काठमाडौं- महेन्द्रनगरस्थित अस्पताल रोडमा रहेको लाईफ केयर प्याथोलोजी प्रालिले आफ्नो सेवा विस्तार गरेको छ। प्याथोलोजीले सुदुरपश्चिम क्षेत्रका बासिन्दाका लागि लक्षित गर्दै पहिलो पटक थाइराइड र हर्मोन परीक्षण सेवा सुरु गरेको हो।
गत वर्षदेखि सञ्चालनमा आएको प्याथोलोजीले जनताको माग अनुसार नै सेवा थप गरेको प्याथोलोजीका इन्चार्ज केशव जोशीले जानकारी दिए।
‘थाइराइड जाँचको लागि भारतको बरेली जानुपर्ने र रिपोर्टको लागि ४/५ दिन पर्खनुपर्ने बाध्यता थियो’ उनले भने, ‘तर अब यहाँका जनताले नेपालमै गुणस्तरीय सेवा पाउने भएका छन् । सेवा सुरुसँगै भारत जानुपर्ने बाध्यता हटेको छ ।’
थाइराइड र हर्मोन परीक्षणका लागि ल्याइएको अत्याधुनिक सेवाको उद्घाटन मेलान कंचनपुरका अध्यक्ष तथा महाकाली अञ्चल अस्पताल प्रयोगशाला विभाग प्रमुख प्रेम नारायण शर्माले गरेका हुन्।