विश्वभरका मानिसहरू आफ्नो दैनिक कार्यहरूमा निकै व्यस्त रहन्छन्। बालकदेखि वृद्धसम्म सबैको आ–आफ्नै कार्यव्यस्तता छ, तर व्यस्ततासँगै उनीहरूले आफ्नो शारीरिक र मानसिक स्वास्थ्यलाई कत्तिको ध्यानमा राख्छन् भन्ने कुरा धेरै महत्वपूर्ण हुन्छ।
'शारीरिक तन्दुरुस्ती' भन्नाले शरीरका सबै अङ्ग र प्रणालीहरू (जस्तै: पाचन प्रक्रिया, रक्तसञ्चार आदि) ले राम्रोसँग र आफ्नो पूर्ण क्षमतामा सञ्चालन गरिरहेको अवस्थालाई जनाउँछ। यसले शरीरको बाहिरी र भित्री बनावट दुवै स्वस्थ हुनुलाई पनि बुझाउँछ। त्यसैगरी “मानसिक स्वास्थ्य” व्यक्तिको मनोवैज्ञानिक, भावनात्मक र सामाजिक तन्दुरुस्तीको अवस्था हो। मुख्यतः यसले हामी कसरी सोच्छौँ, कस्तो महसुस गर्छौँ र दैनिक जीवनमा कस्ता निर्णयहरू लिन्छौँ भन्ने कुरालाई निर्धारण गर्छ।
मानिसको स्वास्थ्यका यी दुवै अवस्था एकअर्कामा निर्भर हुने भएकाले एकलाई अर्कोबाट अलग गरेर हेर्न सकिँदैन। त्यसैले शारीरिक तन्दुरुस्ती र मानसिक स्वास्थ्य 'एक सिक्काका दुई पाटा' हुन्।
हामी आफ्नो स्वास्थ्यप्रति कत्तिको उत्तरदायी छौँ भन्ने कुरा हामीले दैनिक रूपमा गर्ने क्रियाकलापहरूले निर्धारण गर्छ। विश्वभर बढ्दो विलासी जीवनशैली, शारीरिक व्यायामको कमी, प्रविधिको अत्यधिक प्रयोग तथा शहरीकरणका कारण शारीरिक स्वास्थ्य चुनौतीपूर्ण बन्दै गएको छ। जसको कारणले विश्वमा मानिसहरूमा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखिन थालेका छन्। तीमध्ये कतिपय शारीरिक हुन्छन् भने कतिपय मानसिक समस्या हुन्छन्।
विश्व स्वास्थ्य सङ्गठन २०२४ को तथ्याङ्क अनुसार विश्वका करिब ३१% वयस्कहरू आवश्यक स्तरको शारीरिक व्यायाम हुने खालका कामहरू गर्दैनन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार यदि मानिसहरू शारीरिक रूपमा सक्रिय भएमा, शारीरिक निष्क्रियताका कारणले हरेक वर्ष हुने ४०–५० लाख मानिसलाई मृत्यु हुनबाट बचाउन सकिने अनुमान गरिएको छ।
त्यसैगरी शारीरिक स्वास्थ्य र तन्दुरुस्ती मात्र नभएर अहिले विश्वमा मानसिक स्वास्थ्य पनि त्यत्तिकै चिन्ताको विषय बनेको छ। तनाव, चिन्ता, डिप्रेसन, स्वहिंसा वा आत्महत्याको विचार तथा अन्य मानसिक समस्याहरूबाट पीडितको सङ्ख्या विश्वभर बढ्दो छ।
विश्व स्वास्थ्य सङ्गठनको २०२१ को प्रतिवेदन अनुसार विश्वका करिब १ अर्बभन्दा बढी मानिसहरू कुनै न कुनै खालको मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेका छन्। उक्त प्रतिवेदनले विश्वमा अपाङ्गता हुनुको मुख्य कारणमध्ये मानसिक समस्या पनि प्रमुख कारण भएको देखाएको छ।
शारीरिक रूपमा स्वस्थ व्यक्तिमा आत्मविश्वास, सकारात्मक सोच र मानसिक सन्तुलन राम्रो हुने सम्भावना बढी हुन्छ। त्यसैगरी मानसिक रूपमा स्वस्थ व्यक्तिले स्वस्थ जीवनशैली अपनाउने, नियमित व्यायाम गर्ने, सन्तुलित आहार खाने र आफ्नो स्वास्थ्यप्रति सचेत रहने गर्दछ। अर्कोतर्फ, मानसिक तनाव र चिन्ताले निद्रा, भोक, रक्तचाप तथा रोग प्रतिरोधात्मक क्षमतामा नकारात्मक असर पार्न सक्छ।
अत्यधिक प्रसोधित खानाको सेवन, शारीरिक गतिको कमी, तनावपूर्ण दैनिकी र अस्वस्थ बानीका कारण मधुमेह, मुटुसम्बन्धी रोग, उच्च रक्तचाप, मोटोपना तथा क्यान्सर जस्ता दीर्घकालीन रोगहरू लाग्ने उच्च सम्भावना रहन्छ। सन् २०२१ मा गरिएको एक अध्ययन अनुसार विभिन्न सर्ने तथा नसर्ने रोगको कारण विश्वमा १८ मिलियन मानिसहरूको ७० वर्ष उमेर अघि नै मृत्यु हुने पाइएको छ, जसमध्ये ८२% अकालमै मृत्यु हुनेहरू न्यून र मध्यम आय भएका देशहरूका पाइएका छन्।
यिनै रोगहरूको कारणले मानिसहरूमा मानसिक स्वास्थ्य समस्याहरू पनि बढ्दै जान्छन्, जसमा तनाव, चिन्ता, डिप्रेसन र निद्रासम्बन्धी समस्या प्रमुख छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२१ मा विश्वभर करिब ३५९ मिलियन (४.५%) मानिस चिन्ता सम्बन्धी समस्या र २८०–३३० मिलियन (करिब ३.५–४%) मानिस उदासीबाट प्रभावित थिए।
नेपालमा पनि मानसिक स्वास्थ्य समस्या बढ्दो जनस्वास्थ्य चुनौतीका रूपमा देखा परेको छ। विभिन्न राष्ट्रिय अध्ययनहरूले नेपालका वयस्कहरूमध्ये करिब १२–१५% मा चिन्ता वा उदासीका लक्षणहरू देखिने गरेको उल्लेख गरेका छन्, जुन विश्वव्यापी औसतसँग तुलनायोग्य वा केही बढी मानिन्छ। मानसिक स्वास्थ्य समस्या भएका धेरै व्यक्तिहरू उपचार सेवासम्म नपुग्ने भएकाले वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने विज्ञहरूको अनुमान छ।
यी रोगहरूका कारण बिरामीहरूले थप व्ययभार बोक्नुपर्ने हुन्छ, जसमा लामो समयसम्म उपचार गराउनुपर्ने अवस्था, औषधिमा खर्च, अस्पताल जान वा भर्ना हुँदाको खर्च र बिरामीको स्याहारसम्बन्धित खर्च पर्दछन्। नेपालको सन्दर्भमा अस्पतालहरू टाढा टाढा भएकाले यातायात खर्च र स्याहारकर्ताको बास बस्ने तथा खानपिनसम्बन्धी खर्च पनि थप हुन्छ।
यसले परिवारको आर्थिक अवस्था कमजोर बनाउँछ, बचत सकिने, ऋण लिनुपर्ने वा काम गर्न नसकेर आय घट्ने अवस्था आउन सक्छ। नेपालमा स्वास्थ्य सेवाको पहुँच बढ्दै गए पनि उपचारका लागि गोजीबाट खर्च गर्ने प्रवृत्ति अझै उच्च छ। विश्व स्वास्थ्य सङ्गठन तथा विश्व बैंकको तथ्याङ्क अनुसार नेपालमा कुल स्वास्थ्य खर्चको करिब ५५.८% बिरामी वा परिवारले प्रत्यक्ष रूपमा आफ्नै गोजीबाट व्यहोर्ने गरेका छन्।
यस्तो आर्थिक दबाबले बिरामी र परिवार दुवैमा तनाव, चिन्ता र निराशा बढाउँछ। लगातारको आर्थिक समस्या र उपचारको बोझका कारण मानसिक स्वास्थ्य कमजोर हुँदै जान्छ र कहिलेकाहीँ आत्महत्याको विचार वा आत्महत्याको प्रयास जस्ता गम्भीर समस्या पनि देखिन सक्छन्। त्यसैले दीर्घकालीन रोगहरूले केवल शारीरिक तन्दुरुस्ती मात्र होइन, आर्थिक अवस्था र मानसिक स्वास्थ्यमा पनि प्रत्यक्ष र गहिरो असर पार्छन्।
त्यसैले शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्य बीच सन्तुलन कायम गर्न जीवनशैली सुधार गर्नु निकै आवश्यक हुन्छ।
यसका लागि मानिसहरूले सबैभन्दा पहिले आफ्नो दैनिक आहारलाई सन्तुलित र पौष्टिक बनाउनुपर्छ र दैनिक रूपमा फलफूल, तरकारी, प्रोटिनयुक्त खाना र पर्याप्त पानी खानुपर्छ। दैनिक रूपमा नियमित व्यायाम वा शारीरिक गतिविधि (जस्तै: हिँड्ने, दौडने, योगाभ्यास, खेलकुद) गर्ने र पर्याप्त निद्रा (७–८ घण्टा) सुत्नुपर्ने हुन्छ। साथै, तनाव व्यवस्थापन गर्न दैनिक रूपमा ध्यान, योग, गहिरो सास फेर्ने अभ्यास र सकारात्मक सोच अपनाउनुपर्छ। साथै आफूलाई मनपर्ने क्रियाकलाप जस्तै: नाच्ने, गाउने, सङ्गीत तथा भजन सुन्ने, प्रकृतिसँग रमाउने बानीहरूले पनि मानसिक रूपमा स्वस्थ हुन मद्दत गर्दछ।
नेपालको पहाडी भूभागमा दैनिक जीवन नै शारीरिक गतिविधिसँग जोडिएको हुन्छ; जस्तै: खेतबारी जान, दाउरा–घाँस गर्न, पानी बोक्न वा उकालो–ओरालो हिँड्नुपर्ने हुन्छ, जसले स्वतः पर्याप्त शारीरिक व्यायाम गराउँछ। तर शहरी क्षेत्रमा अवस्था फरक छ। काठमाडौँजस्ता शहरी क्षेत्रहरूमा धेरै विद्यार्थी र कामकाजी मानिसहरू बिहान बस वा मोटरसाइकलमा यात्रा गर्छन्, दिनभरि कक्षा वा कार्यालयमा समय बिताउँछन् र बाँकी समय पनि सामाजिक सञ्जालमै खर्चिने गर्छन्। जसले गर्दा ग्रामीण भेगको तुलनामा शहरी क्षेत्रका मानिसहरू शारीरिक रूपमा कम सक्रिय हुन्छन्। उदाहरणका लागि, एक सामान्य कार्यालय कर्मचारीको दैनिक कदम ३०००–४००० मात्र हुने गरेको पाइन्छ, जुन विश्व स्वास्थ्य संगठनद्वारा सिफारिस गरिएको १०,००० स्टेप्स भन्दा निकै कम मानिन्छ।
सामाजिक सम्बन्ध राम्रो राख्नु, परिवार र साथीहरूसँग समय बिताउनु पनि मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ। दैनिक रूपमा अत्यधिक मोबाइल, ल्यापटपको प्रयोग कम गर्नु र आफ्नो काम र जीवनबिच सन्तुलन कायम गर्नु पनि एकदमै उपयोगी हुन्छ। त्यसैले स्वस्थ जीवनशैली, सकारात्मक सोच र नियमित दिनचर्याले शारीरिक र मानसिक स्वास्थ्य बीच राम्रो सन्तुलन कायम गर्न मद्दत गर्छ।
शारीरिक र मानसिक स्वास्थ्य मानव जीवनका दुई अविभाज्य आधारहरू हुन्, जसले एकअर्कालाई प्रत्यक्ष रूपमा प्रभाव पार्दछन्। केवल शारीरिक रूपमा स्वस्थ भएर मात्र जीवन पूर्ण हुन सक्दैन, त्यस्तै मानसिक सन्तुलनबिना पनि स्वस्थ जीवन सम्भव छैन। आजको व्यस्त र प्रतिस्पर्धात्मक जीवनशैलीमा यी दुवै पक्षबिच सन्तुलन कायम गर्नु अत्यन्त आवश्यक छ।
अन्ततः, स्वास्थ्यप्रति सचेत रहनु नै सुखी, सफल र गुणस्तरीय जीवनको आधार हो।
-(लेखक: द्रोणाचार्य पोखरेल जनस्वास्थ्य विद्यार्थी हुन्।)