्यापन गर्दै आएका प्रधान हाल राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश स्वास्थ्य तथा जनसंख्या विभागका संयोजकका रूपमा कार्यरत छन्।
राजनीतिमा प्रवेशबारे उनले नेतृत्व विकास र सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित भएको बताए। पारिवारिक राजनीतिक पृष्ठभूमि, विद्यार्थी जीवनको अनुभव र समाजप्रति योगदान गर्ने चाहनाले उनलाई सक्रिय राजनीतितर्फ ल्याएको उनले उल्लेख गरे।
हाल बागमती प्रदेशको स्वास्थ्य तथा जनसंख्या विभागको संयोजकका रूपमा काम गरिरहेका उनले अवसर अनुसार अन्य क्षेत्रमा पनि योगदान दिन तयार रहेको बताए। 'पदभन्दा पनि काम महत्वपूर्ण हो,' उनले भने, 'जहाँ मेरो आवश्यकता हुन्छ, त्यहाँ जिम्मेवारी लिन तयार छु।'
नेपालमा निजी मेडिकल शिक्षाको सुरुवाती चरणमै आफ्नो शैक्षिक यात्रा सुरु गरेका डा. प्रधानले बंगलादेशबाट एमबीबीएस अध्ययन पूरा गरेका हुन्। त्यसपछि विभिन्न सरकारी अस्पतालमा मेडिकल अफिसरका रूपमा काम गर्दै उनले त्रिवि शिक्षण अस्पतालबाट एमडिजीपी गरेका थिए।
दुई कार्यकाल नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यसमेत रहिसकेका उनले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर कायम गर्न नियामक निकायको भूमिका महत्वपूर्ण रहेको बताए। उनका अनुसार नेपालमा निजी क्षेत्रले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विस्तारमा उल्लेखनीय योगदान पुर्याएको छ, जसको उदाहरण कोभिड–१९ महामारीका बेला देखिएको सहकार्य हो।
हाल नेपालमा चिकित्सा शिक्षामा देखिएको प्रमुख चुनौतीबारे बोल्दै उनले एमबीबीएस पास गर्ने विद्यार्थीको संख्या ठूलो भए पनि स्नातकोत्तर तह (पीजी) मा सिट अभावका कारण ठूलो संख्यामा जनशक्ति विदेशिने अवस्था रहेको बताए। 'वार्षिक करिब २ हजारभन्दा बढी एमबीबीएस चिकित्सक उत्पादन हुन्छन्, तर पीजी सिट करिब ५ सय मात्रै हुँदा बाँकी जनशक्ति बाहिरिन बाध्य छन्,' उनले भने।
डा. प्रधानले ‘ब्रेन ड्रेन’ को मुख्य कारण कम पारिश्रमिक, करियर विकासमा अनिश्चितता र काम गर्ने वातावरणमा सुरक्षाको अभाव भएको उल्लेख गरे। विदेशमा राम्रो तलब, व्यवस्थित प्रणाली र सुरक्षित कार्य वातावरणले नेपाली चिकित्सक आकर्षित भइरहेको उनको भनाइ छ।
चिकित्सकीय सेवामा लापरवाहीको आरोपबारे उनले त्रुटि र लापरवाही फरक विषय भएको स्पष्ट पारे। 'डाक्टरबाट गल्ती हुन सक्छ, तर जानाजानी लापरवाही गर्ने सोच कसैमा हुँदैन,' उनले भने, 'यस विषयमा जनचेतना आवश्यक छ।'