त्रिभुवन विश्वविद्यालयमा कस्तो नेतृत्व चाहिन्छ केलाउनु यो आलेखको उद्देश्य होइन। तर आएको नेतृत्वले त्रि. वि. शिक्षण अस्पताललाई कसरी हेर्नुपर्छ त्यो सुझाउनु मात्र आलेखको उद्देश्य हो।
त्रिभुवन विश्वविद्यालयको मात्र नभइ समग्र देशकै गौरवको अस्पताल हो। ४३ वर्षअघि स्थापना भएको यो अस्पताल केवल शिक्षण अस्पतालमा मात्र सीमित नरहेर हाल देशभरिका बिरामीहरूको मुख्य 'रिफरल सेन्टर' बनेको छ। झन्डै ८०० शय्याक्षमता भएको यस अस्पतालमा हाल चिकित्सक, नर्स, प्राविधिक र प्रशासनिक गरी २,८०० भन्दा बढी मानव संसाधन कार्यरत छन्। यहाँ दैनिक औसत २,६०० भन्दा बढी बिरामीले ओपिडी सेवा लिन्छन् भने दैनिक औसत ६५० भन्दा बढी बिरामी भर्ना भएर उपचार सेवा लिइरहेका हुन्छन्।
अस्पतालका पूँजी र अवसरहरू
अन्य अस्पतालमा उपचार सम्भव नभएर थाकित भएका वा 'उपचारका लागि टिचिङ नै जानुपर्छ' भन्ने नागरिकको जमात ठूलो छ। बिरामीको चाप धान्न नसकेर फर्काउन अस्पताल विबश छ। सीमित स्रोत-साधनका कारण सबैलाई उपचार सेवा दिन नसक्नु अस्पतालको बाध्यता हो।
अथाह जनविश्वास र साख: बिरामीको अगाध विश्वास र भरोसा यस अस्पतालको सबैभन्दा ठूलो पूँजी हो। यही साखका कारण यहाँ बिरामीको चाप थामिनसक्नु हुने गर्दछ।
निमुखादेखि विशिष्टसम्मको उपचार केन्द्र: आर्थिक रूपमा विपन्न र निमुखा नागरिकदेखि राज्यका विशिष्ट व्यक्तित्वसम्मको पहिलो रोजाइ र भरोसा हुनु यसको विशिष्ट सबल पक्ष हो।
दक्ष जनशक्ति र प्राज्ञिक थलो: मुलुककै उत्कृष्ट एवं वरिष्ठ चिकित्सक, विशेषज्ञहरूको उपलब्धता तथा चिकित्सा शिक्षाको अग्रणी केन्द्र हुनु यसको अर्को मुख्य शक्ति हो।
अस्पतालका विद्यमान चुनौतीहरू
१) अपर्याप्त पूर्वाधार: ४३ वर्षअघि निर्माण भएको भौतिक पूर्वाधारले दिनानुदिन बढ्दो बिरामीको चापलाई धान्न नसक्नु।
२) जनशक्ति पलायन र असुरक्षा: चिकित्सक, नर्स र प्राविधिक कर्मचारीहरूको कमजोर सेवा-सुविधा तथा कार्यस्थलमा बढ्दो पेसागत असुरक्षाका कारण उत्कृष्ट जनशक्तिलाई टिकाइराख्न मुस्किल हुनु।
३) त्रि.वि.को परम्परागत दृष्टिकोण: त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पतालको विशिष्टता र संवेदनशीलतालाई नबुझी यसलाई एउटा सामान्य प्रशासनिक एकाइको रूपमा मात्र व्यवहार गर्नु।
४) अपर्याप्त स्वीकृत दरबन्दी: बिरामीको चापअनुरूप सरकारी वा विश्वविद्यालय स्तरबाट पर्याप्त दरबन्दी स्वीकृत नहुँदा अस्पतालले आफ्नै आन्तरिक स्रोतबाट जनशक्ति भर्ना गर्नु परिरहेको छ। यसले गर्दा अस्पतालमाथि ठूलो आर्थिक दायित्व थपिएको छ।
५) 'त्रिशंकु' अवस्था: नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले यो शिक्षण अस्पताल भएकोले शिक्षा मन्त्रालयअन्तर्गत पर्ने र शिक्षा मन्त्रालयले त्रि.वि.को अङ्ग भन्दै आफ्नो जिम्मेवारी र दायित्वबाट पन्छिने प्रवृत्ति।
६) स्मार्ट र प्रविधिमैत्री प्रशासनको अभाव: प्रशासनिक संयन्त्र पूर्ण रूपमा प्रविधिमैत्री र चुस्त नहुँदा अस्पताल व्यवस्थापन आधुनिक बन्न सकेको छैन। अर्कोतर्फ, विश्वविद्यालयका अन्य संकाय वा निकायका अस्वस्थ वा अक्षम कर्मचारीहरूलाई अस्पतालमा सरुवा गर्ने प्रवृत्तिले सेवा प्रवाहमा गम्भीर असर पुगेको छ। एक हिसाबले अस्पताल 'डम्पिङ साइट' बन्न पुगेको छ।
७) न्यून वित्तीय अनुदान र ठूलो खर्च: अस्पतालको तलब, भत्ता र सुविधामा मात्रै मासिक झन्डै २१ करोड रुपैयाँ खर्च हुन्छ। तर विश्वविद्यालयले वार्षिक करिब ३० करोड रुपैयाँ मात्र अनुदान उपलब्ध गराउँदा ठूलो वित्तीय खाडल सिर्जना भएको छ।
८) स्वायत्तताको अभाव: शिक्षण अस्पताल एक स्वायत्त एकाइ नहुँदा सानाभन्दा साना प्रशासनिक एवं रणनीतिक निर्णयहरूका लागि समेत त्रि.वि. केन्द्रीय कार्यालयको मुख ताक्नुपर्ने बाध्यात्मक अवस्था छ।
९) आन्तरिक स्रोत परिचालनमा कमजोरी: पेइङ क्लिनिक, आधुनिक ल्याब, र एउटै छानामुनि सम्पूर्ण औषधि पाइने सुलभ फार्मेसी जस्ता सेवा विविधीकरण गरी आम्दानी बढाउन सक्ने पर्याप्त सम्भावना भए तापनि नीतिगत र व्यवस्थापकीय अस्पष्टता एवं अधिकारको अभावका कारण सोचेजति गर्न सकिएको छैन।
समस्या समाधान र रूपान्तरणका उपायहरू
१) अल्पकालीन उपायहरू
पूर्ण संस्थागत स्वायत्तता: अस्पताललाई प्राज्ञिक, आर्थिक र प्रशासनिक रूपमा पूर्ण स्वायत्त एकाइ घोषणा गरिनुपर्छ, ताकि सामान्य निर्णयका लागि केन्द्रीय कार्यालय धाइरहनु नपरोस्।
आर्थिक तथा प्रशासनिक नियमको सरलीकरण: वर्षौंदेखि थन्किएका पुराना सामान लिलाम गर्न नसकेर अस्पताल कवाडी गोदाम जस्तो बनेको छ। नियमहरूको उल्झनलाई सरलीकरण गरी समस्या सुल्झाउनु पर्नेछ।
नवीन सार्वजनिक व्यवस्थापनको कार्यान्वयन: आधुनिक व्यवस्थापकीय अवधारणाअनुरूप अस्पतालमा 'स्मार्ट व्यवस्थापन' लागू गर्ने र आवश्यकताअनुसार करार वा कार्यसम्पादनमा आधारित चुस्त जनशक्ति भर्ना गर्ने अधिकार अस्पताललाई नै दिइनुपर्छ।
स्वैच्छिक अवकाश र जनशक्ति व्यवस्थापन: कार्यक्षमता कमजोर भएका वा संगठनको आवश्यकताअनुरूप पुनर्संरचना आवश्यक परेका जनशक्तिका लागि सम्मानजनक 'गोल्डेन ह्यान्डसेक' वा विशेष बिदाइ प्याकेज ल्याइनुपर्छ।
वित्तीय साझेदारी र लगानी वृद्धि: नेपाल सरकार र त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पतालको राष्ट्रिय महत्त्वलाई बुझेर वार्षिक अनुदानमा उल्लेख्य वृद्धि गर्नुपर्छ।
सेवाको विविधीकरण र आन्तरिक आम्दानी: अस्पतालको आफ्नै स्वामित्वमा अत्याधुनिक डायग्नोस्टिक सेन्टर, व्यवस्थित 'पेइङ ओपिडी' र आफ्नै फार्मेसी सेवा सञ्चालन गरी आन्तरिक आय बढाउन सकिन्छ। चिकित्सकलाई शिक्षण अस्पताल भित्रै अतिरिक्त कार्य गराउन सकिएमा अस्पतालको आय बढ्नुका साथै सल्यक्रियाको २/३ बर्ष लामो प्रतिक्षा सुची घटन सक्ने छ।
बिरामीमैत्री डिजिटल सेवाको सुदृढीकरण: अस्पतालले बिरामी र उनका आफन्तका लागि 'डिजिटल सेवा" सुरु गरिसकेको छ। अब यसैलाई थप सुदृढ बनाउँदै 'युजर-फ्रेन्डली' र व्यापक बनाउनुपर्ने छ।
२) दीर्घकालीन उपायहरू
चिकित्साशास्त्र विश्वविद्यालयमा रूपान्तरण: चिकित्साशास्त्र अध्ययन संस्थान र शिक्षण अस्पतालको समग्र संरचनालाई समेटेर "त्रिभुवन चिकित्साशास्त्र विश्वविद्यालय" का रूपमा पुनर्संरचना गरिनुपर्छ। यसले यो निकायलाई त्रि.वि.को परम्परागत कर्मचारीतन्त्रबाट मुक्त गरी चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको विशिष्टीकृत केन्द्र बनाउनेछ।
मास्टर प्लानसहितको भौतिक पुनर्निर्माण: ४३ वर्ष पुरानो जीर्ण पूर्वाधारलाई विस्थापित गर्दै आगामी ५० वर्षको आवश्यकता र जनसङ्ख्यालाई धान्ने गरी अत्याधुनिक, भूकम्पप्रतिरोधी र 'स्मार्ट अस्पताल' को बृहत् गुरुयोजना बनाई नयाँ भवन र प्रविधिको विकास गर्ने।
भविष्यको नेतृत्व चयनमा योग्यता प्रणाली: अस्पतालको नेतृत्व चयन गर्दा कार्यक्षमता, व्यवस्थापकीय दक्षता र योग्यताका आधारमा गर्ने परिपाटी बसाल्नुपर्छ।
निष्कर्ष
छिट्टै विश्वविद्यालयले नयाँ उपकुलपतिको नेतृत्व पाउँदै छ। नयाँ नेतृत्वसँग शिक्षण अस्पतालका अनेकौँ अपेक्षाहरू छन्। ती सबै अपेक्षाहरू रातारात पूरा नहोलान्, तर नयाँ पदाधिकारीहरूलाई अस्पतालले ठूलो आशा र भरोसाको नजरले हेरेको छ। शिक्षण अस्पताल केवल त्रिभुवन विश्वविद्यालयको एउटा आङ्गिक निकाय मात्र नभई मुलुकको स्वास्थ्य सेवाको प्रमुख आधारस्तम्भ हो। त्यसैले, नयाँ नेतृत्वले यसको विशिष्टता, संवेदनशीलता र राष्ट्रिय महत्त्वलाई आत्मसात् गर्दै आवश्यक नीतिगत तथा संरचनात्मक सुधारको साहसिक पहलकदमी लिनेछ भन्ने अपेक्षा अस्पताल परिवारले गरेको छ।