के तपाईंलाई थाहा छ? अस्पतालजस्तो संवेदनशील ठाउँमा आगलागी हुनु सामान्य दुर्घटना मात्र होइन, यो ठूलो त्रासदी पनि हुन सक्छ। बिरामी, जटिल उपकरण, अक्सिजन सिलिन्डर तथा अन्य ज्वलनशील पदार्थको उपस्थितिका कारण अस्पतालमा सानो असावधानीले पनि ठूलो क्षति निम्त्याउन सक्छ। त्यसैले अग्नि सुरक्षासम्बन्धी ज्ञान स्वास्थ्यकर्मीका लागि बिरामीको जीवन बचाउने अनिवार्य सीप हो।
हाम्रो यथार्थ र चुनौती: किन तालिम आवश्यक छ?
अस्पतालका विभिन्न स्थानमा अग्निनियन्त्रक राखिएका त हुन्छन्, तर आपत्कालीन अवस्थामा हामीमध्ये धेरैलाई त्यसको सही प्रयोग गर्ने तरिका थाहा नहुन सक्छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा, आगो लागेको बेला गलत अग्निनियन्त्रकको प्रयोगले आगो निभाउनुको सट्टा झन् भड्काउन सक्छ। उदाहरणका लागि, विद्युतीय आगोमा पानी प्रयोग गर्नु आफैँलाई करेन्ट लाग्ने जोखिम निम्त्याउनु हो। त्यसैले कुन अवस्थामा कुन उपकरण प्रयोग गर्ने र कुन उपकरण प्रयोग गर्नुहुँदैन भन्ने स्पष्ट ज्ञान हुनु अत्यन्त आवश्यक छ। उपकरणको उपलब्धता मात्र पर्याप्त हुँदैन, त्यसलाई प्रयोग गर्ने सीप र सही निर्णय गर्ने क्षमता पनि हुनुपर्छ।
यही वास्तविकतालाई मध्यनजर गर्दै अग्नि सुरक्षासम्बन्धी विशेष तालिम तथा हरेक तीनदेखि छ महिनाको अन्तरालमा नियमित अभ्यासात्मक उद्धार अभ्यास (मक ड्रिल) सञ्चालन गर्नु आजको अपरिहार्य आवश्यकता हो।
अस्पतालमा आगलागी हुँदा कुन बिरामीलाई कसरी सार्ने, कहिले आगो निभाउने र कहिले सुरक्षित स्थानतर्फ सार्ने भन्ने जानकारी केवल प्रशासन वा सुरक्षा गार्डमा मात्र सीमित भएर पुग्दैन। अस्पतालका साना–साना जोखिमलाई पनि अग्नि सुरक्षाको दृष्टिकोणबाट मूल्याङ्कन गर्नुपर्छ।
अस्पतालमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, प्यारामेडिक्स, भान्से, सरसफाइ कर्मचारीदेखि सहयोगी कर्मचारीसम्म सबैलाई अग्नि नियन्त्रणसम्बन्धी आधारभूत तालिम दिइनुपर्छ। आपत्कालीन अवस्थामा सबै कर्मचारी आफ्नो भूमिकाबारे स्पष्ट भएमा मात्र ठूलो क्षति रोक्न सकिन्छ। बिरामीको सबैभन्दा नजिक रहने व्यक्ति नै पहिलो उद्धारकर्ता हुन सक्छ।
आगोको प्रकृति र अग्निनियन्त्रकको छनोट
आगोको स्रोतअनुसार सही यन्त्रको प्रयोग गर्न जान्नुपर्छ:

आगोको स्रोतअनुसार सही अग्निनियन्त्रक प्रयोग गर्न जान्नुपर्छ। विद्युतीय उपकरण बढी हुने अस्पतालमा कार्बन डाइअक्साइड (CO₂) वा ड्राइ केमिकल पाउडर (DCP) अग्निनियन्त्रक बढी प्रभावकारी हुन्छन्।
विद्युतीय उपकरणमा लागेको आगो निभाउन पानी वा फोम प्रयोग गर्नु गम्भीर गल्ती हुन सक्छ।
आगो निभाउने प्रभावकारी विधि: 'पास' प्रणाली
आगलागीको प्रारम्भिक चरणमा 'पास' प्रणाली अपनाउनुहोस्।
पी (पिन निकाल्ने): सुरक्षा पिन तान्नुहोस्।
ए (आधारमा सोझ्याउने): नोजललाई आगोको आधारतर्फ सोझ्याउनुहोस्।
एस (थिच्ने): लिभरलाई मजबुत रूपमा थिच्नुहोस्।
एस (दायाँ–बायाँ छर्ने): आगो पूर्ण रूपमा ननिभेसम्म दायाँ–बायाँ चलाउँदै अग्निनियन्त्रक प्रयोग गर्नुहोस्।
सुरक्षित भेला हुने स्थान
भवन खाली गर्नु मात्र पर्याप्त हुँदैन। सबैजना सुरक्षित रूपमा जम्मा हुने स्थान पूर्वनिर्धारित हुनुपर्छ। यसले उपस्थितिको यकिन गर्न, छुटेका व्यक्तिको खोजी गर्न तथा उद्धार टोलीलाई प्रभावकारी रूपमा काम गर्न सहज बनाउँछ।
नियमित तालिम र अभ्यासात्मक उद्धार अभ्यास
अग्नि सुरक्षालाई संस्थागत कार्यसंस्कृतिको अभिन्न अङ्ग बनाऔँ।
व्यावहारिक तालिम: प्रत्येक कर्मचारीलाई अग्निनियन्त्रक प्रयोग गर्ने विधिबारे व्यावहारिक प्रशिक्षण दिइनुपर्छ।
नियमित अभ्यासात्मक उद्धार अभ्यास: हरेक तीन वा छ महिनाको अन्तरालमा नियमित अभ्यास सञ्चालन गर्नुपर्छ। यसले बारम्बारको अभ्यासबाट स्वाभाविक कार्यक्षमता विकास गर्छ, जसका कारण आपत्कालीन अवस्थामा कर्मचारी नआत्तिई सही निर्णय गर्न सक्षम हुन्छन्।
पूर्वाधार परीक्षण: अभ्यासका माध्यमबाट अग्नि सचेतक प्रणाली, आपत्कालीन बाहिरिने मार्ग तथा अन्य सुरक्षा पूर्वाधारको अवस्था परीक्षण गर्न सकिन्छ।
अस्पतालमा आगलागी हुनु मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको विषय हो। त्यसैले आफ्नो कार्यस्थलमा रहेका सुरक्षा उपकरणलाई 'मित्र'का रूपमा चिनौँ। सही उपकरणको सही प्रयोग गरौँ र गलत उपकरण प्रयोग गरेर आगोलाई झन् भड्किन नदिऔँ।
'सुरक्षा सबैको जिम्मेवारी हो' भन्ने भावनाका साथ आजै आफ्ना सहकर्मी र प्रशासनसँग छलफल गरौँ। नियमित तालिम लिने र अभ्यासात्मक उद्धार अभ्यासमा सक्रिय रूपमा सहभागी हुने बानी बसालौँ।
के तपाईंको अस्पतालमा पछिल्लो छ महिनाभित्र अभ्यासात्मक उद्धार अभ्यास (मक ड्रिल) सञ्चालन भएको छ? यदि छैन भने, आजै यसको थालनी गर्न पहल गरौँ।
डा झा बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानकी प्राध्यापक हुन्।