अस्टियोपोरोसिस हाडमा देखिने रोग हो । अस्टियो भनेको हाड हो भने पोरस भनेको हाडको घनत्व कम हुन गएर कमजोर हुनु हो । त्यसकारण हाडमा देखिने कमजोरी अर्थात सामान्य अवस्थामा रहेको हड्डीको भित्री बनोटमा ठुला छिद्रहरु हुने समस्या नै अस्टियोपोरोसिस हो । सुक्ष्म रुपमा हड्डी नास हुने वा कमजोर हुँदै जाने समस्यालाई नै अस्टियोपोरोसिस भनिन्छ ।
अस्टियोपोरोसिसले मानिसका हड्डीहरु सामान्य अवस्थामा पनि भाँचिने सम्भावना हुन्छ । ५० वर्षमाथिका अधिकांश मानिसहरुमा यो समस्या देखिने गर्छ । जति मानिसको उमेर बढ्दै गयो त्यति धेरै यो रोग लाग्ने समस्या बढी हुन्छ ।
मानिसको उमेर १६ देखि १९ वर्षको हुँदासम्म हाडको आकार र उचाईमा विकास हुन्छ । त्यस्तै २० देखि ३५ वर्षसम्म हाडको घनत्व बढ्ने र बलियो हुने हुन्छ । ३५ बषृको उमेरमा PEAK BONE MASS अर्थात हाडको उच्चतम घनत्व विकसित हुन्छ । यही उमेरमा सर्व सादाहरण मानिसले PEAK BONE MASS बढाउन सकेमा भविष्यमा आइपर्ने अस्टियोपोरोसिस समस्या वाट वच्न सकिन्छ । PEAK BONE MASS बढाउन यहि उमेरमा पोषिलो खानेकुरा खाने , निरोगी रहने तथा शारीरिक व्ययाम गर्नु पर्दछ ।
अस्टियोपोरोसिस प्राइमरी र सेकेन्डरी गरी दुई प्रकारका हुन्छन् । प्राइमरी अस्टियोपोरोसिस पनि टाइप वान र टाइप टु गरी दुई प्रकारका हुन्छन् । टाइप वान अस्टियोपोरोसिस विशेषगरी महिलाको महिनावारी बन्द भएपछि हुन्छ । यसको कारण महिलामा हुने इस्ट्रोजन नामक हर्मोनको महिनावारी बन्द अवस्थामा एक्कासि गिरावट हुनु हो । टाइप टु भनेको सिनाइल अस्टियोपोरोसिस हो । यो बृद्धाअवस्था भएपछि हुने गर्छ ।
सेकेन्डरी अस्टियोपोरोसिस चाहीँ औषधिको नकारात्मक असरका कारण तथा अन्य रोगका कारण हुने गर्छ । छारे रोग सम्वन्धि ANTI – CONVULSANT DRUGS तथा क्यान्सर उपचारमा प्रयोग हुने औषधिहरु त्था अत्याधिक मात्रामा STEROIDS प्रयोग गरेमा पनि अस्टियोपोरोसिस हुने सम्भावना बढ्दछ । मानिसको शरीरमा अन्य तन्तुहरुको विकासक्रम जस्तै हाडको पनि आफ्नै विकासक्रम भैरहेको हुन्छ । हाडमा अन्तरिक मेटाबोलिजम भैरहेको हुन्छ । हाडमा हुने अस्टियोब्लास्टले हाडको विकास गरिरहेको हुन्छ भने अस्टियोक्लास्ले हाडको विनाश गरिरहेको हुन्छ । शरीरमा १० प्रतिशतजति स्थानमा हाडको यस्तो आन्तरीक METABOLISM हुने गर्दछ । हाडको विकाश अथवा बनोट भन्दा विनाश हुने क्रम बढेमा अस्टियोपोरोसिस रोग लाग्दछ । PEAK BONE MASS शुरुमानै धेरै भएमा हाडको विनाश क्रम बढेमा पनि चाडैनै हाडको घनत्व घट्न सक्दैन तसर्थ अस्टियोपोरोसिस रोग लागि हाल्दैन ।
शरीरमा ट्राविकुलर हाड र कोअर्टिकल हाड हुन्छ । ट्राविकुलर हाड भनेको अति कमलो हुन्छ । हाडको METABOLISM ट्राविकुलर हाड भएको स्थानमा बढी हुने भएकाले अस्टियोपोरोसिस पनि त्यस्तै हाड भएको स्थानमा बढी हुन्छ । अर्थात हत्केलानिरको हाड, करङ, हिप ज्वाईन्टस् र मेरुदण्डमा धेरै अस्टियोपोरोसिस हुने गर्दछ । अस्टियोपोरोसिस हुने प्रमुख चार हाड यिनै हुन् ।
अस्टियोपोरोसिस हुने उच्च जोखिम अवस्थाहरु मुख्यगरी महिनावारी बन्द भएका ४५ वर्ष माथिका महिलाहरु, धेरै धुम्रपान गर्ने, धेरैमात्रामा मद्यपान गर्ने, उचाई र तौल कम भएका (BMI < 19 KG/M2), विभिन्न रोगहरु जस्तै हाइपोगानाडिजम, हाइपरप्याराथाइरोईडिजम, मधुमेह, कुपोषण भएका, पाठेघर झिकिएका महिलाहरु, ६५ बर्ष नाघेका पुरुषहरु, FRAGILITY FRACTURE हरु परिवारमा भएमा , व्ययाम रहित दिनचर्या गरेमा , लामो समय ANTICOAGULANT तथा STEROIDS सेवन गरेमा , युरोपेली वा एसियाली मुल रहेमा , मृगौला फेल भएका, केमो थेरापी लिएका मानिसमा बढी मात्रामा यो रोग लाग्दछ ।
11 संगठनका अनुसार विश्वमा ५० वर्ष उमेर नाघेका महिलाहरुमा तीन जना मध्ये एक जनामा र ५० नाघेका पुरुषमा १२ जना मध्ये एक जनामा यो रोग लागेको पाइएको छ । नेपालमा यो रोग कतिमा लागेको छ भन्ने यकिन तथ्याङ्क छैन । तर काठमाडौँ उपत्यकाका जनसंख्याका आधारमा हेर्दा उपत्यकाका डेढ लाख महिलाहरु र ५० हजारको हाराहारीमा पुरुषहरुलाई यो रोग लागेका अनुमान छ ।
अस्टियोपोरोसिस रोगको खासै लक्षण देखिदैन । यसलाई साइलेन्ट रोग पनि भनिन्छ । तर अस्टियोपोरोसिसका कारण हाडमा बढी क्षति भएर छिद्रहरु धेरै छ भने जिउ दुख्ने, मानिस बढी कुप्रदै जाने अथवा उचाई कम हुने हुन्छ । यसका साथै आफ्नै कदको उचाइबाट सामान्य रुपमा लडेर पनि हाडमा फ्याक्चर हुन सक्छ जुनकि सामान्य व्यक्तिलाई यस्तो हुने गदैन । नेपाल अर्थोपेडिक अस्पतालमा आउने फ्याक्चरका बिरामीमध्ये तीस प्रतिशत भन्दा बढी अस्टियोपोरोसिसको कारणले आउने गरेको देखिएको छ ।
हड्डीमा अस्टियोपोरोसिसको समस्या भए नभएको हेर्न तथा हड्डीको घनत्व अर्थात बलियोपना थाहा पाउन अहिले डेक्सा स्क्यान गरिन्छ । 11 संगठनले पनि ४५ वर्ष माथिका स्त्रीहरुले वर्षमा एकपटक डेक्सा स्क्यान गर्न भनेको छ । डेक्सा स्क्यान गर्दा मानिसलाई कुनैपनि नकरात्मक विकिरणको असर हुँदैन ।
यसले मानिसको सम्पूर्ण शरीरको स्क्यान गरेर हड्डीको अवस्थाका बारेमा सम्पुर्ण जानकारी दिन्छ । हड्डीमा स्क्यान गर्दा शरीरमा माइनस २ दशमलव ५ स्ट्यान्डर्ड डेभिएसन भन्दा कम देखियो भने अस्टियोपोरोसिस भएको थाहा हुन्छ । सामान्यतया मानिसको डेक्सा स्क्यान गर्दा T-SCORE -1 SD भन्दा कम रहनु हुदैन । यसरी डेक्सा स्क्यानबाट अस्टियोपोरोसिस रोगको सजिलै पत्तो लाग्दछ र उपचार गर्न अत्यन्त सहज हुन्छ ।
अस्टियोपोरोसिस भएपछि हड्डी भाँचिने सम्भावना निकै हुने भएकाले उपचार पनि महङ्गो पर्ने र वृद्धाअवस्थामा हड्डी भाँचिएपछि दुःख पनि बढी पाइने हुन्छ । त्यसकारण अस्टियोपोरोसिसको अवस्था शुरु देखि नै थाहा पाउनु राम्रो हुन्छ । सबैभन्दा उत्तम भनेको त हड्डीको घनत्व विकास भएर बलियो हुने उमेर २० देखि ३५ वर्षको समयमा धेरै मात्रामा पोषिलो खानेकुरा खाने, व्यायाम गर्ने गर्नु सबैभन्दा राम्रो हुन्छ ।
यसका साथै ४५ वर्ष पुग्ने बित्तिकै महिलाहरुले अनिवार्य रुपमा डेक्सा स्क्यान गर्नु पर्छ । उचाई कम भएका मानिस, मृगौलामा समस्या भएका, मधुमेह भएका, धेरै मात्रामा धुम्रपान र मद्यपान गर्नेहरु र ५५ वर्ष माथिकाले पनि वर्षमा अनिवार्य रुपमा एक पटक डेक्सा स्क्यान गर्नुपर्छ । वृद्धा अवस्थामा पुगेका लगभग सबैमा यो समस्या देखिने भएकाले डेक्सा स्क्यान गरेर सावधानी अपनाउनु नै अस्टियोपोरोसिसबाट हुन सक्ने क्षतिबाट जोगिने प्रमुख उपाय हो ।
नेपालमा डेक्सा स्क्यान भित्रिएको धेरै वर्ष भैसकेको छ । डेक्सा स्क्यानको खर्च पनि खासै महङ्गो छैन । यसका साथै अस्टियोपोरोसिस भैसकेपछि चिकित्सकको सल्लाहमा अस्टियोपोरोसिसको अवस्था हेरेर औषधि सेवन गर्नु नै यसबाट जोगिने उपाय हो ।
अस्टियोपोरोसिसलाई समयमानै उपचार गर्न सकिन्छ । शुरुमानै सावधानी अपनाएमा भविष्यमा हुने जटिलताहरुबाट बच्न सकिन्छ र धेरै समय, सम्पत्तिको वर्बादिबाट जोगिन सकिन्छ ।
– डा प्रधान नेपाल अर्थोपेडिक अस्पतालका सिनियर कन्सल्ट्यान्ट अर्थोपेडिक्स सर्जन हुन्