के भविष्यमा मानिसको रूप अहिलेभन्दा फरक हुन सक्छ? के हामी होचा हुनेछौँ वा अझ अग्ला? के मानिसका शारीरिक विशेषताहरू परिवर्तन हुन सक्छन्, वा आनुवंशिक रूपमा निश्चित मापदण्डअनुसार नै मानिसलाई 'डिजाइन' गर्न सकिने दिन आउला?
सभ्यताको विकाससँगै मानिस पनि निरन्तर परिवर्तन हुँदै आएको छ।
पहिले रोग, भोकमरी र कठोर मौसमजस्ता प्राकृतिक चुनौतीहरूले मानव विकास (इभोलुसन) लाई प्रभावित गर्थे। तर सभ्यता विकसित हुँदै जाँदा यी कारकहरूको प्रभाव क्रमशः घट्दै गएको छ।
तर बेलायतको एङ्ग्लिया रस्किन विश्वविद्यालयका मानवशास्त्री तथा इभोलुसनरी जेनेटिसिस्ट डा. जेसन हज्सनका अनुसार मानव विकास आज पनि निरन्तर जारी छ। उनका अनुसार केही जीनहरू केही निश्चित जनसमुदायमा पहिलेभन्दा बढी सामान्य बन्दै गएका छन्। यद्यपि यस्ता परिवर्तनहरू धेरै पुस्तासम्म फैलिने भएकाले कुनै व्यक्तिले आफ्नै जीवनकालमा ती विकासवादी परिवर्तन प्रत्यक्ष देख्न सक्दैन।
मानव विविधता
अमेरिकास्थित स्मिथसोनियन नेसनल म्युजियम अफ नेचुरल हिस्ट्रीकी पेलियोएन्थ्रोपोलोजिस्ट ब्रियाना पोबिनरका अनुसार मानव विकासमा खानपानले निकै ठूलो भूमिका खेलेको छ।
उनका अनुसार आज विश्वको करिब एकतिहाइ जनसंख्याले वयस्क अवस्थामा पनि दूध पचाउन सक्छन्, जबकि पाँचदेखि दस हजार वर्षअघि यस्तो क्षमता लगभग कसैसँग थिएन। यो मानव विकासको अत्यन्त तीव्र उदाहरण हो।
यो परिवर्तन त्यसबेला सुरु भयो, जब मानिसहरूले गाई, भैँसी, बाख्राजस्ता दुग्धजन्य पशु पाल्न थाले। अकालका बेला दूधमा पाइने बोसो र प्रोटिन पचाउन सक्ने मानिसहरू बाँच्ने सम्भावना बढी थियो। उनीहरूले आफ्ना जीन आगामी पुस्तामा हस्तान्तरण गरे र यही कारण यो विशेषता तीव्र रूपमा फैलियो।
यसैगरी, अन्य वातावरणीय कारकहरूले पनि मानव विकासलाई प्रभावित गरेका छन्।
जब हजारौँ वर्षअघि मानव जाति अफ्रिकाबाट विश्वका विभिन्न भागमा फैलियो, तब उनीहरूले फरक-फरक जलवायुको सामना गर्नुपर्यो। त्यसअनुसार उनीहरूको शरीरले नयाँ अनुकूलन विकास गर्यो। उदाहरणका लागि, जहाँ पराबैंगनी (यूभी) किरण कम थियो, त्यहाँ मानिसहरूको छाला हल्का विकसित भयो, जसले शरीरमा पर्याप्त भिटामिन डी उत्पादन गर्न मद्दत गर्यो।
डा. हज्सनका अनुसार स्थानीय स्तरमा देखिने जैविक विविधता त्यसबेला विकसित भयो, जब मानिसहरू छुट्टाछुट्टै भूभागमा बसोबास गर्न थाले।
तर अहिले आप्रवासन र विश्वव्यापीकरणका कारण विश्वका मानिसहरू फेरि एक-अर्कासँग घुलमिल भइरहेका छन्।
यसले मानवबीचको जैविक विविधता घटाउन सक्ने सम्भावना देखिए पनि वास्तविकता त्यति सरल छैन।
डा. हज्सनले 'असोर्टेटिभ मेटिङ' सम्बन्धी अनुसन्धान गर्दै आएका छन्। यसको अर्थ, मानिसहरूले आफूजस्तै विशेषता भएका व्यक्तिलाई जीवनसाथीका रूपमा रोज्ने प्रवृत्ति हो।
यदि यस्तो प्रवृत्ति समाप्त भयो भने विश्वव्यापीकरणले मानवबीचको जैविक विविधता घटाउन सक्छ। तर यदि यो प्रवृत्ति कायम रह्यो भने केही विशेष शारीरिक गुणहरू निश्चित समुदायमा झन् बढी बलियो हुँदै जान सक्छन्।
अनुसन्धानहरूले देखाएका छन् कि अग्लो व्यक्तिले अग्लै जीवनसाथी रोज्ने सम्भावना बढी हुन्छ। त्यस्तै उचाइ, तौल तथा अनुहारको बनोटजस्ता धेरै विशेषतामा पनि यस्तै प्रवृत्ति देखिएको छ।
यसको केही कारण सामाजिक तथा सांस्कृतिक पनि छन्। उदाहरणका लागि, धेरै समाजमा आफ्नै जातीय वा सांस्कृतिक समूहभित्र विवाह गर्ने चलन अझै कायम छ। यद्यपि केही समाजमा यो अवस्था परिवर्तन हुँदै गएको छ।
डा. हज्सनका अनुसार यस्ता धेरै पक्षहरूले आज पनि मानव विकासलाई प्रभावित गरिरहेका छन्।
सबै कुरा विकाससँग सम्बन्धित हुँदैन
तर प्रत्येक परिवर्तन विकासवादी (इभोलुसनरी) हुँदैन।
पोबिनरका अनुसार यदि कुनै व्यक्ति जिममा गएर मांसपेशी बलियो बनाउँछ भने त्यसको अर्थ उसका सन्तानले पनि त्यही गुण आनुवंशिक रूपमा पाउनेछन् भन्ने होइन।
आज अर्थोडोन्टिक उपचारदेखि कस्मेटिक शल्यक्रियासम्मका माध्यमबाट मानिसले आफ्नै जीवनकालमा आफ्नो रूप–रङ परिवर्तन गर्न सक्छ। यी परिवर्तन प्राकृतिक छनोटभन्दा सामाजिक चाहना र सौन्दर्यबोधबाट बढी प्रभावित हुन्छन्।
अन्तर्राष्ट्रिय सोसाइटी अफ एस्थेटिक प्लास्टिक सर्जरीका अनुसार सन् २०२४ मा विश्वभर करिब चार करोड शल्यक्रिया तथा गैर–शल्यक्रियामार्फत सौन्दर्यसम्बन्धी उपचार गरिएका थिए, जुन सन् २०२० को तुलनामा करिब ४० प्रतिशतले बढी हो।
यसले मानिसहरू आफ्नो प्राकृतिक स्वरूपभन्दा फरक देखिन चाहने प्रवृत्ति बढ्दै गएको संकेत गर्छ।
जीन सम्पादनको भविष्य
डेनमार्कको आरहस विश्वविद्यालयका पूर्व सह-प्राध्यापक तथा बायोइन्फर्मेटिक्स विशेषज्ञ थोमस मेलुन्डका अनुसार आधुनिक चिकित्साविज्ञानले मानिसको रूप-रङ परिवर्तन गर्न सक्ने क्षमतामा उल्लेखनीय वृद्धि गरेको छ। त्यसैले अब मानिसको बाहिरी स्वरूप सधैँ उसका जीनले मात्र निर्धारण गर्ने अवस्था रहेन।
भविष्यमा यो परिवर्तन बाहिरी रूपमै सीमित नहुन सक्छ। वैज्ञानिकहरूले अहिले क्रिस्पर प्रविधिको प्रयोग गरेर मानव जीन सम्पादन गरिरहेका छन्।
यो प्रविधिले लक्ष्य गरिएको डीएनए पहिचान गरेर त्यसमा आवश्यक परिवर्तन गर्न सक्छ। हाल यो प्रविधि केही आनुवंशिक रोग, विशेषगरी केही रक्तसम्बन्धी रोगहरूको उपचारमा सीमित रूपमा प्रयोग हुन थालेको छ।
यदि भविष्यमा यो प्रविधि अझ सुरक्षित, प्रभावकारी र व्यापक रूपमा उपलब्ध भयो भने सैद्धान्तिक रूपमा मानिसका अन्य धेरै गुणहरू पनि आनुवंशिक रूपमा परिवर्तन गर्न सकिने सम्भावना रहन्छ। यसले हजारौँ वर्ष लाग्ने विकासवादी प्रक्रियालाई एकै पुस्तामा सम्भव बनाउन सक्छ।
यदि यस्ता परिवर्तन शुक्रकीट वा डिम्बाणु बन्ने जर्मलाइन कोशिकामा गरिए भने ती परिवर्तन आगामी पुस्तामा पनि सर्नेछन्।
यद्यपि वैज्ञानिकहरूका अनुसार यस्तो प्रविधि सुरक्षित र पूर्ण रूपमा विश्वसनीय बन्न अझ धेरै समय लाग्नेछ।
डा. हज्सनका अनुसार अहिले मानिसमा यस्तो जीन सम्पादन गर्नु नैतिक रूपमा स्वीकार्य मानिँदैन। तर उनको अनुमान छ कि पाँच हजार वर्षपछि अवस्था उल्टिन पनि सक्छ। भविष्यमा वंशानुगत रोग हटाउन सक्ने क्षमता भए पनि जीन सम्पादन नगर्नु नै अनैतिक मानिने अवस्था आउन सक्छ।
यदि यस्तो प्रविधि सबैका लागि उपलब्ध भयो भने भविष्यमा अभिभावकहरूले आफ्ना सन्तानको रूप, क्षमता वा अन्य विशेषता समेत छनोट गर्न सक्ने सम्भावना रहन्छ।
के भविष्यमा नयाँ मानव प्रजाति बन्न सक्छ?
थोमस मेलुन्डका अनुसार भविष्यमा मानिस कस्तो देखिनेछ भन्ने अनुमान गर्न कठिन छ, किनकि त्यो पृथ्वीको वातावरण कति परिवर्तन हुन्छ भन्ने कुरामा निर्भर गर्छ।
धेरै टाढाको भविष्यमा सम्भवतः मानिस पूर्ण रूपमा नयाँ प्रजातिमा विकसित भइसकेको हुन सक्छ।
झन्डै १० लाख वर्षअघि होमो इरेक्टसजस्ता मानव प्रजाति पृथ्वीमा थिए भने आधुनिक मानव अर्थात् होमो सेपियन्स करिब तीन लाख वर्षअघि विकसित भएको मानिन्छ।
यदि अब पनि करिब १० लाख वर्ष बित्यो भने भविष्यका मानिसहरू आजका मानिसभन्दा त्यति नै फरक हुन सक्छन्, जति होमो इरेक्टस हामीभन्दा फरक थिए।
यद्यपि मेलुन्डका अनुसार प्रजातिहरूबीचको भिन्नता हामीले सोचेजति स्पष्ट नहुन पनि सक्छ।
उनी भन्छन्, 'सायद हामी कुनै होमो इरेक्टसलाई प्रत्यक्ष देखे पनि उनी हामीभन्दा अत्यन्त फरक छन् भनेर सजिलै छुट्याउन सक्दैनौँ।'
उनका अनुसार अर्को सम्भावना मानव जाति दुई वा बढी छुट्टाछुट्टै समूहमा विभाजित हुनु पनि हो। उदाहरणका लागि, यदि भविष्यमा केही मानिस पृथ्वीबाहिर चन्द्रमा वा मंगल ग्रहमा स्थायी रूपमा बस्न थाले भने त्यहाँको कम गुरुत्वाकर्षणअनुसार उनीहरूको शरीरमा नयाँ अनुकूलन विकास हुन सक्छ।
यद्यपि पूर्ण रूपमा नयाँ प्रजाति विकसित हुन ती समूहहरू धेरै पुस्तासम्म पृथ्वीका मानिसहरूसँग जैविक रूपमा अलग रहनुपर्ने हुन्छ।
अन्ततः मेलुन्ड भन्छन्, भविष्यको सबैभन्दा ठूलो प्रश्न जीवविज्ञानले हामीलाई कहाँ पुर्याउँछ भन्ने होइन, बरु हामी आफैंले आफ्नो भविष्यका लागि कस्तो छनोट गर्छौं भन्ने हो।
-क्याथरिन हिथवुड/ बीबीसी वर्ल्डबाट