काठमाडौं — विपद्को समयमा खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिन नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सर्वसाधारणलाई आग्रह गरेको छ।
केन्द्रले क्लोरीन झोल वा ट्याबलेट प्रयोग गरेर अथवा उमालेर शुद्धीकरण गरिएको पानी मात्र पिउन आग्रह गरेको छ। शुद्धीकरण गरिएको पानी सफा भाँडामा छोपेर राख्न तथा पानी निकाल्ने भाँडासमेत सधैं सफा राख्न भनिएको छ।
त्यस्तै, सडेगलेका, बासी तथा झिंगा भन्केका खानेकुरा नखान आग्रह गरिएको छ। काँक्रो, गाँजर तथा फलफूलजस्ता काँचै खान मिल्ने खाद्य पदार्थ सफा पानीले धोएर मात्र खान स्वास्थ्यसम्बन्धी निकायले अनुरोध गरेको छ।
विपद्को समयमा सरसफाइमा विशेष सावधानी अपनाउन आग्रह गर्दै खाना पकाउनुअघि, खाना खानुअघि, बच्चालाई खाना खुवाउनुअघि, फोहोर छोएपछि, दिसापिसाब गरेपछि, चर्पी प्रयोग गरेपछि र बच्चाको दिसा धोएपछि साबुनपानीले राम्ररी हात धुन भनिएको छ।
केन्द्रले जथाभावी दिसापिसाब नगर्न र नगराउनसमेत आग्रह गरेको छ। चर्पीमा मात्र दिसापिसाब गर्न तथा बच्चाको दिसासमेत चर्पीमै विसर्जन गर्न अनुरोध गरिएको छ।
फोहोरलाई निश्चित स्थानमा सही तरिकाले व्यवस्थापन गर्न तथा खोक्दा र हाच्छ्युँ गर्दा सफा कपडाले नाकमुख छोप्न पनि स्वास्थ्यसम्बन्धी निकायले सुझाव दिएको छ।
विपद्का कारण खानेपानी तथा सरसफाइ प्रभावित हुँदा विभिन्न संक्रामक रोगको जोखिम बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको हो।
झाडापखाला, हैजा, आउँ, निमोनिया, रुघाखोकी तथा टाइफाइडका लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न केन्द्रले सर्वसाधारणलाई अनुरोध गरेको छ।