काठमाडौं – चिकित्सकहरूको आन्दोलनका कारण आज देशभरका अस्पतालहरूको ओपिडी सेवा ठप्प भएको छ।
नारायणी अस्पताल वीरगञ्जमा कार्यरत डा. प्रमोद राममाथि कुटपिट भएको घटनाको विरोधमा नेपाल चिकित्सक संघको अनुरोधमा ओपिडी सेवा बन्द गरिएपछि उपचारका लागि विभिन्न अस्पताल पुगेका सर्वसाधारण बिरामी अलपत्र परेका छन्।
काठमाडौं उपत्यकाका प्रमुख अस्पतालहरू वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताललगायतमा ओपिडी सेवा बन्द हुँदा टाढाटाढाबाट उपचारका लागि अस्पताल पुगेका बिरामी अलपत्र परेका हुन्। अस्पतालहरूले ओपिडी टिकट दिने स्थानमा सेवा बन्दको सूचना टाँसेका छन्।
पालना भएन ओपिडी बन्द नगर्न स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यजस्तो संवेदनशील सेवालाई बन्द नगर्न अस्पतालहरूलाई सोमबार निर्देशन दिएको थियो। दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयले आग्रह गरे पनि अस्पतालहरूले त्यो निर्देशन पालना गरेका छैनन्।
नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारको संरक्षण गर्नुका साथै स्वास्थ्यकर्मीले सुरक्षित, सम्मानजनक र भयमुक्त वातावरणमा सेवा प्रदान गर्न पाउनु उनीहरूको अधिकार भएको मन्त्रालयको भनाइ थियो।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य संस्थामा शान्तिपूर्ण र सुरक्षित वातावरण कायम राख्दै नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सबैको सहकार्य आवश्यक रहेको उल्लेख छ।