नेपालको स्वास्थ्य क्षेत्रले विगत केही दशकमा उल्लेखनीय प्रगति हासिल गरेको छ। मातृ तथा शिशु स्वास्थ्य, खोप कार्यक्रम, परिवार नियोजन, संक्रामक तथा नसर्ने रोग नियन्त्रण एवं आधारभूत स्वास्थ्य सेवाको विस्तारमा विभिन्न तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरूले महत्वपूर्ण योगदान पुर्याएका छन्। तथापि, स्वास्थ्य सेवाको गुणस्तर, कार्यसम्पादन र जनस्वास्थ्य परिणामहरूको दृष्टिकोणबाट हेर्दा वर्तमान तालिम प्रणालीले अपेक्षित प्रभाव दिन सकेको छ कि छैन भन्ने प्रश्न गम्भीर रूपमा उठ्न थालेको छ।
आजको स्वास्थ्य प्रणाली तीव्र गतिमा परिवर्तन भइरहेको छ। नयाँ प्रविधि, नयाँ रोगको स्वरूप, जनसांख्यिकीय परिवर्तन, स्वास्थ्य सेवाप्रतिको बढ्दो अपेक्षा तथा सीमित स्रोतको प्रभावकारी उपयोगजस्ता चुनौतीहरूबीच परम्परागत तालिम प्रणाली पर्याप्त नभएको आभाष हुन थालेको छ। यही सन्दर्भमा स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धि प्रणालीलाई पुनःपरिभाषित गर्ने आवश्यकता महसुस भएको छ।
तालिम नै सबै समस्याको समाधान होइन
स्वास्थ्य क्षेत्र मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्र भएकाले सेवामा कुनै कमजोरी देखिए तालिमका माध्यमबाट सेवाप्रदायकको क्षमता विकास गर्नु मनासिवै छ। त्यस्तै कुनै कार्यक्रमको लक्ष्य प्राप्त नभए, कुनै सूचक घटे वा सेवाको गुणस्तर कमजोर देखिए तालिम आवश्यक पनि छ। तर सबै समस्या सेवा प्रदायकको ज्ञान वा सीपको अभावबाट मात्र उत्पन्न हुँदैनन् भन्ने कुरा पनि उत्तिकै स्मरणीय हुनु जरुरी छ।
कतिपय अवस्थामा समस्या औषधि तथा उपकरणको अभाव, आपूर्ति व्यवस्थापनको कमजोरी, जनशक्ति वितरणको असन्तुलन, कमजोर सुपरिवेक्षण, अस्पष्ट कार्यविधि, वा व्यवस्थापकीय चुनौतीका कारण पनि उत्पन्न हुन सक्छन्। यस्ता अवस्थामा तालिमले मात्र अपेक्षित सुधार ल्याउन सक्दैनन्। फलस्वरूप तालिममा लगानी बढ्दै जान्छ तर सेवा परिणाममा समान अनुपातमा सुधार देखिँदैन।
यसैले स्वास्थ्य क्षेत्रले “पहिले तालिम, पछि समस्या खोज्ने” संस्कृतिबाट “पहिले समस्या पहिचान, त्यसपछि उपयुक्त समाधान” को दिशामा रूपान्तरण हुन आवश्यक छ।
आवश्यकता मूल्यांकनलाई वैज्ञानिक बनाउने समय
स्वास्थ्य तालिम प्रणालीको सबैभन्दा कमजोर पक्षमध्ये एक आवश्यकता मूल्यांकनको प्रक्रियामा देखिन्छ। धेरैजसो अवस्थामा तालिमका विषयवस्तु, सहभागी तथा बजेट पूर्वनिर्धारित हुने र वास्तविक आवश्यकता त्यसपछि मात्र खोजिने प्रवृत्ति पाइन्छ।
वास्तविक रूपमा क्षमता अभिवृद्धि कार्यक्रम कुनै अनुमान, अनुभव वा संस्थागत परम्परामा आधारित नभई प्रमाणमा आधारित हुनुपर्छ। स्वास्थ्य संस्थाहरूबाट नियमित रूपमा संकलन हुने सेवा तथ्यांक, कार्यसम्पादन सूचकहरू, सुपरिवेक्षण प्रतिवेदन, नागरिक गुनासा, गुणस्तर मूल्यांकन तथा मानव स्रोत सम्बन्धी विवरणहरूलाई एकीकृत रूपमा विश्लेषण गरेर मात्र वास्तविक क्षमता अभाव पहिचान गर्न सकिन्छ।
आवश्यकता मूल्यांकनलाई एक पटकको गतिविधि नभई निरन्तर चल्ने व्यवस्थापन प्रणालीका रूपमा विकास गर्न आवश्यक छ।
तथ्याङ्कलाई निर्णयसँग जोड्ने चुनौती
नेपालको स्वास्थ्य प्रणालीसँग आज प्रशस्त तथ्यांक उपलब्ध छन्। स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली, आपूर्ति व्यवस्थापन प्रणाली तथा विभिन्न डिजिटल प्लेटफर्महरूले विशाल मात्रामा डाटा उत्पादन गरिरहेका छन्। तर ती तथ्यांकहरू तालिम तथा क्षमता अभिवृद्धि योजनासँग पर्याप्त रूपमा जोडिएका छैनन्।
उदाहरणका लागि कुनै जिल्लामा प्रसूति सेवा कमजोर देखियो भने त्यहाँ कार्यरत कुन स्वास्थ्यकर्मीलाई कुन सीपमा समस्या छ भन्ने कुरा स्वचालित रूपमा थाहा पाउन सकिँदैन। सेवा सूचक, कर्मचारीको कार्यसम्पादन र उनीहरूको क्षमता मूल्यांकनबीचको सम्बन्ध अझै संस्थागत रूपमा स्थापित हुन सकेको छैन।
यस अवस्थाले गर्दा निर्णयहरू अझै पनि प्रमाणभन्दा बढी अनुभव र धारणामा आधारित हुने गरेका छन्।
कृत्रिम बुद्धिमत्ता र पूर्वानुमानमा आधारित क्षमता अभिवृद्धि
विश्वका धेरै स्वास्थ्य प्रणालीहरू अहिले प्रतिक्रियात्मक मोडेलबाट पूर्वानुमानात्मक मोडेलतर्फ अघि बढिरहेका छन्। कृत्रिम बुद्धिमत्ता, तथ्याङ्क विश्लेषण तथा डिजिटल निर्णय सहायता प्रणालीहरूको प्रयोगले समस्या देखिएपछि मात्र प्रतिक्रिया दिने होइन, समस्या आउनुअघि नै जोखिम पहिचान गर्ने सम्भावनालाई बढाउन सक्ने अवसर हामीले प्राप्त गर्दै गएका छौं।
नेपालमा पनि भविष्यमा स्वास्थ्य सेवा सूचक, मानव स्रोतको कार्यसम्पादन, सुपरिवेक्षण प्रतिवेदन, नागरिक प्रतिक्रिया तथा कर्मचारीहरुको तालिम इतिहासलाई एकीकृत गरी क्षमता अभावको पूर्वानुमान गर्ने प्रणाली विकास गर्न सकिन्छ। यस्तो प्रणालीले कहाँ, कसलाई, कुन समयमा, कस्तो प्रकारको क्षमता अभिवृद्धि आवश्यक छ भन्ने कुरा प्रमाणका आधारमा सूचना दिन सक्छ।
यसले सीमित स्रोतको अधिकतम उपयोग गर्न मद्दत गर्नुका साथै तालिमको प्रभावकारितालाई पनि बढाउँछ।
तालिम भर्सेज् क्षमता अभिवृद्धि
आधुनिक स्वास्थ्य प्रणालीमा क्षमता अभिवृद्धि भन्नाले केवल कक्षाकोठामा हुने प्याकेज आधारित तालिमलाई मात्र बुझिँदैन। कार्यस्थलमा आधारित कोचिङ, मेन्टरिङ, सहकर्मी सिकाइ, नियमित सहयोगात्मक सुपरिवेक्षण, सुपर्भाइजरहरुबाट मातहतका कर्मचारीहरुको कार्यसम्पादन प्रतिपुष्टि, व्यवस्थापकीय सहयोग, डिजिटल सिकाइ तथा नीति परिमार्जन जस्ता विविध माध्यमहरू क्षमता विकासका अभिन्न विधिका रुपमा स्थापित हुँदै गइरहेका छन्।
नेपालमा पनि क्षमता अभिवृद्धिको अवधारणालाई तालिम केन्द्रित सोचबाट बाहिर ल्याउन आवश्यक छ। कतिपय अवस्थामा छोटो सुपरिवेक्षण, कार्यस्थलमै गरिने मार्गदर्शन वा व्यवस्थापकीय सुधारले धेरै महँगा तालिमभन्दा बढी प्रभाव पार्न सक्छ। यसले प्रमाणपत्र आवश्यक पर्ने तालिम प्याकेजहरुलाई सम्बन्धित विधाका औपचारिक पठन-पाठनमै समावेश गरेर दक्ष मानवश्रोत मूलबाटै तयार पार्नुपर्ने अपरिहार्यतालाई इंगित गर्छ।
सुधारका लागि आवश्यक कदम
स्वास्थ्य तालिम प्रणालीलाई आधुनिक र परिणाममुखी बनाउन निम्न सुधारहरू आवश्यक देखिन्छन्:
क. राष्ट्रिय स्तरमा एकीकृत तालिम आवश्यकता पहिचान प्रणाली विकास गर्ने।
ख. सेवा सूचक, मानव स्रोत तथा कार्यसम्पादन तथ्यांकलाई एकीकृत गर्ने डिजिटल प्लेटफर्म निर्माण गर्ने।
ग. सुपर्भाइजर जवाफदेही नियमित कार्यसम्पादन मूल्याङ्कन प्रणाली लागू गर्ने।
घ. तालिम आवश्यकताको स्पष्ट मापदण्ड र ट्रिगर प्रणाली विकास गर्ने।
ङ. कृत्रिम बुद्धिमत्ता र तथ्याङ्क विश्लेषणमा आधारित निर्णय प्रणालीको परीक्षण र विस्तार गर्ने।
च. तालिमको प्रभावलाई सेवा परिणामसँग जोडेर मूल्यांकन गर्ने।
छ. क्षमता अभिवृद्धिलाई तालिम, कोचिङ, मेन्टरिङ, सुपरिवेक्षण तथा व्यवस्थापकीय सहयोगको एकीकृत प्याकेजका रूपमा संस्थागत गर्ने।
निष्कर्ष
नेपालको स्वास्थ्य क्षेत्रमा प्रमाण, प्रविधि, कृत्रिम बुद्धिमत्ता र पूर्वानुमानमा आधारित क्षमता अभिवृद्धि प्रणाली निर्माण गर्न सकेमा स्वास्थ्य सेवाको गुणस्तर, दक्षता तथा उत्तरदायित्वमा उल्लेखनीय सुधार सम्भव छ।
अबको बहस “कति तालिम गरियो?” भन्ने होइन, “तालिम तथा अन्य क्षमता अभिवृद्धि हस्तक्षेपले सेवा परिणाममा कति सुधार ल्यायो?” भन्ने हुनुपर्छ। यही सोचले नेपालको स्वास्थ्य तालिम प्रणालीलाई नयाँ युगतर्फ लैजान सक्छ।
अन्तमा
स्वास्थ्य क्षेत्रमा तालिम अत्यावश्यक छ। सेवा प्रदायकको दक्षतामा थोरै मात्र पनि अन्तर हुन गए सेवाग्राहीको ज्यान नै जोखिमा पर्न सक्छ। यो प्रतिफल सुनिश्चित लगानी हो। क्षमता अभिबृद्धिका मोडालिटीहरुमा पुनर्विचार गर्नु चाहिँ आवश्यक छ।